धनगढी–अत्तरिया क्षेत्रमा मोनोरेल सञ्चालन गरिने
2023/06/17, 1:48
 
धनगढी–अत्तरिया क्षेत्रमा मोनोरेल सञ्चालन गरिने

धनगढी - कैलालीको धनगढी–अत्तरिया, गोदावरी क्षेत्रमा मोनोरेल सञ्चालन गरिने भएको छ। आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले शुक्रबारआगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै सार्वजनिक निजी साझेदारीको अवधारण अनुसार सडक पुर्वाधार अन्तरगत मोनोरेल सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेट विनियोजन गरेको बताएका छन् ।

प्रदेश सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/८१ बजेटमा धनगढी–गोदावरी मोनोरेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने कार्यक्रम राखेको छ। जस अन्तरगत गोदावरी अत्तरिया धनगढी चौराह सडक खण्डमा मोनोरेलको सम्भाव्ता अध्ययन हुने बताइएको छ । प्रदेश सरकारले पाँच वर्षअघि प्रदेश बस सेवा सञ्चालन गर्ने योजना ल्याएको थियो। तर सो योजना कार्यान्वयन गर्न भने प्रदेश सरकार असफल रहेको छ।

के हो मोनो रेल ?- मोनोरेल बिजुलीबाट चल्छ। यो बस भन्दा केही ठूलो र डिब्बा जोडिएको हुन्छ। जमिनबाट उठाइएको बिमको सहारामा एउटै ट्र्याकमा यो रेल गुड्छ । एउटै ट्र्याकमा गुड्ने भएकाले मोनो भनिएको हो। मोनो रेल कुदाउन ठाउँठाउँमा पिलर गाडेर ट्रयाकलाई जोडिन्छ । मोनो रेलको पांग्राले ट्रयाकलाई दुवैतिरबाट समाउँछ। मोनोरेलको लागत प्रतिकिलोमिटर २ देखि ३ अर्ब रुपैयाँ पर्छ ।

मोनो र मेट्रो रेल फरक छ ?- दुई ट्र्याक चाहिने, धेरै ठाउँ ओगट्ने, जमिनमुनि सुरुङ खनेर कुदाउने र अर्बी लगानी लाग्ने मेट्रो रेल भन्दा मोनोरेल तुलनात्मक रुपमा सस्तो र सजिलो छ । मेट्रो रेल साँघुरा बस्तीमा बनाउन सकिँदैन। मोनोको तुलनामा मेट्रो रेल गुडाउनको लागि समय धेरै लाग्छ। यसले मेट्रो रेलले भन्दा कम ध्वनि निकाल्छ। मोनोरेल बिजुलीबाट चल्छ। निर्माणमा सस्तो भएकाले मोनो रेलको गति तथा क्षमता मेट्रो रेलको भन्दा कम हुन्छ। मोनो रेल वातावरणमैत्री मानिन्छ। वायु र ध्वनी प्रदुषण कम हुन्छ। नागरिकको स्वास्थ्यमै सुधार आउँछ। डिब्बाको संख्या अनुसार ५० देखि ४ सयजना सम्म एकैपटक यात्रा गर्न सक्छन्।