सुदूरपश्चिममा ह्वात्तै बढ्यो डेंगु संक्रमण
2023/12/06, 11:11
 
ss

सुदूरपश्चिम प्रदेशमा सन २०२२ को तुलनामा आठ सय बढी डेंगुका विरामी थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलले दिएको तथ्यांक अनुसार सन २०२३ को नोभेम्बरसम्ममा प्रदेशमा डेंगु संक्रमितको संख्या एक हजार आठ सय ११ पुगेको हो । सन २०२२ मा प्रदेशमा डेंगु संक्रमितको संख्या एक हजार ६६ रहेको थियो ।

सन २०२२ मा डेंगुका कारण चार जनाको मृत्यु भएकोमा सन २०२३ को हालसम्ममा डेंगु संक्रमणका कारण दार्चुला, कैलाली र कञ्चनपुरमा गरी तीन जनाको मृत्यु भएको छ ।  स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार चिसो मौसम सुरु भइसक्दा डेंगुको संक्रमणको अन्त्य भइसक्नु पर्ने भएपनि अझै जोखिम कायम रहेको छ । उनका अनुसार सन २०२३ को नोभेम्बरमा मात्र प्रदेशमा एक सय १५ जनामा डेंगु संक्रमण देखा परेको थियो ।

नौ जिल्ला रहेको यस प्रदेशमा सबैभन्दा बढी कैलाली जिल्लामा डेंगु संक्रमित फेला परेका थिए । कैलालीमा सन २०२३ मा सात सय ६६ जना संक्रमित फेला परेको उनको भनाई छ । सन २०२२ मा कैलालीमा दुई सय ६४ र सन २०२१ मा ४३ जना डेंगु संक्रमित फेला परेका थिए ।  दोस्रो बढी डेंगु संक्रमित फेला पर्नेमा तराइकै जिल्ला कञ्चनपुर रहेको छ । सन २०२३ को नोभेम्बरसम्म कञ्चनपुरमा तीन सय दुई संक्रमित फेला परेको निर्देशनालयको तथ्यांकमा रहेको छ । सन २०२२ मा दुई सय १० जना र सन २०२१ मा तीन जना संक्रमित फेला परेका थिए ।

डेंगु संक्रमण विगतमा तराईमा मात्र देखिन गरेकोमा विगत केही वर्षयता पहाडी तथा हिमाली जिल्लामा पनि देखिने गरेका छन् । प्रदेशको हिमाली जिल्ला दार्चुला डेंगु संक्रमित फेला पर्नेमा तेस्रो स्थानमा रहेको छ । सन २०२३ मा दार्चुलामा दुई सय ६६ जनामा संक्रमित फेला परेका थिए । सन २०२२ दार्चुलामा तीन सय ४७ जनामा र सन २०२१ मा चार जनामा डेंगु संक्रमण फेला परेको थियो । प्रदेशको अर्को हिमाली जिल्ला बझाङमा सन २०२३ मा ७२ र बाजुरामा ८८ जना डेंगु संक्रमित फेला परेका थिए भने सन २०२२ मा बझाङमा २४ र बाजुरामा ११ जना डेंगु संक्रमित फेला परेका निर्देशनालयको तथ्यांकमा छ ।

सबैभन्दा कम प्रदेशका पहाडी  जिल्ला डडेल्धुरा र डोटीमा सन २०२३ मा डेंगु संक्रमित फेला परेका छन् । दुई जिल्लामा ४०र४० जना डेंगु संक्रमित फेला परेको जनाइएको छ । सन २०२२ मा डोटीमा ६९ र डडेल्धुरामा ५१ जना डेंगु संक्रमित फेला परेका थिए ।  अछाममा सन २०२३ मा एक सय ७४ र बैतडीमा ५५ जना डेंगु संक्रमित फेला परेका छन् । सन २०२२ मा अछाममा ४२ र बैतडीमा ३७ जना डेंगु संक्रमित फेला परेका थिए ।

