यसरी निम्तिन्छ ढाडको समस्या, समाधानको उपाय के ?
2020/07/14, 1:30
 
health

विश्व स्वास्थ्य संगठनका अनुसार ढाड तथा गर्धन दुख्ने र हाडजोर्नीसम्बन्धी ८० प्रतिशत समस्या जीवनशैलीकै कारण निम्तने गरेको छ । बिहान उठ्ने, खाना खाने, कार्यालय जाने अनि बेलुका अबेर घर फर्किएर खाना खाने र सुतिहाल्ने प्रायः मानिसको जीवनशैली यस्तै हुन्छ । यदि जीवनशैली यस्तो छ भने तपाईं नजानिँदो किसिमले ढाड, गर्धन र हाडजोर्नी दुख्ने समस्याको सिकार बनिरहनुभएको छ । बदलिँदो जीवनशैली र नमिल्दो खानपिनका कारण पछिल्लो समय अत्यधिक रुपले ढाड तथा गर्धन दुख्ने र हाडजोर्नीको समस्या बढ्दै गइरहेको छ । चिकित्सकहरुले रुघाखोकीजस्तै ढाडको समस्या पनि साझा बनिरहेको बताएका छन् ।

शरीरको हड्डी कमजोर हुने, ढाड तथा जोर्नी दुख्ने सामान्य दुर्घटना हुँदा पनि अगंभंग हुने मोटोपन बढेर घुँडा दुख्ने समस्या आइपर्ने गलत जीवनशैलीका नतिजा हुन् । कमजोर हाडजोर्नीका कारण पलेटी कसेर बस्न नसक्ने, धेरै काम गर्न नसक्नेजस्ता समस्या निम्त्याइरहेका छन् । चिकित्सकका अनुसार हाड भनेको जति प्रयोग गर्‍यो उति बलियो हुने अगं हो, यसको प्रयोग हुन नसक्दा गुणस्तरीय जीवन घट्दै गइरहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार ढाड तथा गर्धन दुख्ने र हाडजोर्नीसम्बन्धी ८० प्रतिशत समस्या जीवनशैलीकै कारण निम्तिने गरेको छ । बाँकी २० प्रतिशत अन्य कारण हुन् जुन शल्यक्रिया नै गर्नुपर्ने अवस्थाका हुन्छन्  । ८० प्रतिशत समस्या जीवनशैली सुधार गरे मात्रै रोक्न सकिने मेरुदण्ड विशेषज्ञहरुको भनाई छ । शारिरीक क्रियाकलाप कम हुनु तथा मानसिक तनाव बढी हुनु यसका मुख्य कारण हुन् । जकंफुड र धूम्रपानको पनि उत्तिकै भूमिका खेलिरेहको हुन्छ । बढी समय काममा खट्ने तथा स्वास्थ्यलाई ध्यान नदिदाँ सहरी भेगका मानिसमा यस्ता समस्या झन् विकराल हुँदै गइरहेको छ । अधिकांश बिरामी धेरै बेर उभिएर काम गर्ने, मोबाइल र कम्प्युटरमा बढी समय बिताउने, अनि नियमित मोटरसाइकल चढ्ने गरेको पाइएको छ ।

विशेषगरी युवावर्ग यस्ता समस्याको मारमा छन् । बालबालिका पनि यस्ता समस्या लिएर अस्पताल पुगिरहेका पाइएको छ । पढाइको धेरै मानसिक तनाव, गह्रुंगो झोला र धेरै बेर निहुरिएर मोबाइल चलाउने, सुतेर टीभी हेर्ने, नरम ओछ्यान र अग्लो सिरानीमा सुत्ने बालबालिका बढी प्रभावित भइरहेका पाइन्छ । तथ्याङ्क हेर्दा खेलकुद, व्यायाम र स्वास्थ्य खानपानबारे हेलचक्रयाइँ गर्दा हरेक १० मध्ये ८ ले ढाड दुख्ने समस्या भोगिरहेका छन् ।

गाउँघरमा बस्ने, बिहानै उठ्ने करेसाबारीमा काम गर्ने अनि हिँडिराख्नेहरू हाडजोर्नीसम्बन्धी समस्या लिएर विरलै अस्पताल पुग्छन् । जीवनशैलीका कारण देखिएको समस्या जीवनशैली परिवर्तन गरेर मात्रै समाधान हुन्छ, औषधि र उपचार त सेकेन्डरी उपाय मात्रै हो । दिनमा एक घण्टा व्यायाम गर्ने, धेरैबेर कुर्सीमा बसेर काम गर्नेले बेलाबखत उठेर तन्किने अनि खानेकुरामा मौसमी फलफूल र तरकारी समावेश गर्दा यस्ता समस्या न्यूनीकरण हुने चिकित्सकको सुझाव छ ।

यस्ता समस्याबारे समयमा नसुधारेमा दुखाइ शरीरका विभिन्न भागमा फैलिन सक्छ । हातखुट्टा झमझमाउने, लुलो हुने, वजन घटेर कमजोरी हुने हुन सक्छ । कहिलेकाहीँ प्यारालाइसिस भएर जीवनभर ओछयान पर्ने समस्या पनि हुने गरेको छ । सहरी जीवनशैली गुणस्तरीय बनाउन सानै उमेरदेखि व्यायाम गर्न बानी बसाल्नुपर्ने चिकित्सक बताउँछन् । यसलाई प्रभावकारी बनाउन विद्यालय तहबाटै अभ्यास सुरु गर्नुपर्छ ।