धनगढीका जनप्रतिनिधिको तीन वर्षः कति वाचा पुरा कति अधुरा ?
2020/07/10, 6:29
 
jan pratinidhi

स्थानीय तहको निर्वाचन भएको तीन वर्ष भईसकेको छ । जननिर्वाचित प्रतिनिधिहरुले कार्यभार सम्हालेको पनि तीन वर्ष पुगेको छ । तीन वर्ष अघि आजकै दिन अर्थात् २०७४ साल असार २६ गते उपमहानगरपालिका प्रमुख उपप्रमुख लगायतका जन प्रतिनिधिहरुको पदवहाली ग्रहण गरेका थिए । उनीहरुकै शब्दमा ती जन प्रतिनिधिहरुले निर्वाचनका वेला गरेका वाचा कति पुरा कति अधुरा रहेका छन् त ? 

हामीले घोषणापत्र अनुसार तिव्र गतिमा काम गरिरहेका छौः नगर प्रमुख वड
धनगढी उपमहानगरपालिकामा हामी नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भइसकेपछि हाम्रो चुनावी घोषणापत्र अनुसार तीब्र गतिमा काम अघि बढाएका छौं । हामीले निर्वाचित भए लगत्तै प्रत्येक वडामा खानेपानीको व्यवस्था, खेलमैदान व्यवस्थापन, प्रत्येक वडामा स्वास्थ्य केन्द्रको व्यवस्थापन, वडा कार्यालय स्थापना गर्ने भनेका थियौं । यो तीन वर्षको अवधिमा अहिलेसम्म दुई वटा वडाबाहेक सबै वडामा स्वास्थ्य चौकी सञ्चालन भइसकेको छ । ११ वटा वडामा खानेपानी सेवा पुगेको छ । चार वटा वडामा पहिलेदेखि नै खानेपानी आपूर्ति हुदै आएको थियो । वडा नम्बर ११, १३ र १७ मा आगामी आर्थिक वर्षमा बोरिङ हुँदै छ । वडा नम्बर ३ र ६ मटयारीमा ट्यांकी निर्माण भइसकेको छ । एक दिनअघि मात्र वडा नम्बर १ र १२ नम्बरमा खानेपानी ट्यांकी निर्माणका लागि टेण्डर निस्केको छ । आउदो वर्ष बाकी तीन वटा वडामा खानेपानी व्यवस्थापन गरिने छ । 

1
खोलानाला तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउनेबारे प्राविधिकहरुले प्रतिवेदन दिइसकेका छन् । अब साउनको पहिलो हप्ता ३५ दिने सूचना जारी हुनेछ । उपमहानगरपालिकाका तीन वटा वडामा पहिलेदेखि नै स्वास्थ्य चौकी थिए । ११ वटा वडामा अहिले स्वास्थ्य चौकी भवन निर्माण भइरहेका छन् । त्यस्तै, सात आठ वटा वडामा कार्यालय भवन निर्माण गर्दैछौं । त्यस्तै, सिटी हल निर्माण कार्य ८० प्रतिशत पुरा भइसकेको छ । वडा नम्बर १८ मा निर्माणाधीन कोल्डस्टोर असार मसान्तभित्र हामीलाई हस्तान्तरण गर्छु भनेको थियो । कोल्डस्टोर निर्माण कार्य ५० प्रतिशत पुरा भइसकेको छ । लकडाउनका कारण निर्माण कार्यमा केही ढिलाई भयो । धेरै वडामा खेलकुद मैदान तयार भएका छन् । वडा नम्बर १८ मा पशु हाटबजार तयार भइसकेको छ । धनगढीमा रहेको हाटबजार स्तरोन्नतिको काम भइरहेको छ ।

हामीले पर्यटन विकासमा जाखोर ताललाई पहिलो प्राथमिकतामा राखेका छौं । जाखोरतालमा निरन्तर संरचना निर्माण कार्य भइरहेको छ । त्यस्तै, शिवपुरी धाम, भादा होमस्टे, बेहडाबावालाई नगर गौरव योजनाका रुपमा अघि बढाइरहेका छौं । त्यस्तै, धनगढी वडा नम्बर ९ त्रिवेणी घाटमा मसानघाट निर्माण कार्य अघि बढाएका छौं । त्यसमा पाँच वटा लास जलाउने र दुई वटा विद्युतीय शव गृह रहने छन् । धनगढी उपमहानगरपालिकामा सघन सहरी विकासका कामहरु लगभग सकिनै लागेको छ । एडिविका योजनाको सम्झौता हुने प्रक्रियामा छ । हामीले फोहोरमैला व्यवस्थापनको पनि टुङ्गो लगाइसकेका छौं । हामीले शिक्षालाई पनि पहिलो प्राथमिकतामा राखेका थियौं । हामीले नगरभित्र २७ वटा विद्यालय भवन निर्माण गरेका छौं ।

