डडेल्धुरामा सामुदायिक वनभित्र विस्फोटक पदार्थ फेला
2023/06/18, 5:54
 
डडेल्धुरामा सामुदायिक वनभित्र विस्फोटक पदार्थ फेला

डडेल्धुरा - डडेल्धुरामा सामुदायिक वनभित्र विस्फोटक पदार्थ फेला परेको छ। आज आईतबार विहान डडेल्धुराको आलीताल गाउँपालिका–१ रतनटुडाको चित्रकुट सामुदायिक वनभित्र विस्फोटक पदार्थ फेला परेको हो।

आलिताल गाउँपालिका–११ का स्थानीय ४५ वर्षीय भक्तबहादुर बोहराले बाख्रा चराउने क्रममा ८१ मोटरको सेल (विस्फोटक पदार्थ) एक थान फेला पारेको खबर प्रहरीलाई गरेका थिए।प्रहरी चौकी गाङखेत डडेल्धुराबाट प्रहरी टोली सो स्थानमा पुगेको छ । विस्फोटक पदार्थ डिष्पोज गर्न नेपाली सेनाको टोली पनि पुगेको जिल्ला प्रहरी कार्यायल डडेल्धुराका डीएसपी मनोहर भट्टले बताए।

सशस्त्र द्वन्द्वकालमा माओवादी वा सेनाले प्रयोग गरेको हतियार हुन सक्ने प्रहरीको आशंका छ। हगुल्टेको यो क्षेत्रमा संकटकालमा माओवादी र सेनाबीच पटकपटक भिडन्त भएको थियो। वि.सं. २०६१ जेठ ६ गते भएको भिडन्तमा तत्कालीन शमशेर दल गणका सहसेनानी लक्ष्मण अधिकारीसहित ६ जनाको मृत्यु भएको थियो। सो सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।