कैलालीको लम्कीचुहा नगरपालिकाको नगर उद्यान निर्माणमा अनियमिता
2020/07/18, 1:30
 
park

लम्की चुहा नगरपालिकाले निर्माण गरेको नगर उद्यानमा आर्थिक अनियमितता भएको महालेखा परीक्षकको कार्यालयले आशंका गरेको छ । आर्थिक बर्ष २०७५÷०७६ मा नगरपालिकाले वडा नम्बर २ र ५ मा पर्ने मोहनलाल सामुदायिक बनमा नगर उद्यान निर्माण गरेको थियो । उद्यानको सुरक्षाका लागि निर्माण गरिएको पर्खालको उचाई कम भएकोले त्यसमा अनियमितता भएको महालेखाले आशंका गरेको हो । महालेखाको ५७ औं बार्षिक प्रतिवेदनको ५६१ नम्बर पेजमा लम्की चुहा नगरपालिकाले निर्माण गरेको उद्यान र पर्खाल निर्माण कार्यमा दोहोरोपना भएको समेत उल्लेख गरिएको छ ।

सो उद्यानमा लम्की चुहा नगरपालिकाका साथै डिभिजन बन कार्यालय पहलमानपुरले पनि रकम खर्च गरेको छ । नगरपालिकाको १ करोड ५० लाख र डिभिजन वन कार्यालयको १४ लाख रुपैया उद्यानमा खर्च गरिएको छ । उद्यानको सुरक्षाका लागि भन्दै निर्माण गरिएको पर्खालको उचाई साढे तीन फिट मात्रै रहेकोले सो पर्खालबाट उद्यानको सुरक्षा हुने कुरामा विश्वस्त हुन नसकिएको प्रतिवेदनमा उल्लेख छ । महालेखाले सो पर्खाल र उद्यान निर्माणमा लागेको खर्चको प्रभावकारिता यकिन गर्न सुझाव समेत दिएको छ ।

उद्यान निर्माणका लागि नगरपालिकाले १ करोड ३३ लाख भुक्तानी गरेको छ । एउटै सामुदायिक वनमा निर्माण गर्ने उद्यानका लागि नियम विपरित दुई वटा उपभोक्ता समिति बनाईएको र उद्यान निर्माण सुरु गर्नभन्दा पहिले नै विस्तृत परियोजना प्रतिवेदन र गुरुयोजना तयार गरेको हुनुपर्नेमा त्यसो नगरिएको प्रतिवदेनले जनाएको छ । 

1

एक परामर्शदाता कम्पनीलाई उद्यानको सर्वे गरे बापत ९ लाख ८१ हजार भुक्तानी दिईएको छ । तर त्यो परामर्श कम्पनीले सर्वे प्रतिवेदन बुझाएको छैन् । प्रतिवेदन नबुझाईकनै रकम भुक्तानी गरिएकोले सो रकम समेत अनियमितता भएको हुनसक्ने सम्भावना रहने महालेखाको प्रतिवेदनमा उल्लेख छ । उपभेक्ता समिति मार्फत काम गर्दा गरिने लागत अनुममनमा उपभोक्ताको योगदानको अंश पनि समावेश गर्नपर्ने खरीद ऐनमा नियम छ । तर दुई वटा उपभोक्ता समिति बनाएर उद्यान निर्माण गरेको नगरपालिकाले कुनै पनि उपभोक्ता समितिको योगदानको अंश लागत अनुमानमा समेटेको छैन । निर्माण गरिएको पर्खालको कति क्षेत्रफल कुन उपभोक्ता समितिको भन्ने समेत नखुलाइएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।