गोदावरीमा अब जिप लाइनको मज्जा
2023/12/21, 12:10
 
dd

कैलालीको गोदावरीमा साहसिक खेल जिप लाइन सञ्चालनमा आएको छ । करिब २ करोडको लागतमा यहाँ जिप लाइन सुरु गरिएको हो । धनगढीका दिनेश खड्का सहित ३ जना युवाहरूले जिप लाइन सञ्चालनमा ल्याएका हुन् । बुधवार एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले जिप लाइनको उद्घाटन गरेका हुन् । 

जिप लाइनको उद्घाटन गर्दै मन्त्री देउवाले जिप लाइनले यहाँको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । पछिल्लो समय बढ्दै गएको निजी लगानीलाई सुरक्षित गर्ने र थप लगानी भित्र्याउने सरकारको लक्ष्य रहेको उनले बताए  । यहाँको पूर्वाधार तथा धार्मिक पर्यटकीय क्षेत्रको विकासमा विभिन्न सरकारी तथा गैर सरकारी निकाय सँग सहकार्य गर्ने उनले बताए । यहाँ आउने लगानीलाई सुरक्षित राख्नुपर्ने सबैको दायित्व रहेको बताउँदै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले सरकारले थप लगानीको वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरे ।

गोदावरी पुलभन्दा ४ सय मिटर माथि रहेको स्टेसनबाट करिब १ किलोमिटर जिपलाइनमा यात्रा गर्ने व्यवस्था मिलाइरहेको छ । जिप लाइनले गोदावरीमा आउने पर्यटकहरूको सङ्ख्यामा वृद्धि आउने अपेक्षा गरिएको छ । ‘पिकनिक’ खान र घुम्नका लागि गोदावरी पुग्ने  पर्यटकहरूले अब जिप लाइनको पनि मज्जा लिने छन् ।  सुदूरपश्चिमका केही क्षेत्रमा जिप लाइन सेवा भए पनि गोदावरीको जिपलाई सबै भन्दा लामो जिपलाइन रहेको दाबी गरिएको छ ।

 नेपाल आउने पर्यटकले औधी रुचाउने जिप लाइन नेपाली पर्यटकमाझ पनि लोकप्रिय नै बनेको जिप लाइनका सञ्चालक दिनेश खड्काले बताए । उनले भने, ‘यही बाटो भएर आउने आन्तरिक तथा बाह्य पर्यटकहरू एक पटक आफ्नो सवारी रोकेरै भए पनि ‘जिपलाइन’ को मज्जा लिने गरेका छन् ।’ धनगढीबाट नजिक र पर्यटकीय दृष्टिकोणले पनि परिचित ठाउँ भएकोले गोदावरीलाई नै रोजेर यो व्यवसाय सुरु गरेको उनको भनाई छ ।