सुदूरपश्चिमबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने अधिकांश सांसद ओली पक्षमा, प्रदेश सभामा माधव– प्रचण्ड समुह बलियो
2020/07/17, 1:11
 
rajniti

बैशाख महिना यता पटक पटक विघटनबाट जोगिए पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र शक्ती संघर्ष र गुट बलियो बनाउन पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल पक्षधरहरु केन्द्रदेखि जिल्लासम्म जुटेका छन् । केन्द्रदेखि जिल्लासम्म अध्यक्षद्धय ओली र दाहालका समूह बाँडिएका छन् । दुबै पक्षले जिल्ला जिल्लामा छुट्टा छुट्टै कार्यक्रम गर्ने क्रम पनि जारी राखेका छन् । 

सुदूरपश्चिमबाट नेकपाका तर्फबाट प्रतिनिधि सभामा १९ र राष्ट्रिय सभामा सात जना सांसद छन् । ओली पक्षले १४ जना सांसद आफ्नो पक्षमा रहेको दावी गरेको छ । नेकपाका स्थायी कमिटी सदस्य लेखराज भट्ट (कैलाली), भैरवबहादुर सिंह (बझाङ), लाल बहादुर थापा (बाजुरा) र गणेश ठगुन्ना (दार्चुला) ओलीको समर्थनमा छन् । डोटीका प्रेम आले, बैतडीका दामोदर भण्डारी, कञ्चनपुरका नरबहादुर धामी, निरु पाल, विनादेवी बुढाथोकी, कैलालीका नारदमुनी राना, लक्ष्मी चौधरी, डडेल्धुराकी निरादेवी जैरु, बझाङकी आशा विक पनि ओली पक्षमा रहेको बताईएको छ ।

कैलालीबाट निर्वाचित गौरी शंकर थारुले कसैको पक्ष विपक्षमा भन्दा पार्टीको सुदृढ एकताको पक्षमा भएको बताएका छन् । नेकपाका सुदूरपश्चिम ईञ्चार्ज भीम रावल कैलालीबाट निर्वाचित झपट रावल, अछामका यज्ञ बोगटी र कञ्चनपुरवाट निर्वाचित दीपक भट्ट, पार्टी अध्यक्ष दाहालकी वुहारी संघीय सांसद खानेपानी मन्त्री बिना मगरले प्रचण्ड–माधव समूहलाई साथ दिएकी छन् । कैलालीबाट निर्वाचित गौरी शंकर थारु पनि प्रचण्ड–माधव समूहलाई साथ दिए सुदूरपश्चिमबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने १९ जना मध्ये १३ जना अध्यक्ष ओलीको पक्षमा र छ जना प्रचण्ड–माधव समूहमा हुनेछन् ।

ओली पक्ष प्रतिनिधि सभामा बलियो भएपनि सुदूरपश्चिमबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसद र सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरुमा भने कमजोर देखिएको छ । सुदूरपश्चिममा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सात जना सांसद मध्ये चार जना प्रचण्ड–माधव पक्षमा देखिएका छन् । कैलालीबाट निर्वाचित शारदा भट्ट, अछामका तारामान स्वाँर, शेरवहादुर कुँवर कैलालीका हरिराम चौधरी उत्सव सहित चार जना प्रचण्ड र माधव नेपाल पक्षमा रहेको स्रोतले बतायो । राष्ट्रिय सभाका  सांसद चक्र स्नेही, महेश महरा र ईन्दु कडरियाले ओली पक्षलाई साथ दिएकी छन् । ओली पक्षले सुदूरपश्चिमबाट केन्द्रीय सदस्य रहेका ३६ जनामध्ये २६ जना आफ्नो पक्षमा रहेको जनाएको छ । सुदूरपश्चिम प्रदेश सभामा नेकपाका तर्फबाट ३९ जना सदस्य रहेका छन् । जसमध्ये ३३ जनाले प्रचण्ड–माधव समूहलाई समर्थन गरेको बताईएको छ । बाँकी पाँच जना मात्र अध्यक्ष ओलीको पक्षमा देखिएका छन् । 

