सीमा विवादको चर्को नारा सडकदेखि सदनसम्म चुलिदै थियो। चार प्रमुख दल भारतभक्ति दल, चिनभक्ति दल, अमेरिकीभक्ति दल र देशभक्ति दलका उच्च नेता बैठकमा सहभागी भएका थिए। उनीहरू आफ्नो दलको नीति र योजनामा टेकेर तर्क गर्दै थिए। भारतभक्ति दलका माननीयले सुरुमा बोल्नुभयो :- “दुई देश धर्म, संस्कृति र परम्परामा समान रहेको, रोटी बेटीको सम्बन्ध भएको, सीता रामको पौराणिक गाथा जोडिएको, गोर्खाली पल्टन यहाको युवाद्वारा भरिएको, यस्तो प्रगाढ सम्बन्ध हुँदाहुँदै पनि पछौटे र अभावमा बाँच्नु परेको हुनाले दुई देश एकै हुनु पर्ने मेरो मत रहेको छ। सबै मिलेर अखण्ड भारतको निर्माण गर्न जुटौ, बुझ्नुभयो ?’’
चिनभक्ति दलको माननीयले जङ्गिदै भन्नुभयो :- “कहिले सीमा ठप्प पार्ने, कहिले गुटबन्दी गरेर सरकार ढाल्ने, सीमा मिच्ने, बस्तीमा पसेर चेलिबेटीको इज्जत लुट्ने, यस्तो गिद्दे नजर राख्ने कसरी हाम्रो हुन सक्छ ? बरु चीनले आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ । आर्थिक क्रान्तिमा अब्बल चीनको समर्थन गर्नु सर्वहित हुनेछ, बुझ्नुभयो ?’’ अमेरिकीभक्ति माननीय मुस्कुराउदै :- “यी दुईटैले केही नाप्ने वाला छैन। वर्षौं भर पर्यौ, केही भयो ? दुवैले आ-आफ्नो दुनो सोझ्याए। बरु एम सी सी भित्र्याऊ। विकासको लहर लेराऊ । पुरातन सोच त्यागेर, अमेरिकालाई अपनाऊ । ओड्नै परेपछि ठुलै छाता ओढौॅं। के भन्छौ ?’’
देशभक्ति दलको माननीयले लामो सुस्केरा गर्दै :- “हामी यति झुक्यौॅं कि हाङ्गै भाचिने गरी । यी सबै शक्ति राष्ट्र कुनै समय ब्रिटेनको अधिनमा थिए। दासत्वको बोझले थिचेर, कैयौ वर्षको सङ्घर्षपश्चात् स्वतन्त्रता मिलेको थियो। के कैल्यै कसैको अधिनमा नरहेको ऋषि मुनिको तपोभूमि गौतम बुद्धको जन्मभूमिमा अरुले रजाईॅं गरेको हेर्न सक्छौ ? के देशको माली बन्न छोडेर दासत्व स्वीकार्न तयार छौ ?’’ देशभक्ति दलका माननीय फेरि उर्लिए :- पराधीनता हाम्रो संस्कार होइन। ब्युझिनुहोस् माननीयहरू ! बिदेशी दलालका झोला बोक्न छोडिदिनुस्। एकतामा बाॅंधिनुहोस्। आफ्नो मौलिक संस्कारमा बाँच्न सिक्नुहोस्। हैन भने . . . . ( सीरुपाते खुकुरी झिकेर हावामा चलाउन थाले ) । वातावरणमा मौनता छायो ।
प्रकाश खड्का "अभियान "
बोस्टन, अमेरिका