कैलालीको बेहडाबाबा तालमा मोटरबोट सञ्चालन
2023/05/15, 9:25
 
ss

कैलालीको बेहडाबाबा तालमा मोटरबोट सञ्चालनमा आएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १६ को बेहडाबाबा मन्दिरको महादेवा तालमा मोटरबोट सञ्चालनमा आएको हो। नेपाल बोट एण्ड अम्युज्मन्ट् प्रालिले बोट सञ्चालनमा ल्याएको हो। आन्तरिक पर्यटन विकासका लागि भन्दै सो तालमा कम्पनीले ६ बोट सञ्चालनमा ल्याउने तयारी गरेको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १६ रामपुरमा रहेको बेहडाबाबा मन्दिर क्षेत्रमा रहेको महादेवा तालमा मोटरबोट सञ्चालनमा आएपछि पर्यटकको संख्या बढ्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीको दाबी छ। प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले तालमा मोटरबोट सञ्चालनको उद्घाटन गरेका हुन्। बेहडाबाबा मन्दिर व्यवस्थापन समितिसँग नेपाल बोट एण्ड अम्युज्मन्ट्ले बोट सञ्चालनका लागि तीन वर्षे सम्झौता गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले बताए।

'कम्पनीसँग मोटरबोट सञ्चालनका लागि तीन वर्षे सम्झौता भएको छ,' उनले भने, 'तालमा बोट सञ्चालन भएपछि पर्यटकको संख्या बढ्ने हामीले अनुमान गरेका छौँ।' महादेवा तालमा कम्पनीले तीनवटा मोटरबोट तीनवटा साना बोट सञ्चालनमा ल्याउने छ। तालको मध्य भागमा रहेको महादेवा अर्थात गङ्गा मन्दिरमा पूजा गर्न जान प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क लाग्नेछ भने मोटर बोटमा पूरै तालमा सयर गर्न प्रतिव्यक्ति तीन सय शुल्क लाग्नेछ। यस्तै, सानो बोट एक घण्टा चलाउँदा पाँच जनाको समूहले पाँच सय शुल्क तिर्नुपर्ने छ। कम्पनीले ताल क्षेत्रको सफाइ तथा सामान्य निर्माणको कार्य आफैंले गर्ने जोशीले बताए।

महादेवा तालको जलकुम्भी हटाउन करिव ४० लाखसम्म खर्च हुने अनुमान गरिएपछि बजेट अभावले ताल सफाइ गर्न नसकिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। तीन वर्षसम्म निःशुल्क बोट सञ्चालन गर्न दिने र तालको सफाइ र दुई लाखभन्दा कम लागतका आवश्यक संरचना कम्पनीले नै निर्माण गर्ने सम्झौता गरिएको हो। तालमा मोटर बोट सञ्चालन गरिए पनि मोटरबोट चलाउँदा तालको पारिस्थिति प्रणाली र समग्र वातावरणमा पर्ने असरको भने अध्यय भएको छैन। वातावरणीय क्षति र असरको विषयमा कुनै अध्ययन नगरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जोशीले बताएका छन्। उनले मोटरबोटले तालको वातावरणमा असर पर्ने देखिए साना बोट मात्रै सञ्चालन गरिने बताएका छन्।

१९ हेक्टर क्षेत्रफलमा फैलिएको महादेवा तालको वरिपरि पदमार्ग निर्माणको काम भइरहेको छ। तालको वरिपरि ७ किलोमिटर पदमार्ग तयार गर्ने योजना मन्दिर व्यवस्थापन समितिको छ। यो वर्ष एक किलोमिटरमा पदमार्ग तयार गर्ने काम भइरहेको छ। ताल क्षेत्रमा स्नानगृह, शौचालय र बिजुली बत्तीको व्यवस्था नहुँदा तालमा बोटिङ गर्न आउने पर्यटकलाई समस्या हुने देखिएको छ।