साग : भारतीय कम्पनीले दिएको ६ ओटै चेक बाउन्स !
2020/05/14, 7:35
 
sagg

देश भित्रका सञ्चारमाध्यमसँग प्रत्यक्ष प्रसारण गर्ने क्षमता नभएको भन्दै गत वर्ष आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रसारण अधिकार भारतीय कम्पनीलाई विक्री गरिएको थियो । तर साग सकिएको ५ महिना बितिसक्दा पनि सम्झौता अनुसार रकम भुक्तानीका लागि दिएको ६ ओटै चेक बाउन्स भएको खुलासा भएको छ ।

भारतीय कम्पनी नक्षत्र न्यूज (एनके) मिडियाले ८ करोड रुपैयाँमा सागको प्रसारण अधिकार खरिद गरेको थियो । १३ औं साग काठमाडौं, पोखरा र जनकपुरमा मंसिर १५ देखि २४ गते सम्म आयोजना भएको थियो । प्रसारण विक्रीबाट प्राप्त हुने रकममध्य आधा साग आयोजनाको आधिकारिक निकाय दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) र आधा रकम स्थानिय आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पाउने बताइएको थियो ।

तर, दुवै निकायले अहिले सम्म कत्ति पनि रकम प्राप्त गरेका छैनन् । साग सुरु हुनु दुई साता अघि नेपाल ओलम्पिक कमिटी (एनओसी), राखेप र एनके मिडियाकाबीच प्रसारण अधिकारका विषयमा सम्झौता भएको थियो । सागलाई अन्तर्राष्ट्रिय रुपमा प्रचार प्रसार गर्ने गर्ने भन्दै फिस्कल एजेन्टलाई जिम्मा दिइएको थियो ।

मंसिर १ गते काठमाडौंमा आयोजित कार्यक्रममा राखेपका तर्फबाट सदस्य सचिव रमेशकुमार सिलवाल, त्यति बेला एसएओसीका समेत महासचिव रहेका एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठ, एनकेका प्रभात रन्जन मल्लिक र फिस्कल एजेन्टका प्रियानाथ चतुराजोपाध्ययले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । हालसम्म सम्झौता अनुरुप एक रुपैयाँ पनि प्राप्त नभएको राखेप सदस्य सचिव सिलवालले जानकारी दिए ।

उनले रकम भुक्तानी एनओसीलाई हुनुपर्ने र त्यसबाट राखेपले पाउनु पर्ने भएकाले त्यस विषयमा एनओसीसँग पटक पटक छलफल भएको बताए । एनओसीका महासचिव श्रेष्ठले भने एनके मिडियाबाट ६ वटा चेक प्राप्त भएपनि त्यो खातामा रकम नभएको बताएका छन् ।

‘लकडाउन हुनु केहि दिन अघि उनीहरुसँग कुरा भएको थियो,’ श्रेष्ठले भने, ‘दुवै पक्ष बसेर यो विषय टुंग्याउनु पर्छ भनेका थिए । अहिले भने त्यो प्रक्रिया रोकिएको छ ।’ रकम प्राप्त नभएमा भने कानुनी प्रक्रियामा जाने श्रेष्ठले बताएका छन् । उनले भने, ‘हामी ताकेता गर्नेछौं । सम्झौता अनुसार भुक्तानी भएन भने मुद्दामा जानुको विकल्प छैन । ‘

सम्झौताअनुसार एनके मिडियाले २६ वटै खेलको प्रत्यक्ष प्रसारण गर्ने बताएको थियो । प्रत्यक्ष प्रसारणका लागि प्राप्त हुने विज्ञापन को रकम भने राखेपले नै पाउने सम्झौता रहेको कार्यक्रममा बताइएको थियो । तर, एनकेले आफै कुनै पनि खेलको प्रत्यक्ष प्रसारण गर्न नसकेर अन्तमा नेपाली टेलिभिजनहरुकै साहरा लिनुपरेको थियो । धेरै खेल नेपाल टेलिभजन र अन्य केहि खेल अन्य टेलिभजनले प्रत्यक्ष प्रसारण गरेको थिए । एनओसीकै रोहबरमा एनके र नेपाल टेलिभिजनबीच प्रत्यक्ष प्रसारणका लागि २ करोडको सम्झौता भएको थियो ।

 

देशकै विभिन्न सञ्चार माध्यमसंग छलफल गरेपनि नेपालका टेलिभिजनसँग सबै खेलको प्रत्यक्ष प्रशारण गर्ने क्षमता नभएपछि एनकेलाई प्रसारण अधिकार बेचिएको कार्यक्रममा राखेप सदस्य सचिव सिलवालले बताएका थिए । कार्यक्रममा सागमा करिब २ सय क्यामेरा प्रयोग हुने र प्रसारणको गुणस्तर पनि अन्तराष्ट्रिय स्तरको हुने दाबी गरिएको थियो । तर, दाबी अनुसार त्यस्तो केहि भएन ।

प्रसारण अधिकार बेचिएपछि राखेप निकै विवाद परेको थियो । सम्झौतामा आयोजक संस्थाका आधिकारिक फोटोग्राफर बाहेक अन्य कुनै फोटोग्राफरले फोटो खिच्न नपाउने, भिडियो खिच्न प्रतिबन्ध लगाएको थियो । टेलिभिजनका लागि फुटेज, पत्रपत्रिका र अनलाइनका लागि फोटोहरु सागको मिडिया सेन्टरबाटै दिने व्यवस्था गरिएको सम्झौतामा उल्लेख गरिएको थियो ।

खेलकुद पत्रकारहरुको संस्था नेपाल खेलकुद पत्रकार मञ्च र पिजे क्लबको विरोध पछि आयोजक र प्रसारण अधिकार किन्ने कम्पनी सुरुमा फोटोग्राफरलाई फोटो खिच्न दिन तयार भएका थिए । त्यसपछि पनि विवाद मत्थर नहुँदा स्थानिय टेलिभजिनलाई एक मिनेटको भिडियो फुटेज खिच्न दिन एनके मिडिया, राखेप, एनओसी तयार भएका थिए । तर, साग सकिएको यति लामो समय सम्म एनके मिडियाले भुक्तानी नगर्दा एनओसी र राखेप नाजवाफ भएका छन् ।