नेकपा सचिवालय र स्थायी समितिमा समेत अल्पमतमा देखिएका अध्यक्ष ओली सुदूरपश्चिममा पनि कमजोर देखिएका छन् । अध्यक्ष प्रचण्डलाई नेकपाका बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल  र बामदेव गौतमले समेत साथ दिएपछि ओली पक्षधरहरु कमजोर भएका छन् । केन्द्रदेखि जिल्लासम्म कमजोर देखिएपछि नै ओलीको ईच्छामा जिल्ला जिल्लामा ओली समूहले प्रदर्शन गरिरहेको छ । उनीहरुले आज होईन, भोलीलाई पाँच वर्ष ओलीलाई नारा लगाउदै पाँच वर्षसम्म कुनै पनि बहानामा ओलीलाई सरकारबाट हटाउन नहुने भन्दै सडक मार्फत दवाव दिएका छन् । बिघट्नको संघारबाट पटक पटक जोगिएको नेकपा यस पटक पनि जोगिने अपेक्षा त गरिएको छ, तर ओलीलाई आफ्ना सबै सर्त मान्न बाध्य गराउने रणनीतिमा प्रचण्ड–माधव समूह जुटेको छ । आफ्नो अवस्था कमजोर देखेपछि ओलीले पहिले जस्तो दम्भ र पेलेर जाने अभिव्यक्ति कम्तिमा यो पटक दिएका छैनन । केन्द्रमा रक्षात्मक देखिएका ओली सुदूरपश्चिममा पनि रक्षात्मक अवस्थामा छन् ।

सुदूर पश्चिम प्रदेश सभामा सदस्य रहेका ३९ जना मध्ये मुख्यमन्त्री सहित ३३ जना प्रचण्ड–माधव समूहमा देखिएका छन् । सुदूर पश्चिमका सबै नेता तथा सांसदहरु पार्टी फुटाउन नहुने अझै एकताबद्ध भएर लैजानु पर्ने अडानमा रहेको नेकपाका एक जना नेताले बताए । यदपि दुबै पक्षले आआफ्नो शक्ति आंकलन भने गरिरहेका छन् । नेकपा स्रोतका अनुसार नेकपा संसदीय दल सुदूरपश्चिम प्रदेश सभाका नेता तथा मुख्यमन्त्री त्रिलोचन भट्ट, उपनेता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह, प्रमुख सचेतक तारा लामा तामाङ, सचेतक अक्कल बहादुर रावल सहित ३३ जना सांसद प्रचण्ड–माधव समूहमा छन् । यो संख्या भित्र तटस्थ भूमिका रहेका सभामुख अर्जुन बहादुर थापा र उपसभामुख निर्मला जोशी बडाल पनि पर्छन ।
ओली समूहमा प्रष्टसँग खुलेका तीन जना सांसद मात्र छन् ।

नेकपा कैलालीका अध्यक्ष तथा प्रदेश सांसद रतन थापा, नेपालु चौधरी र डडेल्धुराबाट प्रदेश सभामा निर्वाचित पठान सिंह बोहरा सहित तीन जना ओली समूहका प्रष्टसंग खुलेका सांसद हुन् । सुदूरपश्चिम प्रदेश सरकारमा ओली पक्षका एक जना मात्र मन्त्री छन्  । जो पठान सिंह बोहरा हुन् । बाँकी सबै प्रचण्ड–माधव समूहका हुन् । त्यही कारण पनि बोहरा एकातिर र  अन्य मन्त्री मुख्यमन्त्री एकातिर छन् । बजेट बनाउँदा पनि बोहराले प्रदेश सरकारको दवाव अस्वीकार गरेर फरक मत राखेका थिए । उनलाई मुख्यमन्त्री भट्ट र आर्थिक मामिला मन्त्री झपट बोहराले केही सांसदको ईच्छा पुरा गर्न टुक्रे योजना राख्न दवाव दिएको आरोप छ । आर्थिक मामिला मन्त्री बोहरा, प्रदेश सभा सदस्यद्धय कुन्ती जोशी र लिलाधर भट्ट दुबै पक्षतिर देखिने भएपनि उनीहरु कतातिर भन्ने खुलेको छैन । भट्ट पहिलेदेखि नै ओली पक्षधर हुन् । बोहराको नेकपाका नेता भीम रावल र लेखराज भट्ट दुबैसंग राम्रो सम्बन्ध छ । प्रदेश सभा सदस्य जोशी नेता भट्ट निकट मानिन्छन । 