प्रत्येक विद्यालयमा पर्खालको व्यवस्था गरिएको छ । हरेक विद्यालयमा शौचालय, पुस्तकालय, सूचना तथा प्रविधि लगायतलाई पनि व्यवस्थित गरेका छौं । स्मार्ट सिटीका लागि सबै वडामा अप्टीकल फाइवर विस्तार गरेका छौ । उपमहानगरमा घर नम्बरिङ गर्ने कार्यक्रम आरयुडिपीले तयार गरिरहेको छ । तीन वर्षीय, पञ्चवर्षिय, दश वर्षिय योजनाको मस्यौदा तयार पारिएको छ । प्रत्येक घरमा फलफूलका वोटहरु पुर्याउने काम पनि अघि बढेको छ । पाँच वटा सार्वजनिक शौचालयको टेण्डर भइसकेको छ । क्याम्पस चौकमा सार्वजनिक शौचालय तयार भइसकेको छ । त्यही क्षेत्रमा फिटनेस सेन्टर बनाएका छौं । हामीले यस वर्ष दुई वटा थप फिटनेस सेन्टर बनाएका छौ भने आउँदो साल तीन वटा फिटनेस सेन्टर बनाउने योजना लिएका छौं । काम गर्दै जाँदा थुप्रै चुनौतिहरु छन् । अघिल्लो वर्ष हावाहुरीको समस्या झेल्यौं । अहिले कोरोनाको महामारी झेल्दैछौं ।

हामीले सबैका आवश्यकतालाई ध्यानमा राखेर काम गरिरहेका छौंः नगर उपप्रमुख भट्ट
हाम्रो कार्यकालको तीन वर्ष पुगिसकेको छ । यो अवधिमा हामीले थुप्रै कुरा जान्न बुझ्न पाएका छौं । स्थानीय वासिन्दाका थुप्रै आकांक्षा र माग छन । उपमहानगरपालिकामा मुलुकका थुप्रै जिल्लाका मानिसको बसोबास छ । ठुलो जनसंख्या उपमहानगरपालिकाका लागि चुनौती र अवसर दुवै हो । मानिसका सबै आवश्यकता कहिल्यै पुरा हुन सक्दैन । गत वर्ष एउटा आवश्यकता थियो त्यसका लागि बजेटको व्यवस्था ग¥यौं, त्यो कार्यक्रम पुरा भयो । तर, फेरि पनि त्यही आवश्यकतालाई निरन्तरता दिनुपर्ने हुन्छ । त्यसैले पनि हरेक वर्ष कतिपय योजनालाई निरन्तरता दिने गरेका छौं । यो निरन्तरता चलिरहन्छ । कतिपय कुरा कस्तो हुन्छ भने केही कामहरु एकै पटक गरिने हुन्छन् । जस्तो बाटोघाटो, भवन, खानेपानी यस्ता भौतिक संरचना एक पटक बनायो भने धेरै समय रहन्छ ।

2
नगरबासी हरेकका आ–आफनै आवश्यकता छन । अपाङगता भएका व्यक्ती, ज्येष्ठ नागरिक, डेरामा बस्ने व्यक्ती आदिका आ–आफनै समस्या छन । एकल महिला, विपन्न महिला, अपाङ्गता भएका महिला छन । त्यसैले सबैका आवश्यकता फरक फरक हुने गर्दछन् । नगरपालिकाले आफ्नो स्रोत साधन र क्षमता भ्याएसम्म सबैका लागि बजेट विनियोजन गर्दै आएको छ । न्यायिक क्षेत्रको कुरा गरौं । हामी के चाहन्छौं भने यहाँ (न्यायिक समिति) मा आउने व्यक्ती कसरी लाभान्वित हुन्छन् । पहिले हामीले राजश्वका लागि १० रुपैयाँ राखेका थियौ । दश रुपैयामा उसले आफनो निवेदन दर्ता गराउन सक्थ्यो । अहिले एक सय रुपैयाँ राखेका छौं । एक सय रुपैयामा एक जना व्यक्तिले चाहेको न्याय पाउन सक्छ । हामीले मेलमिलापका माध्यमबाट न्याय दिन्छौ । ता कि कसैको जीत वा कसैको हार नहोस् । यसले झन्झट कम हुन्छ । समयको वचत हुन्छ । निवेदन दर्ता भएको तीन महिनाभित्रै हामीले उहाँहरुलाई न्याय दिन्छौं र आर्थिक रुपले पनि एकदमै कम खर्चमा उहाँहरुले न्याय पाउँछन । हामीले के सोचेका छौं भने न्याय ढिलो दिनु भनेको पनि न्याय नपाउनु सरह नै हो । कोही महिलामाथि हिंसा भयो, घरबाट निकालियो वा खानलाउन पाइनन् भने यस्ता उजुरीमा सात दिनभित्र फैसला हुन्छ ।

