सयौं खेलाडीलाई उसु सिकाएका रतन
2024/02/12, 2:33
 
ss

राष्ट्रिय स्तरका उसु प्रतियोगितामा लगातार तीन पटक स्वर्णपदक जितेर ह्याट्रिक गरेकी खेलाडी एलिना चौधरीलाई देख्दा प्रशिक्षक रतन खाती गौरवान्वित हुन्छन्। एलिना एघारौं दक्षिण एसियाली प्रतियोगितामा सुुदूरपश्चिम प्रदेशबाट मार्सल आर्टमा अन्तर्राष्ट्रिय पदक जित्ने पहिलो खेलाडी पनि हुन्।

उसुुमा राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ सिल्ड अन्तर्गत छैटौं, सातौं र आठौं प्रतियोगितामा लगातार स्वर्ण जित्ने सम्झना चौधरी पनि रतनकै प्रशिक्षार्थी हुन्। सुदूरपश्चिमको उसु खेल इतिहासमा पहिलोपटक विश्व च्याम्पियनसिप खेल्ने अलिसा खाती पनि रतनकै प्रशिक्षार्थी हुन्। अलिसा इन्डोनेसियनमा भएको आठौँ विश्व च्याम्पियनसिपमा सहभागी भएकी थिइन्।

रतन उसु खेलका प्रशिक्षक भएको २७ वर्ष भयो। यस अवधिमा उनले राष्ट्रिय प्रतियोगिता खेल्ने एक हजारभन्दा बढी खेलाडी तयार गरे। तीमध्ये केहीले सर्वोत्कृष्ट खेलाडीका रूपमा परिचय बनाए।  रतनले इन्टरेसनल उसु फेडरेसन ९आइडब्ल्युयुएफ० ले लिने परीक्षाबाट ‘ए ग्रेड’ लाइसेन्स प्राप्त गरेका छन्। यस्तो लाइसेन्स प्राप्त गर्ने उनी तेस्रो नेपाली हुन्। उसुको सान्सौं विधामा ए ग्रेड लाइसेन्स पाउने दोस्रो प्रशिक्षक हुन्।

रतन ‘उसुु कैलाली शाखा’ मा सहायक प्रशिक्षकका रूपमा कार्यरत छन्। उनका आमाबा ४५ वर्षअघि बझाङबाट तराईमा बसाइँ सरेका थिए। उनी कञ्चनपुुरको बेलाडाँडी गाउँपालिका, रतनपुरमा जन्मे। आमाबाले जन्मस्थानसँगै जोडेर उनको नाम राखिदिए। बसाइँ त सरे तर कमाएर खान आफ्नो जमिन थिएन। अधियाँ खेती गरेर छोराछोरी हुर्काए। अलिअलि गर्दै जोरजाम गरेर जमिन जोडे। घर बनाए।

बाल्यकालमा रतन चञ्चल स्वभावका थिए। खेलकुद भनेपछि हुरुक्कै हुन्थे। त्यो समय उनलाई फुुटबल र भलिबल खेल मात्र थाहा थियो। त्यही खेल्थे। ‘मार्सल आर्ट’ भनेको त सुनेका पनि थिएनन्। रतनपुरको बसाइ पनि स्थायी भएन। त्यहाँबाट कैलालीको धनगढी उपमहानगरपालिकामा पर्ने उर्मा भन्ने ठाउँमा सरे। रनतका अनुसार छोराछोरीको पढाइका लागि आमाबुुबा बसाइँ सरेका थिए। उनी धनगढीकै पञ्चोदयमा माध्यमिक विद्यालयमा मा कक्षा ४ मा भर्ना भए।

उनको बाल्यकालमा घरमा साइकल हुने र जुत्ता लगाएर हिँड्ने मान्छे धनी मानिन्थ्यो। अरूले चप्पल मात्र लगाएका हुन्थे। चप्पल नै नहुने पनि धेरै हुन्थे।बाल्यकालमा रतन र उनका साथीहरू टिपु खेल्थे। यो खेललाई गोटीफोर पनि भन्थे। यो खेलमा एउटा बल चाहिन्थ्यो तर किन्ने पैसा हुँदैनथ्यो। कतैबाट पुराना मोजा जम्मा गरेर बल बनाउँथे र खेल्थे।

