कैलालीमा दुई जना सवारी चालक पक्राउ, लागुऔषध सेवन गरी चलाइरहेका थिए
2023/08/21, 2:45
 
कैलालीमा दुई जना सवारी चालक पक्राउ, लागुऔषध सेवन गरी चलाइरहेका थिए

धनगढी - कैलालीमा लागुऔषध सेवन गरी गाडी चलाउने दुई जना सवारी चालक पक्राउ परेका छन्। कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुर स्थित मोहना-अत्तरिया ६ लेन सडक खण्डमा लागुऔषध सेवन गरी गाडी चलाउने २ जना पक्राउ परेका हुन।

ट्राफिक प्रहरी कार्यालय कैलाली र सु.प प्रदेश प्रहरी अस्पताल धनगढी कैलालीको संयुक्त प्रहरी टोलीले ५ जना सार्वजनिक सवारीसाधन चलाउने चालकलाई चेकजाँचका क्रममा दुई चालकले लागुपदार्थ सेवन गरी चलाई राखेको भेटिएपछि पक्राउ गरेको हो। पक्राउ पर्नेमा सु.प.प्र.०२–००१ ज ३७४ विङ्गर चालक कञ्चनपुर बेदकोट नगरपालिका ३ का २२ बर्षिय रमेश टमटा र रा १ च १४७५ नम्बरको जिप चालक दाङ बंगलाचुली गाउँपालिका ४ का २५ बर्षिय सोनु नेपाली रहेका छन्।

उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाईएको ट्राफिक प्रहरीले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कैलालीले लागुऔषध नियन्त्रण महाअभियानअन्तर्गत प्रविधियुक्त लागुपदार्थ सेवन चेकिङ यन्त्र (लागुऔषध परीक्षण कीट) मार्फत सवारी चेकिङ गरिरहेको छ। यसअघि शनिवार भदौ २ गते मोहना अत्तरिया ६ लेन सडक खण्डमा लागुपदार्थ (ब्राउनसुगर) सेवन गरी गाडी चलाउने ७ जना सवारी चालक पक्राउ परेका थिए।