मेलमिलापका कारण सामाजिक सद्भाव कायम भएको छ । आर्थिक र समयको पनि बचत भएको छ । अदालत जान डराउथे, वकिल राख्न डराउँथे, आर्थिक हिसावले कमजोर भएका नागरिकहरुले यहाँ सहजै सेवा पाइरहेका छन । धनगढी उपमहानगरपालिकाले पारदर्शीता, सुशासन तथा जवाफदेहितालाई ध्यानमा राखेर सेवा प्रवाह गरिरहेको छ । हामीले दिएका सेवा सुविधामा सन्तुष्टी छ । सबैका आवश्यकता परिपूर्ति गर्न सकिन्छ भन्ने होइन । व्यक्तीगत आवश्यकता परिपूर्ति सबैका पुरा गर्न सक्ने अवस्था पनि हुँदैन, त्यसैले सामुहिक आवश्यकतामा बढि जोड दिएका छौं ।
हामी पाँच वर्षमा उपमहानगरपालिकाको बजेट, साधन स्रोत अनुसार काम गर्दै जानेछौं । ता कि भोली आउने अर्को टिमलाई यिनै योजनामा टेकेर अघि बढ्न सजिलो होस । यसका लागि उपमहानगरपालिकाले एउटा रणनैतिक योजना तयार गरिरहेको छ ।

मैले पदभार ग्रहण गर्दै गर्दा एकल महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ती, दलित, आदिवासी, विपन्न वर्गका लागि विशेष विकास कार्यक्रम ल्याउने घोषणा गरेको थिए । उपमहानगरपालिकाले गत वर्ष एकल महिलालाई साधन सहितको सिपमुलक तालिम उपलब्ध गराएको छ । सिलाइकटाइ गर्नेहरुलाई मेसिन उपलब्ध गरायौं भने जुत्ता चप्पल सिलाउने, ढाकाटोपी बुनाई, फाइवर बनाउने लगायतका थुप्रै व्यवहारिक तालिमहरु उपलब्ध गराएका छौं । व्यवसाय सञ्चालन गरेर आयआर्जनमा सजिलो होस भनेर तालिम दिएका छौं । आगामी वर्षमा पनि उहाँहरुलाई कृषि सम्बन्धमा धेरै तालिम राखेका छौं । एकल महिलाको आर्थिक अवस्था र सामाजिक विकास गर्न थुपै्र कार्यक्रम ल्याएको छ । ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र स्थापनासंगै स्वास्थ्यमा पनि ध्यान दिएका छौं । अपाङ्गता भएका व्यक्तिहरुको स्याहारका लागि स्याहार केन्द्र र काम गर्न सक्ने अपाङ्गता भएका व्यक्तिहरुका लागि सिपमुलक आयआर्जनका कार्यक्रम अघि सारेका छौं । कृषकहरुको आयमुलकदेखि अनुदान लगायतका थुपै्र कार्यक्रम अघि बढाएको छ । एकल महिलालाई कृर्षिसंग जोडन पर्छ भनेर एकल महिलाका लागि कृषि कार्यक्रम ल्याएका छौं ।

उपप्रमुख न्यायिक समिति मात्र नभई अन्य थुप्रै समितिको पनि संयोजक हुन्छ । उपमहानगरपालिकामा अनुगमन समितिको संयोजकका हैसियतमा योजनाको शुरुवातदेखि अन्तिम भुक्तानीसम्म हामीले अनुगमन गर्नुपर्छ । काम पुरा भएपछि प्राविधिक, वडा र हामीले अनुगमन गरेपछि मात्र उपभोक्ता वा ठेकेदारले त्यसको भुक्तानी पाउने प्रावधान छ । मैले निर्वाह गर्ने जिम्मेवारीमध्ये अनुगमन बढि चुनौतिपूर्ण लागेको छ । जनताले पाउने विकास गुणस्तरिय हुनुपर्छ र गुणस्तरिय विकास नै हस्तान्तरण गर्छु भनेर म लागिरहेकी छु ।