त्यो समय सम्झँदै रतनले भने, ‘मोजा खोज्न गाउभरि डुल्थ्यौं। जुुत्ता लगाउनेका घरमा गएर पुराना मोजा माग्थ्यौं। कतै फालेका छन् कि भनेर घरवरिपरि खोज्थ्यौं।’  मोजामा झुम्रा खाँदेर सानो बल बनाउँथे र गोटीफोर खेल्थे। अलिक ठूलो बनाएर फुुटबल खेल खेल्थे। यसरी खेल्न पाउँदा रतनको खुसीको सीमा पार हुन्थ्यो।

खेलका लागि साथीहरू जम्मा गर्ने काम उनकै हुन्थ्यो। गाउँभरिका बालक जम्मा भएर खेल्न थालेपछि रतन तिनका अभिभावकको गाली खान्थे। सबैलाई बटुलेर बिगारेको भन्ने आरोप लग्थ्यो।  पञ्चोदय स्कुलमा भर्ना भएको अर्को वर्ष २०४२ सालमा पाँच कक्षामा पढ्दै गर्दा रतन स्थानीय फुटबल टिममा सामेल भए।

फुटबल प्रशिक्षणमा पनि सहभागी भए। धनगढीमा लालबहादुर खड्का फुुटबल प्रशिक्षक थिए। उर्माबाट धनगढी सहर पुग्न कम्तीमा एक घण्टा हिँड्नुु पर्थ्यो। त्यति हिँडेरै फुुटबल प्रशिक्षणमा जान्थे। उनी पढ्ने स्कुल पनि धनगढीमै थियो।

‘बेली र क्याम्पस चौकमा चार वटा झुपडी थिए। बाटोमा जंगल थियो। क्याम्पस रोडमा झाडी थियो, त्यहाँ त डरले सातो जान्थ्यो,’ खेलको रहर स्मरण गर्दै उनले भने, ‘फुटबल भनेपछि जस्तै डर लागे पनि धनगढी पुुग्थें। डर लाग्ने ठाउँमा पुगेपछि दौडिन्थेँ।’ उनले २०४९ सालमा कक्षा १० को अन्तिम परीक्षा एसएलसी उत्तीर्ण गरे। धनगढीकै कैलाली बहुुमुुखी क्याम्पसमा भर्ना भए। त्यहीँबाट स्नातकोत्तर तहसम्मको पढाइ पूरा गरे।

उनका अनुसार फुटबल खेलमा उनलाई दिदी र दाजुले प्रोत्साहित गरे। घरको कामबाट फुर्सद दिए। प्रशिक्षण लिँदै खेल्दै गरेपछि उनी सुदूरपश्चिमको फुटबल टिममा परे। त्यही टिमबाट राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर पाए।  उनले खेलेको पहिलो राष्ट्रिय प्रतियोगिता बुटवलमा भएको थियो। उनको टिमले त्यो खेल हा¥यो। त्यसपछि लगातारका तीन खेलमा पनि उनी सामेल टिमको हार भयो।

लगातारको हारले उनी खिन्न भए तैपनि करिब ८ वर्ष फुटबल खेले। यसपछि भने उनले आफ्ना लागि विकल्प सोचे। उनको मन मार्सल आर्टतिर गयो। मार्सल आर्टमा पनि उसुु रोजे अनि २०५१ सालमा खेल्न सुरु गरे। रतन उसु खेल्ने र भविष्यमा प्रशिक्षक पनि हुने सोचका साथ अघि बढे। ‘आफू खेलाडी बनूँ। पछि प्रशिक्षक पनि बनूँ भन्ने सोचेर उसु खेल सुरु गरेँ,’ उनले भने, ‘म खेलाडीको गुरु हुन चाहन्थें। मानिसले उसु खेलको गुरु भनेर चिनून् भन्ने चाहन्थेँ।’

खेलाडीहरू खेल प्रशिक्षकलाई ‘गुरु’ भनेर सम्बोधन गर्छन्। गुरुको उच्च सम्मान गर्छन्। रतन उसुु खेलमा गोल्ड मेडलिस्ट, सेकेन्ड मेडलिस्ट र थर्ड मेडलिस्ट हुन्। उनी उसुको पहिलो राष्ट्रिय प्रतियोगितामा पराजित भए। त्यो पराजयले उनलाई अगाडिको बाटो देखायो।

