सुदुरपश्चिममा परिक्षण कम हुँदा जोखिम बढ्दै, तीन महिनासम्म प्रयोगशाला स्थापना भएन
2020/07/15, 10:08
 
corona

असारको पहिलो साताबाट संक्रमण दर ह्वात्तै बढेको सुदूरपश्चिम प्रदेशमा पछिल्लो दिनमा परीक्षण दर कम भएको छ । संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको समेत परीक्षण हुन छाडेको स्थानीयको भनाई छ । समुदायमा संक्रमणको अवस्था के छ भनेर पत्ता लगाउन परीक्षण नहुँदा जोखिम बढ्दै गएको विज्ञहरू बताउँछन् ।  

लकडाउन खुकुलो भएकाले क्वारेन्टिन बाहिर संक्रमितको घुलमिल र सम्पर्कमा धेरै जना हुने गरेपनि उनीहरूको सम्पर्कमा आएकाको परीक्षण नहुँदा जोखिम बढेको छ । ‘परीक्षण नहुँदा संक्रमण समुदायमा लुकेर रहने खतरा छ,’ वरिष्ठ फिजिसियन शुभेषराज कायस्थले भने, ‘परिक्षणको दायरा बढाउन नसकिएकोले अहिले नै संक्रमणको दर घट्यो भन्न सकिने आधार छैन ।’  

समुदायमा संक्रमण फैलिएको छ कि नै भनेर पत्ता लगाउन पनि कुनै ध्यान नदिएको उनको भनाइ छ । समुदायमा संक्रमण भएका व्यक्ती रहेको भए अवस्था भयावह हुन सक्ने भएकाले परीक्षणको दर बढाउनुपर्ने उनको सुझाव छ ।

निर्देशिकाको प्रावधान नै गलत
सरकारको निर्देशिका नै गलत भएकाले पनि समस्या रहेको वरिष्ठ फिजिसियन कायस्थको भनाइ छ । विदेशबाट फर्केका लक्षण भएका, कन्ट्रयाक्ट ट्रेसिङमा रहेका लक्षण भएकालाई मात्र परिक्षण गर्ने निर्देशिकाको प्रावधान गलत रहेको उनले बताए । लक्षण नदेखिएको संक्रमित समुदायमा हुँदा महामारी फैलिने उच्च जोखिम रहेको उनले बताए ।  

लक्षण नदेखिएका व्यक्तीबाट पनि संक्रमण बढ्ने भएकाले समयमै सचेत हुनुपर्नेमा उनले जोड दिए । भारतबाट सुदूरपश्चिममा धेरै भित्रिएका छन्, अहिले पनि फर्कने क्रम चलिरहेको छ । कोरोनाबाट नागरिकलाई बचाउनका लागि निर्देशिका सच्याउनुपर्ने वरिष्ठ फिजिसियन कायस्थको भनाइ छ ।
सेती प्रादेशिक अस्पतालको कोरोना उपचार विभागका प्रमुख वरिष्ठ फिजिसियन शेरबहादुर कमरले अहिले लक्षण नदेखिए पनि समुदायमा लुकेको संक्रमित भए दुई–तीन सातामा संक्रमणले महामारीको रूप लिनसक्ने खतरा रहेको बताउँछन् ।

सुदूरपश्चिममा परीक्षणको दायरा बढाउनु पर्ने उनको सुझाव छ । लकडाउन खुकुलो भएको अवस्थामा परीक्षणको दायरा बढाएर संक्रमितलाई पहिचान गर्नुपर्नेमा उनको जोड छ ।  कोरोना भाइरस प्रवेश गरेपछि २ देखि ३ सातामा कोरोनाले जितेर मान्छेमा जटिल प्रकृतिको लक्षण देखापर्ने र रगतमा भएको रक्त कोषले मार्ने विज्ञको भनाइ छ ।

निर्देशिका अनुसार भारतबाट फर्केर क्वारेन्टिनमा बसेकालाई पनि दुई–तीन सातापछि घर पठाइएको छ । संक्रमण देखिएका तर लक्षण नभएका संक्रमितलाई पनि रिपोर्ट नेगेटिभ नआउँदै घर पठाउँदा जोखिम बढेको स्वास्थ्यकर्मीको भनाइ छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले पछिल्लो दिनमा परीक्षण कम भएको स्वीकार गरे ।

भारतबाट आउने घटेका छन्, क्वारेन्टिनमा पनि संख्या घट्दै गएको छ । नमुना संकलन र परीक्षण पनि कम भएको छ ।’ उनले भने, ‘संक्रमितको संख्या कम भएपनि भारतबाट फर्कने क्रम चलिरहेकाले जोखिम घटेको छैन, अझै बढ्न सक्छ ।’ प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ६ हजार १ सय ९१ जना अहिले क्वारेन्टिनमा रहेका छन ।  

तीन महिनासम्म प्रयोगशाला स्थापना भएन
चैत १५ गते प्रदेश सरकारले डोटी, बैतडी र कैलाली गरेर तीन ठाउँमा नयाँ प्रयोगशाला खोल्ने निर्णय गरेको थियो । तर यहाँ अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । तीन वटा मेसिन आइसकेको र मेसिन राख्ने कोठा लगायतको अभावले प्रयोगशाला स्थापना गर्न नसकेको निर्देशक अवस्थीले जानकारी दिए । सुदूरपश्चिममा मंगलबारसम्म संक्रमितको संख्या ३ हजार ९ सय ५६ पुगेको छ भने ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।