डेंगु संक्रमण बढ्ने क्रममा स्थानीय तहले ध्यान नदिँदा यस वर्ष ह्वात्तै संक्रमित बढेको नोभा अस्पतालमा कार्यरत चिकित्सक डा रामचन्द्र पौडेलले बताए । उनले भने –‘पूर्वाधार निर्माणका कारण सडकहरुमा पानी जम्ने, गमला, टायर लगायतमा जथाभावी फालिएका पानी जम्ने सामाग्रीका कारण डेंगु फैलाउने अण्डकोषहरुको निर्माण हुने क्रममा स्थानीय तहहरुले खोज र नष्ट अभियानमा ध्यान दिएनन् ।’ उनले डेंगु संक्रमण देखिँदा स्थानीय तहहरुले खोज तथा नष्ट अभियान गरेपनि संक्रमण दर बढ्ने समयमा कुनै पनि गतिविधि गरेको नपाइएको उनको भनाई छ ।

एडिस एजिप्टाई प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट मान्छेमा डेंगु रोग लाग्ने गर्दछ । यो प्रजातिको लामखुट्टेको लार्भा लामो समयसम्म पानी जमिरहने ठाउँमा हुर्कने गरेकाले त्यस्तो ठाउँमा हरेक हप्ता सरसफाइ गर्ने कार्य गर्नुका साथै निर्देशनालयले राति, बिहान र दिउँसो सक्रिय हुने किट र तिनीहरुका प्रत्येक घन्टाका गतिविधि केलाउदै आएको निर्देशनालयका सूचना अधिकारी हेमराज जोशीले बताए ।  घर वरपर रहेको टिनको बट्टा, प्लास्टिक, गमला, टायरलगायतमा लामो समयदेखि जमेको पानीमा लामखुट्टेको लार्भा बाँच्ने गरेकाले यस्तो ठाउँमा जमेको पानी फाल्न आवश्यक रहेको निर्देशनालयले जनाइएको छ ।

डेंगु रोगलाई  फेवराइल, क्रिटिकल, र रिकभरी फेज गरी तीन अवस्थामा बाँडिएको स्वास्थ्यकर्मी बताउँछन् । फेवराइल फेज समानतय २ देखि ७ दिनको हुने गर्दछ । यो अवस्थामा अचानक उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, मांशपेशीका र जोर्नी असाध्यै दुख्ने, शरीरमा स–साना राता बिबिरा देखिने आदि जस्ता लक्षणहरु देखिने गर्दछ । धेरैमा ज्वरो घटेपछि विस्तारै सुधारउन्मुख हुदै जान्छ ।

क्रिटिकल फेज वा जटिल डेंगुको जोखिम २४ देखि ४८ घन्टाको हुने गर्दछ। तारन्तार बान्ता हुनु, असाध्य पेट दुख्नु, अति आलश्य हुनु, रक्तश्राप जस्तैः– गिजा, नाक आदिबाट रगत बग्नु जस्ता समस्या बिरामीले अनुभब गर्न सक्दछन भने प्रयोगशाला परिक्षण गर्दा रगतमा प्लेटेलेट्सको संख्या तिब्र गतिमा घट्ने र हेमाटोकृत बढेको पाइन्छ ।   चिकित्सकले परीक्षण गर्दा कलेजोको आकार बढेको र पेट वा छातीमा पानी जमेको हुन्छ । तसर्थ घरमा संक्रमित भै बसेको अवस्थामा ज्वरो घटेसंगै तारन्तार बान्ता हुने, असाध्य पेट दुख्ने, अति अलश्य हुने, रक्तश्राप आधी देखिएमा त्यो जटिल डेंगु हुनसक्ने र तुरुन्त अस्पताल जानु पर्दछ ।

तर ४८ घण्टा पार गरे वा सो अवधिमा जटिलताहरु देखिएन भने बिरामीले स्वस्थ्यलाभ गर्दै जानेछ । तसर्थ डेंगु संक्रमितले घरमा बसिरहेको अवस्थामा माथि उल्लेखित जटिल डेंगुका लक्षणहरुलाई बेवास्ता गर्नुहुँदैन । र सँगसँगै चिकित्सकको सल्लाह र आवश्यकता अनुसार रगतको जाँच पनि गर्नुपर्ने उनीहरुको भनाई छ ।