प्रदेश सभाको निर्वाचनमा एकलौटी रुपमा भीम रावलले टिकट बाडेका कारण प्रदेश सरकार र संसदीय दलमा प्रचण्ड–माधव समूह बलियो देखिएको हो । त्रिलोचन भट्टलाई लेखराज भट्टले मुख्यमन्त्री बनाएका हुन् । तर अहिले मुख्यमन्त्री भट्ट पद जोगाउनका लागि रावलको पक्षमा छन् । यद्दपि मुख्यमन्त्री भट्टको पक्षमा भने रावल पक्षधर सांसदहरु नै छैनन । मुख्यमन्त्रीले काम गर्न नसकेको भन्दै उनलाई हटाउनु पर्ने रावल पक्षधरहरु सांसदहरु अडानमा छन् । साउनभित्र प्रदेश सरकार फेरबदल गर्न अधिकांश सांसदहरुले नेता रावललाई दवाव दिएका छन् । रावलकै पक्षमा गएपनि मुख्यमन्त्री भट्टको पद भने जोगिने देखिन्न । अछामबाट प्रदेश सभा सदस्य रहेका बल बहादुर सोडारी, अक्कल रावल, झपट बोहरा, हर्क कुवँर पनि प्रचण्ड– माधव समूहमा छन् । त्यसैगरी बाजुराबाट निर्बाचित प्रकाश शाह र बलदेव रेग्मी प्रचण्ड– माधव  समूहमा छन् ।  दार्चुलाका मान बहादुर धामी, ग्याल्वुसिंह बोहरा र उपसभामुख निर्मला बडाल जोशी पनि प्रचण्ड–माधव समूहमा छन्  । कञ्चनपुरबाट मान बहादुर सुनार, प्रकाश रावल, लाल बहादुर खड्का, महेश दत्त जोशी, कुलवीर चौधरी र नेकपा संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङ पनि प्रचण्ड–माधव  समूहमा छन् ।

कैलालीबाट निर्वाचित रतन थापा, र नेपालु चौधरी ओली पक्षमा छन् । नन्द बहादुर साँउद, बीरमान चौधरी, अमर साउँद, दीर्घ सोडारी, कृष्णराज सुवेदी, नेपालु चौधरी, चुनकुमारी, सुशिला बुढाथोकी, बिनिता चौधरी प्रचण्ड– माधव  समूहमा  रहेको स्रोतले बतायो । डोटीबाट निर्बाचित मुख्यमन्त्री त्रिलोचन भट्ट, पूर्णा जोशी र अर्चना गहतराज पनि प्रचण्ड– माधव  समूहमा नै छन् । स्रोतले दिएको जानकारी अनुसार बझाङबाट निर्वाचित प्रदेश सभाका सभामुख अर्जुन जंग थापा, देवकी मल्ल, शान्ति नेपाली, माया तामाङ बोहरा पनि प्रचण्ड–माधव  समूहमा छन् । बैतडीबाट निर्वाचित लिलाधर भट्ट ओली पक्षधर मानिन्छन् । यदपि उनी घनश्याम भुषालसँग निकट मानिन्छन । त्यस कारण उनलाई दुवै समूहले आआफ्नो समूहमा राखेका छन् । बैतडीबाट निर्वाचित माया भट्ट र  प्रेमप्रकाश भट्ट पनि प्रचण्ड–माधव समूहमा छन् । यदपि प्रदेश सभाका सांसदहरुले अहिलेसम्म कुनै समूहको लविङ नगरेको नेकपाका एक नेताले बताए । यतिबेला गुट बलियो बनाउने भन्दा पार्टी बलियो बनाउनु पर्छ भन्ने सबै नेताहरुको अडान छ ।