२७ लाखमा निर्माण गरिएको पार्क दुई दिनमै भत्कियो !
2020/07/17, 2:28
 
park

बैतडीमा २७ लाखको लागतमा निर्माण गरिएको हरित पार्क दुई दिन नबित्दै भत्किएको छ । शिवनाथ गाउँपालिका १ मा निर्माण गरिएको पार्क अविरल वर्षाले दुई दिनमै भत्किएको हो । उपभोक्ता समिति मार्फत निर्माण सम्पन्न गरिएको पार्कको भुक्तानी प्रक्रिया अन्तिम चरणमा पुगेको थियो । तर २ दिनमै पार्क भत्किएपछि वडा कार्यालयले भुक्तानीका लागि सिफारिस गरेको छैन ।

उपभोक्ता समिति मार्फत निर्माण भईरहेको पार्कको भुक्तानी नभएको सूचना अधिकारी टंक प्रसाद पन्तले बताए । शिवनाथ गाउँपालिकाले वातावरण विभागसँगको साझेदारीमा झन्डै २७ लाखमा पार्क निर्माण गरेको हो । यसमा गाउँपालिकाको ४ लाख २४ हजार र विभागको २३ लाख खर्च आएको थियो । शिवनाथ गाउँपालिका–१ मा निर्माण गरिएको दुई दिनमै भत्किएको भूमिराज हरित पार्क निर्माण कार्य गुपचुप रूपमा गरिएको पाईएको छ ।

गाउँपालिका कार्यालयले आर्थिक अनियमितता गर्ने नियत राखेर वडा कार्यालयलाई जानकारी नदिएरै पार्क निर्माण गरेको पाइएको हो । पार्क निर्माण उपभोक्ता समितिले भुक्तानीका लागि सिफारिस मागेपछि मात्रै वडा कार्यालयले पार्क निर्माणको जानकारी पाएको जनाएको छ । त्यसअघि उपभोक्ता समिति गठनदेखि वडा कार्यालयलाई जानकारी नदिई गुपचुप निर्माण गरिएको वडाध्यक्ष करण पार्कीले बताए । उपभोक्ता समितिका अध्यक्षले भुक्तानीका लागि सिफारिस मागे मात्रै आफूले जानकारी पाएको बताए । 

पार्क निर्माण समिति गठन गर्दा वडालाई कुनै जानकारी नदिएको र योजना सम्झौता हुँदा पनि वडाको सिफारिस नमागिएको उनले बताए । योजना परिफराकको लागि मात्र उपभोक्ता समिति अध्यक्षले फोन मार्फत वडाबाट सिफारिस दिनु पर्छ भन्दा आफुले थाहा पाएको उनको भनाई छ । पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष जगदीश सुनीले गाउँपालिका कार्यालयको सिफारिस लगेर योजना सम्झौता गरिएको बताए ।

योजना सम्झौता गर्दा र समिति गठन गर्दा वडा समितिलाई जानकारी नगराएर सम्झौताको लागि सिधै गाउँपालिकाबाट सिफारिस लगेर सम्झौता गरिएको बताए । गाउँपालिका प्रमुख कर्ण साउँद र प्रमुख प्रशासकीय अधिकृत धु्रव दयालले पार्कको पर्खाल भत्किएपछि भुक्तानी सहज गर्न ईन्जिनियर कमल ओझालाई कम मूल्याङ्कन गर्न लगाएका छन् ।

पार्क निर्माणको लगतभन्दा कम १७ लाखको प्राविधिक मूल्याङ्कन गरिएको छ । एकातिर गाउँपालिकाले पार्क बनाउन छनौट गरिएको स्थान भन्दा अर्को स्थानमा नै पार्क निर्माण गरेको पाइएको छ । यस अघि भूमिराज सामुदायिक वनमा निर्माणका लागि प्रस्ताव पारित गरिएको पार्क आर्थिक चलखेलका लागि गोप्य रूपमा अमरगठी सामुदायिक वनमा लगिएको हो ।