धनगढी - कैलालीको टीकापुर बहुमुखी क्याम्पसमा अध्ययनरत कानून संकायका विद्यार्थी शिक्षकको माग गर्दै आन्दोलित भएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस समेत रहेको टीकापुरमा २०७८ सालदेखि कानून संकायतर्फ एलएलबीको पढाउन थालिएपनि कानून विषयकै शिक्षक पदपुर्ति नगरिएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् ।
एलएलबी तेस्रो संकायमा अध्ययनरत मनिषा चन्दले पहिलो सेमेष्टरदेखि नै कानून विषयको प्राध्यापक बिना अध्ययन गरिरहेको बताउदै अहिलेसम्म व्यवस्थापन नगरिएका कारण आन्दोलन गर्न बाध्य भएको बताइन् । उनकाअनुसार प्राध्यापकको माग गर्दै पहिलो सेमेष्टर र तेस्रो सेमेष्टरको विद्यार्थीहरुले संयुक्त रुपमा क्याम्पस परिसरमै धर्ना दिएका छन् । उनीहरुले शुक्रबार राति समेत क्याम्पसमा धर्ना दिएका छन् । चर्को गर्मीबीच दिनभर खुला आकाशमुनी धर्नामा बसेका विद्यार्थीहरुको स्वास्थ्यमा समेत समस्या देखिन थालेको छ।
स्वास्थ्यमा समस्या देखिएका तीन जना मध्ये तेस्रो संकायमा अध्ययनरत ऋतु देवकोटालाई अस्पताल भर्ना गरिएको विद्यार्थी चन्दले बताइन् । उनी एक्कासी बेहोस भएर ढलेपछि शुक्रबार साँझ अस्पताल भर्ना गरिएको हो ।क्याम्पसमा कानून विषयमा स्नातकोत्तर उत्र्तिण गरेको प्राध्यापकको व्यवस्था गरेर अध्यापन गराउनुपर्ने, मुुटकोटको व्यवस्था गर्नुपर्ने, पाठय्क्रममा उल्लेख भएका किताब पुस्तकालयमा उपलब्ध हुनुपर्ने माग विद्यार्थीहरुको छ । कानून विषयको शिक्षक नहुँदा अहिले शिक्षा संकायका प्राध्यापकले अध्यापन गराइरहेका छन् ।
विद्यार्थीहरुले शिक्षकको व्यवस्थापन गर्न नसकिने अवस्था भए सुदूरपश्चिमविश्वविद्यालयको केन्द्रीय क्याम्पस वा कैलाली बहुमुखी क्याम्पसमा स्थानान्तरण गरिदिन पनि माग गरेका छन् । टीकापुर बहुमुखी क्याम्पसका प्रमुख केशरबहादुर कुँवरले कानून संकायको प्राध्यापक पदपूर्तिका लागि आवेदन माग गरिएकोमा दुई जनाको मात्र दरखास्त परेको बताए ।दुई मध्ये एक जनाले मात्र छनौट प्रक्रियामा भाग लिएर उत्र्तिण समेत भइसकेको अवस्थामा ८ जेठमा अध्यापनका लागि आउन नसक्ने जानकारी दिएपछि समस्या भएको कुँवरले बताए । क्याम्पसले छनोट गरिसकेपछि अध्यापनका लागि आउन नसक्ने बताएपछि फेरी पदपूर्ति प्रक्रिया अघि बढाउने वा विद्यार्थीहरुलाई धनगढी र महेन्द्रनगर स्थानान्तरण गर्ने विकल्पका बारेमा विश्वविद्यालयका उपकुलपति र रजिष्टारसँग छलफल भइरहेको बताए ।