चुनौतीका बिच हामीले धेरै गर्न खोजेका छौः प्रवक्ता मुडभरी
स्थानीय सरकारहरु नयाँ ढाँचामा आएपछि हामीसँग थुप्रै चुनौति थिए । हामीले सुरुमा आवश्यक ऐन, कानुन, नियम, निर्देशिका, कार्यविधि, मापदण्ड बनाउन ध्यान दियौं । अहिलेसम्म ३५ वटा ऐन कानून, निर्देशिका, कार्यविधि र मापदण्ड बनाइसकेका छौं । हामीले यो तीन वर्षको अवधिमा २०२ किलोमिटर सडक कालोपत्रे गरेका छौं । पाँच सय ३४ किलोमिटर कालोपत्रे सडक मर्मत गरिएको छ भने चार सय ८३ किलोमिटर सडक ग्रावेल गरिएको छ । त्यस्तै, हामीले आर्थिक विकास तर्फ कृषिलाई प्राथमिकतामा राखेका छौं । हामी अहिले लगभग माछापालनमा आत्मनिर्भर बनेका छौं । पशु विकासतर्फ एक महिला, दलित, जनजाती अतिविपन्न वर्गलाई जीवनयापनमा सुधार गर्न बाख्रा वितरण, गोठ सुधार लगायतका कार्यक्रम अघि बढाइरहेका छौं ।

3
त्यस्तै, पर्यटनतर्फ उपमहानगरपालिकाले कैलाली नाला, सुकुटी नाला र मोहना नालामा साइकल ट्रयाक खोल्ने नीति बनाएको छ । साइकल ट्रयाक खोल्ने नीति पहिलो वर्षदेखि नै प्राथमिकतामा राखेका थियौं, तर केही प्राविधिक कठिनाईका कारण अघि बढाउन सकेका थिएनौं । यसपाली एउटा नालामा सबै तयारी पुरा गरिसकेका छौं । छिट्टै साइकल ट्रयाक खोल्छौं ।  हामीले वडा नम्बर १३, ६, ५ र ४ मा रहेका सामुदायिक वनभित्रका खोला सहितको क्षेत्रलाई संरक्षण गरि सामुदायिक वनको उद्यानका रुपमा विकास गर्ने र साइकल ट्रयाक खोल्ने योजना बनाएका छौं । त्यस्तै, जाखोर ताल, वेला ताल, नेतुवा ताल, तिल्केताल लगायतका सबै ताललाई पर्यटकिय केन्द्रका रुपमा विकास गर्ने काम अघि बढाएका छौं । धनगढीमा एउटा कोल्ड स्टोरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । धनगढीको फूलबारीमा वसपार्क निर्माण भइसकेको छ भने धनगढी सिटी हलको निर्माण अन्तिम चरणमा पुगेका छ । वडा नम्बर ७ मा थारु संग्रहालय स्थापना गरेका छौं । हामीले पिपिपि मोडलमा धनगढीको वडा नम्बर १५ मा जडिवुटी प्रशोधन केन्द्र निर्माण गरेका छौं । सोही वडाको एउटा सामुदायिक वनलाई पार्कका रुपमा विकसित गर्ने योजना छ । त्यहाँ केही संरचनाहरु निर्माण भईसकेका छन् ।

त्यस्तै, जडिबुटी प्रशोधन केन्द्रलाई विशेष ध्यान दिएका छौं । उद्योगतिर त्यति धेरै ध्यान दिन सकेका छैनौं । विभिन्न नियम, कानुन बाँझिने र सुरुवाती चरण पनि भएकाले समस्या भएको छ । विस्तारै धेरै नभए पनि लघु उद्यमी तयार गर्ने र लघु उद्यमीलाई केन्द्रीत गरेर विशेष आर्थिक सुधार गर्ने सोच बनाएका छौं । उपमहानगरपालिकामा सहकारी, सामाजिक विकास, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा निकै काम भएको छ । शिक्षातर्फ धेरै विद्यालयका भवन निर्माण, पर्खाल निर्माण, शिक्षाको गुणस्तर सुधार गर्न नमुना विद्यालयको अवधारणा अघि बढाएका छौ ।  त्यस्तै, स्वास्थ्यतर्फ बजारका वडाबाहेक सबै वडाहरुमा शहरी स्वास्थ्य केन्द्र केन्द्र स्थापना भइसकेका छन । कतिपय वडामा वर्थिङ सेन्टर छन् । वडा नम्बर ७ बेलीमा शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गरिएको छ । संस्कृतितर्फ पनि थुप्रै काम भएका छन् । जनतालाई हामीले दिने सेवालाई पारदर्शी गराउन ईएमआइएस प्रविधिको सेवा सुचारु गरेका छौं । यो सायद कुनै पनि पालिकाले गरेको छैन । हामीले धेरै गर्न खोजेका छौं, तर पहिलो पटक भएकाले शुरुमा हामीले कर्मचारी अभावको समस्या झेल्यौं । धेरै क्षेत्र नगरमा आएपछि नगरपालिकाले राम्रोसँग योजना बनाउन सकेको छैन । हाम्रोमा अहिले पनि धेरै क्षेत्रको शाखालाई महाशाखाका रुपमा स्थापना गर्न सकेका छैनौं । कर्मचारी समायोजन सकियो भने स्वास्थ्य, कृषि, सहकारी लगायतका सबै क्षेत्रका विज्ञहरु आउने छन ।