‘कतिपय मान्छे हारले निराश हुन्छन्। हारको समीक्षा गरेर सिक्न चाहँदैनन्,’ उनले भने, ‘मलाई चाहिँ पहिलो हारले उसुको राम्रो खेलाडी बनायो। गोल्ड मेडल ९स्वर्ण पदक० दिलायो, प्रशिक्षक पनि बनायो।’ रतन सुुदूरपश्चिमको उसुमा दोस्रो ब्याचका खेलाडी हुन्। उनले धेरै राष्ट्रिय प्रतियोगिता खेले।

उनी उसु खेल्दै थिए, २०५५ सालमा नेपाल प्रहरीको असई पदमा सामेल भए। छानिएर सेवामा प्रवेश पनि गरे तर खेल्न नपाएपछि उनी टिक्न सकेनन्। प्रहरी सेवाबाट केही महिनामै राजीनामा गरेर खेलमा फर्के। उनी उसुमा चम्किँदै थिए। त्यही समय देशमा सशस्त्र द्वन्द्व बढ्दै गयो। खेल प्रतियोगिता आयोजना हुन कम भयो तैपनि उनले लगातार १५ वर्ष उसु खेले।

खेल्न सुरु गरेको दुई वर्षपछि, २०५३ सालमै, उनी उसु खेलको प्रशिक्षक भए। कैलालीमा उसुु प्रशिक्षक नभएकाले उनले खेल्दै प्रशिक्षक बन्ने अवसर पाएका थिए। उनी करिब १५ वर्ष स्वयंसेवक प्रशिक्षक रहे, २०६६ सालमा मात्र कैलाली उसु शाखामा सहायक प्रशिक्षकका रूपमा करारमा नियुुक्ति पाए।

प्रहरी सेवामा अघि बढ्ने बलियो सम्भावना हुँदाहुँदै पनि रतनले किन राजीनामा गरे ? ‘खेलले जिउन सिकायो। खेलाडीको परिचय बनायो। धेरै मानिससँग चिनजान भयो। धेरैको माया र आशीर्वाद मिल्यो,’ उनले भने, ‘यति धेरै अवसर दिने खेल माया मार्न सकिनँ बरु जागिर नै माया मारेँ।’

रतनका अनुुसार उसु खेलमा डेमो र फाइट दुई विधा हुन्छ। यी दुबै विधामा छुट्टाछुट्टै प्रशिक्षक आवश्यक पर्छ। हाल सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, बाजुुरा, डडेल्धुरा बझाङमा उसुु खेल निकै चल्तीमा छ। हालसम्म दस वटा उसु क्वान बनेका छन्, तिनमा प्रशिक्षण दिइन्छ।

रतन भन्छन्, ‘सबै खेलाडीले स्वर्ण पदक जित्ने गरेर खेल्न सकून् र देशको नाम राख्न सकून् भन्ने मेरा चाहना छ। म त्यसै अनुसार खटेको छु।’  खेल र खेलाडीप्रति राज्यको व्यवहारमा उनी सन्तुष्ट छैनन्। राज्यले खेलमा जति महत्व दिनुपर्ने थियो त्यति दिन सकेको छैन भन्ने उनको ठहर छ।

भन्छन्, ‘संघसंस्था बनाएर मात्र हुँदैन। राज्यले लगानी पनि बढाउनुपर्छ। राज्यको सहयोग भए खेलाडीले राम्रो खेल्न सक्छन्। अहिले त अभिभावकको सहयोगमा मात्रै खेल्न सकेका हुन्।’ खेलमा निरन्तरको अभ्यास आवश्यक पर्छ। प्रतियोगिताहरू आयोजना भइरहनुपर्छ। यसो गर्न राज्यको सहयोग चाहिन्छ। लगानी चाहिन्छ। यसतर्फ राज्य उदासीन छ भन्ने रतनको गुनासो छ। उनी भन्छन्, ‘राम्रो प्रतिफल खोजेरमात्र हुँदैन, राज्यले लगानी पनि गर्नुपर्छ।’ सेतोपाटीबाट