सुदुर पहाडमा बर्षा नहुँदा किसानलाई हिउँदेबाली उत्पादनमा कमी चिन्ता
2024/01/16, 9:57
 
dd

सुदुरपश्चिमका पहाडी जिल्लामा बर्षा नहुँदा हिउँदेबाली उत्पादनमा कमी हुने चिन्ता किसानलाई लागेको छ । माघ महिना लागि सक्दा पनि बर्षा नहुँदा हिउँदेबाली उत्पादनमा कमी आउने भन्दै किसानहरु चिन्तित बनेका छन ।

आकाशे पानीको भरमा बाली लगाउने किसानले समयमा पानी नपर्दा बाली लगाउन पाएका छैनन भने लगाएको बाली पनि नउम्रेको किसानले बताउने गरेका छन् ।हिँउदेबाली लगाए लगत्तै पानी नपरेर खडेरी परेपछि किसनाहरुले लगाएको गहुँ, जौ, मसुरो लगायतका बालीनालीको उत्पादनमा निकै ह्रास पछि किसान चिन्तित बनेका छन्।

कतिपय ठाउँमा सिँचाइका लागि प्रशस्तै पानी भएपनि भौतिक पूर्वाधार नहुँदा सिँचाइ सुविधाको पहुँचमा कृषकहरु पुग्न सकेका छैनन्। सिचाँई सुविधा अभावले बाजुरामा ८० प्रतिशत जमिनमा किसान आकाशे पानीको भरमा खेति गरि रहेका छन्। हिँउदेबाली लगाउने समय असोज कार्तिक देखि नै परेको खडेरीका कारण लगाइएको बालीसमेत सुक्न थालेपछि किसानहरु निराशामा परेका हुन् ।

किसानहरुले लगाएका बालीनालीसंंगै अहिलेको समय फलफूल रोप्नका लागि खाडल बनाउनु पर्ने खाडलमा मल ब्यवस्थापन गर्ने समय भएपनि खडेरीका कारण प्रभावित भएको कृषि ज्ञान केन्द्र बाजुरा प्रमुख मीनप्रसाद जैशीले बताए । बाजुरामा कुल क्षेत्रफल मध्ये २४ हजार ३ सय १९ हेक्टर खेतियोग्य जमिन छ भने २० हजार १ सय ५५ हेक्टर जमिनमा खेति गरिदै आएको कृषि ज्ञान केन्द्र बाजुराको तथ्यांक छ।

जिल्लामा १० हजार ४ सय ६० हेक्टर जमिनमा गहुँ खेति गरिदै आएको भए पनि यो बर्ष पानी नपर्दा किसानले गहु छर्न पाएका छैनन । कुल उत्पादनको ११ दशमलब ३७ प्रतिशत मध्ये २० प्रतिशत अर्थात ५ हजार २ सय ४५ हेक्टर जमिनमा मात्रै सिचाईको सुविधा पुगेको छ भने बाँकी ८० प्रतिशत अर्थात झण्डै १५ हजार हेक्टर जमिनमा सिचाइ सुविधा नहुँदा आकाशे पानीको भरमा खेति गरिदै आएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख मिनप्रसाद जैशीले बताएका छन।

जिल्लामा सिंचित क्षेत्रमा लगाइएको बाली उत्पादनमा केहि घटबढ भएपनि सिचाइ सुविधा नभएका पाखो जमिनमा लगाइएका बाली उत्पादनमा भने निकै ह्रास आउने कृषि ज्ञान केन्द्र प्रमुख जैशीले बताए।उनले भने माघ लाग्दासम्म पनि बर्षा नहुँदा हिउँदेबाली उत्पादनमा करिब ४० प्रतिशतले घटिसकेको बताए । गत साल पनि हिउँदे बर्षा नहुँदा हिउँदेबाली उत्पादनमा निकै ह्रास आएको थियो भने यस बर्ष पनि बर्षा नहुँदा उत्पादनमा कमि आएर भोकमरीको संकट लाग्न सक्ने किसानहरु बताउँछन ।हिउँदे बर्षा नहुँदा लगाइएको बाली पनि सुक्न थालेपछि परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताएको खप्तड छेडेदह ३ का कृषक मन बहादुर रावतले बताए । सिँचाइ सुविधा नभएका जिल्लाका पूर्वीउत्तरी तथा दक्षिणी भेगका स्थानमा प्रशस्तै बाली लगाए पनि हिउँदे बर्षा नहुँदा बाली सुक्न थालेको छ ।