सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि सैद्धान्तिक छलफल
2023/12/04, 4:14
 
dd

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि सोमबार सैद्धान्तिक छलफल गरिएको छ । सोमबार सिंहदरबारमा छलफलका क्रममा समिति सदस्यहरूले सञ्चालनको स्पष्ट नीतिका साथ विधेयकलाई अघि बढाउनुपर्ने बताए ।

विधेयकमाथिको संशोधनकर्ता देवेन्द्र दाहाललगायत सदस्यले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ‘राष्ट्रिय’ शब्द राख्न उचित हुने सुझाव दिए । मुलुकको शिक्षा क्षेत्रमा योगदान पुर्‍याउन राष्ट्रिय विश्वविद्यालयका रूपमा स्थापना गरिने प्रस्तावनामा उल्लेख गर्न सकिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीले जनाएका थिए ।

समिति सभापति जयन्तीदेवी राईले विज्ञको समेत सुझाव लिएर विधेयकलाई अघि बढाइने बताइन् । उनले विधेयकमाथिको छलफल मंगरबार पनि जारी रहने जानकारी दिइन् ।  सरकारले सुदूरपश्चिम प्रदेशको कैलालीमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न विधेयक ल्याएको हो ।