प्रिमनसुनी वर्षाले हिउँदे बाली सप्रिने भन्दै कैलालीका किसान उत्साहित
2024/03/04, 4:43
 
ss

प्रिमनसुनमा भएको वर्षाले हिउँदे बालीलाई फाइदा गरेको किसानले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण शनिबारदेखि कैलालीसहित विभिन्न जिल्लामा पानी परिरहेको छ । यसबेला भएको वर्षाले बाली राम्रो हुने कैलारी गाउँपालिका–७ का कृषक राजकुमार चौधरीले बताए । वैज्ञानिक रूपमा पाँचरछ पटक गहुँ सिँचाइ गर्नुपर्ने भए पनि किसानले प्रायः एकचोटि मात्रै गहुँमा पानी हाल्ने गरेका छन् । बलौटे र अग्ला ठाउँमा गहुँ बालीले पानी खोजिरहेका बेला भएको वर्षाले उत्पादन वृद्धिमा सहयोग पुग्ने चौधरीको भनाइ छ । 

किसानका खेतमा अहिले गहुँ, मुसुरोमा दाना लाग्ने क्रममा रहेको छ । यो बेला भइरहेको वर्षाले पानी जम्ने ठाउँबाहेक अन्यतिर बालीलाई धेरै फाइदा हुने कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले बताए । “अहिले भइरहेको वर्षा गहुँका लागि एकदमै बेस्ट हो,” उनले भने, “मुसुरोलाई पनि पानी नजम्ने ठाउँमा राम्रो नै हुन्छ ।” खेतमा पानी जमेमा भने मुसुरोलाई नोक्सान गर्न सक्ने प्रमुख शर्माको भनाइ छ । 

कैलालीमा यस वर्ष साढे ३४ हजार हेक्टर जमिनमा गहुँ खेती गरिएको छ । यहाँका किसानको मुसुरोभन्दा पनि गहुँ खेतीतर्फ आकर्षण बढेको छ । यसैबिच प्रिमनसुनी वर्षाले खेतमा रहेको तोरीलाई नोक्सान गर्न सक्ने जनाइएको छ । त्यसो त अधिकांश किसानले तोरी काटेर भित्र्याइसकेका छन् । केही किसानको मात्रै तोरी काट्न र भित्र्याउन बाँकी रहेको शर्माले बताए । काटेर पनि भित्र्याउन नसकेको तोरी भिजेर नोक्सान हुन सक्ने उनको भनाइ छ ।