धनगढीको ‘हरियाली प्रवर्धन कोष’मा तीन दिनमा १३ लाख ६० हजार जम्मा
2023/07/13, 1:12
 
ss

धनगढी उपमहानगरपालिकाले पहिलो चरणमा मोहनापुल–अत्तरिया ६ लेन सडकको डिभाइडरमा तीन हजार एक सय २५ वटा बिरुवा रोपेको थियो। मोहनापुल–अत्तरियामा ६ लेन सडकमा उपमहानगरपालिकासँगै भाटभटेनीसहितका संघरसंस्थालेसमेत वृक्षारोपण गरेका थिए। धनगढी उपमहानगरपालिकाले दोस्रो चरणमा ६ लेन सडकका दायाँ र बाँया तिर पनि बिरुवा रोप्न थालेको छ। 

उपमहानगरपालिकाले नागरिकको सहभागितामा वृक्षारोपणको कार्यक्रम अगाडि बढाएको हो। नगर प्रमुख गोपाल हमालको सचिवालयका अनुसार तीन दिनमा १३ लाख ६० हजार रकम संकलन भएको छ। उनको सचिवालयले हरियाली प्रवर्धन तथा धनगढीलाई पर्यावरण मैत्री बनाउन थालिएको अभियानमा सोमवार ६ लाख ४५ हजार, मंगलवार दुई लाख ४० हजार र बुधवार चार लाख ७५ हजार रुपैयाँ संकलन भएको हो। तीन दिनमा मात्र १३ लाख ६० हजार रकम संकलन भएको छ। बिहिवार बिहानदेखि पनि रकम संकलनको क्रम जारी छ।

वृक्षारोपण कार्यक्तमलाई उपमहानगरपालिकाले ‘हरित धनगढी’ नाम दिएको छ। एक ट्री–गार्डमा नाम राखेको उपमहानगरपालिकाले पाँच हजार रुपैया लिने गरेको छ। सुन्दर र पर्यावरणलाई जोगाउन उपमहानगरपालिकाले नागरिकलाई जोडेको हो। बिरुवा, ट्री–गार्ड र बिरुवाको हेरचाहा उपमहानगरपालिकाले गर्दै आएको छ।

नागरिक स्तरबाटसमेत ‘हरित धनगढी’ कार्यक्रमलाई सहयोग हुँदै आएको छ। नगर प्रमुख गोपाल हमालले नागरिकको सहभागिता खोजेको बताए। उनले भने, ‘हाम्रो धनगढी, हामी बनाउछौ मुल नारा छ। नारा भनेको त्यही हो। सबै मिलेर बनाउने हो। धनगढी सबै मिलेर बनाउने हो। यो अभियानलाई हामीले फिलिङ्ससँग समेत जोडेका छौ। कसैको बुवा, आफ्न्त बितेका भए, नाम लेख्न सक्नुहुन्छ। पुन्य तीथिमा जल चडाउछन्।’

सुन्दर र हरियालीयुक्त धनगढी बनाउने उद्देश्यसहित सुरु गरिएको कार्यक्रममा नागरिक तथा विभिन्न संघरसंस्थाको सहभागिता जुट्न थालेको हो। दोस्रो चरणमा त्रिनगर भन्सारदेखि गोदावरी नगरपालिकाको सीमासम्म सडकको दुबैतिर वृक्षारोपण थालिएको छ। हरित प्रेमी तथा प्रकृति प्रेमीहरुले देश तथा विदेशबाट रकम पठाउँदै आएका छन्। स्वर्गीय आफ्न्तहरुको नाममा बिरुवा रोप्नेहरुको संख्या समेत बढ्दै गएको छ। 

धनगढीका नगर प्रमुख हमालले हरियाली कार्यक्रममा जनताको सहभागिता राम्रो रहेको बताए। नागरिकको सहभागिता रहेको कार्यक्रम सफल हुने दाबी उनको छ। विदेशमा रहेका नेपालीहरुले पनि रकम पठाउने गरेको उनले बताए। उनले भने, ‘हरियाली, प्रकृती प्रेमीहरुलाई हामीले जोडेका छौ। उहाँहरुले सहयोग गरिरहनु भएको छ। भूमिगत पानीको समस्या हुँदैछ। जेठ–बैशाखमा जमिन मुनिको पानी सुक्न थालेको छ। पर्यावरणको हिसाबले पनि वृक्षारोपण अति आवश्यक छ।’

धनगढी उपमहानगरपालिकाले ‘हरियाली प्रवर्धन कोष’ स्थापना गरेको हो। यसका लागि धनगढी उपमहानगरापलिकाले बैंक खाता नम्बर ४१७०१००३०५०१०००२ समेत सार्वजनिक गरेको छ।