कविता: भिटामिन 
2020/07/18, 9:51
 
kabita

पढ्नलाई 
कुशल पाठशाला 
त्यो सहर पठाएको छोरो 
केही बर्ष पछि घर फर्कन्छ !
र पढाउन थाल्छ आमालाई
भिटामिन को पाठ ।
'स्वस्थ रहन सन्तुलित आहार चाहिन्छ,
सन्तुलित आहारमा नै भिटामिन पाइन्छ ।'
आँखाको ज्योति बलियो बढाउन
र शरीरको हाड दरिलो बनाउन 
शरीरलाई भिटामिन 'ए' चाहिन्छ ।
जुन अण्डा, दुध, माछा, सागमा पाइन्छ ।
छोराले यसो भनिरहँदा,
आमा सम्झिन्छिन् !
दुध, घिउ बेचेर पैसा कमाएको कुरा ।
आँखाको डाक्टरले,
माछा, मासु, हरियो खानुहोला भन्दा,
साग बेचेर छोरालाई पैसा पठाएको कुरा ।
अझ बढी सम्झिन्छिन्
छोरालाई पठाएको घिउमा भिटामिन थियो कि थिएन भनेर !
'आमा !
दाँत बलियो बनाउन त भिटामिन 'डी' चाहिन्छ 
र यो सूर्यको किरणमा सबैभन्दा बढी पाइन्छ ।'
मुसाले खाएका घोगाका जस्तै 
देखिने, थोते दाँत देखाएर हाँस्दै 
आमा सम्झिन्छिन् 
सदरमुकाम जाँदाको त्यो टन्टलापुर घाम । 
आगो जस्तै घामको रापमा बस्दा पनी 
त्यो गिजामा दाँत बस्न किन मान्दैनन् ?
उनलाई जान्न मन छ, 
उमेर नपुग्दै झरेका 
दाँतले चपाउन किन जान्दैनन् ।
छोरो फेरी सुरु गर्छ भिटामिन को पाठ ।
महिला तथा पुरुषको
बाँझोपन बाट बचाउन भिटामिन 'ई' चाहिन्छ 
यो तेल, साग, दुध, अण्डा, माछा मासुमा पाइन्छ ।
उनी झट्ट सम्झिन्छिन् 
बाँझोपन देखाएर परिवारले घर निकाला गरेकी
बाँझोखेत झैं जोत्न छोडिएकी कलिली चेली लाई ।
सोच्छिन्,
बाँझोपन हट्ने भए 
सागपात बेचेर 
मासु किनेर
मासुकै आहार खुवाउँथे छोरीलाई ।
र बनाउथे भिटामिन युक्त ।
हटाउँथे त्यो दोशी बाँझोपन ।
अनी बनाइदिन्थे बाँझोपन मुक्त ।
अरु पनी धेरै कुरा सोच्छिन आमा, 
पश्चातापले आफूलाई  घोचि रहन्छिन ।
र अनुमति बिना बाहिर खस्न नमान्ने
सुख र शान्ति लाई राम्ररी जान्दै नजान्ने 
ति बफादार आँसुलाई सम्झाई~बुझाई गरी
लड्नै आँटेको चस्मा सोझ्याउदै
'अगाडि भन बा' भन्छिन् ।
अब पालो भिटामिन 'के' को ।
रक्तश्राब रोक्न र रगत जमाउन भिटामिन 'के' चाहिन्छ ।
यो फलफूल, गेडागुडी, काउली, दुध, माछा, मासुमा पाइन्छ ।
रक्तश्राब सुन्ने बित्तिकै 
आमा सम्झिन्छिन् ! 
महिनावारीको बेला,
छाउगोठमा सर्पको 
टोकाई ले मरेकी जेठी छोरीलाई ।
सोच्छिन्
यदि रक्तश्राब रोकिन्थ्यो त ! 
छोरीलाई महिनावारी मै भएपनि 
दुध मात्रै खुवाएर बचाउँथे होला ।
भिटामिन 'बी' ले पाचन प्रणाली मा सहयोग गर्दछ ।
यो बर्षाको पानी, चामल, दुध, गेडागुडी, दाल मा हुन्छ ।
आमा सम्झिन्छिन्, पोहोरको बर्षा ।
पानीमा रुझ्दै रोपाई गर्दा पेट काटेको कुरा ।
उनलाई जान्न मन छ, 
बर्षाको पानीमा भिज्दा पनि पेट किन काटेको ?
हुनसक्छ, सायद भिटामिन ले गरिवलाई ढाँटेको ।
'आमा, हाम्रो कागतीको बोट फल्ने भयो होला है ?
कागती बाट भिटामिन 'सी' पाइन्छ ।
दाँत र छालाको लागी यो चाहिन्छ ।'
अब, आमा फेरी सम्झिन्छिन् ! 
परारको बाढी र पहिरोले 
कागती, सुन्तला, भोगटे, नास्पाती सब बगाएको कुरा ।
बर्षाले सेरा छेउको पुरा बारी, आधा खेत लगेको कुरा ।
छोरो फेरी भन्छ !   
'स्वस्थ रहन सन्तुलित आहार चाहिन्छ,
सन्तुलित आहारमा नै भिटामिन पाइन्छ ।'
आमा खुसी हुंदै सम्झिन्छिन्,
आफ्नो नित्य सन्तुलित आहार ।
खानामा खोले, गुन्द्रुक, सिस्नु, ढिंडो आदि ।
खाजामा भट्मास, मकै, चिउरा, कोदो इत्यादि ।
तर भिटामिन मिल्थ्यो या मिल्थेन? 
उनलाई जान्न मन छ । 
मनमनै भन्छिन्, 
'खैर केई छैन, मेरो छोरोले त भिटामिन पढेर आएको छ ।'
मदन राज (मनु)
धनगढी, कैलाली ।