पाहुनाको पर्खाइमा होमस्टे
2023/12/28, 11:28
 
dd

धनगढी उपमहानगरपालिका–१६ स्थित थारू होमस्टे सोचे अनुसार फस्टाउन सकेको छैन । कालोपत्रे सडक, यातायात, खानेपानीको असुविधादेखि लिएर व्यवस्थापकीय कमीका कारण अपेक्षा अनुसार होमस्टे फस्टाउन नसकेको हो । 

कला, संस्कृतिको संरक्षण गर्ने र धेरैभन्दा धेरै पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल भ्रमण वर्ष सन् २०११ को अवसर पारेर भादा गाउँमा होमस्टे सञ्चालन गरिएको थियो । १७ घरबाट होमस्टे सुरु गरिए पनि सञ्चालनको १३ वर्ष पुग्दासम्म दुई घरमा मात्रै होमस्टे थप भएको छ । हाल १९ घरपरिवारले होमस्टे चलाइरहेका छन् । २७५ घरधुरी रहेको भादामा थप अरू परिवारको होमस्टेमा आकर्षण देखिएको छैन । 

प्रदेशकै आर्थिक हब धनगढी नजिक रहेको यो होमस्टेले अपेक्षाकृत पाहुना पाउन नसकेपछि अरू परिवारको यसप्रति आकर्षण बढ्न नसकेको हो । जुन हिसाबले पाहुना आउनुपर्ने हो, त्यसरी नआइरहेको थारू होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीको पनि स्वीकारोक्ति छ । अध्यक्ष चौधरीका अनुसार भादा होमस्टेमा अपेक्षाकृत फस्टाउन नसक्नुमा विभिन्न कारण छन् । जसमध्ये मुख्य चुनौतीका रूपमा समय अनुसार सुविधा थप गर्न नसक्नु देखिएको छ । 

धनगढीसहित अन्यतिरबाट भादासम्म पुग्ने बाटो अझै कच्ची छ । होमस्टे रहेको गाउँमा खानेपानीको सुविधा छैन । गाउँ नजिकको खोलामा दुई वर्षदेखि पुल नभएकाले पनि पर्यटनमा असर परिरहेको उनले बताए। विविध चुनौतीका बाबजुद पनि १३ वर्षको अवधिमा करिब ३५ हजार आगन्तुकले थारू होमस्टे गाउँ भादाको अवलोकन गरेको समितिको दाबी छ । जसमध्ये करिब ४०० विदेशी पर्यटक रहेको अध्यक्ष चौधरीले बताए । होमस्टे व्यवसायबाट एक होमस्टे सञ्चालकले वर्षमा डेढदेखि तीन लाख रुपियाँसम्म कमाउने गरेका जनाइएको छ ।