ऋतु कनोजिया– ‘खेलाडी त के कप्तान पनि चिन्दैनन्’
2020/05/14, 7:37
 
ritu

मेरो जन्म विसं.२०३९ सालमा बैतडीको गढीमा भएको हो । बालमन्दिरमा दाईहरु खेल्नुहुन्थ्यो । म पनि १०–१२ वर्षको हुँदा देखि नै दाईहरुसँग क्रिकेट खेल्न थालें । मलाई घरबाट क्रिकेट खेल्न कुनै कठिन भएन । भाई कराते खेल्थ्यो । बुबाले कहिले केहि भन्नु भएन । मम्मी त २१ वर्ष अघिनै वित्नु भएको हो ।

त्यतिबेला ब्याट बल आफ्नो व्यक्तिगत हुँदैन थियो । क्षेत्रले दिन्थ्यो । क्याम्प (बन्द्र प्रशिक्षण) मा जाँदा त्यहि क्षेत्रको सामाग्री लगेर जान्थ्यौं । घरमा खेल्दा दाईहरुले दिनुहुन्थ्यो । सुरुमा मजाको बल अनि टेनिस बलले खेलियो । २०६४ सालमा हामी पहिलो पटक बैतडी जिल्लाबाट डडेल्धुरा क्षेत्रिय छनोट खेल्न गएका थियौं । क्षेत्रीय छनोट खेलेर डडेल्धुराबाटै हामी राष्ट्रिय प्रतियोगिता खेल्न काठमाडौं गयौं । क्षेत्र नम्बर ६ को कप्तान म थिएँ । जसमा फाइनलमा नेपालगञ्जसँग पराजित हुन पुगेका थियौं । त्यसपछि क्याम्पमा परें ।

बन्द प्रशिक्षणपछि नेरी थापाको कप्तानीमा राष्ट्रिय टोली घोषणा भयो । हाम्रो जिल्लाबाट माया रावत साउद र म टोलीमा परेका थियौं । अनि हामी मलेसियामा एसिसी वुमन्स प्रतियोगिता खेल्न गयौं । जुन नेपाली महिला टोलीको पहिलो अन्तर्राष्ट्रिय खेल थियो । हामी दोस्रो भएर फर्कियौं । बंगलादेशसँग फाइलमा पराजित भएका थियौं । पहिलो प्रतियोगितामै राम्रो खेलेका थियौं । मेरो प्रर्दशन पनि ठिकै थियो । मैले ओपनिङ ब्याटिङ गरेको थिएँ ।

सन् २००९ मा मलेसियामा भएको एसिसी वुमन्स टि२० प्रतियोगिता मेरो कप्तानीमा खेलेका थियौं । मैले नेपालबाट यहि एक प्रतियोगितामा कप्तानी गरेको हुँ । हामी तेस्रो भएका थियौं । मैले कप्तानी गरेको प्रतियोगितामै रुविनाले डेब्यु गरेको हो । मैले पछिल्लो पटक नेपालबाट थाईल्यान्डमा गतवर्ष भएको विश्वकप छनोट खेलेको थिएँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भने बन्द प्रशिक्षणको क्रममा घुँडामा चोटका कारण खेल्न पाइन । अहिले डाक्टरको नियमित सल्लाहमा छु । क्रिकेटपछि प्रशिक्षकको सोच छ ।

क्रिकेट खेलेर सबैभन्दा पहिला आफ्नो जिल्लाको नाम आउँछ । नेपालको नाम आउँछ । नेपालमा पनि महिला क्रिकेटर छन् भन्ने भएको छ । हामीलाई पहिलाको नेपाली क्रिकेट टोलीको कप्तान हो भनेर धेरैले चिन्दैनन् । साह्रै नरमाईलो लाग्छ । सेवा सुविधा केहि छैन । तैपनि देश सम्झेर खेलिरहेका छौं । कहिले काहिँ सोच्छु मैले क्रिकेट किन खेलें होला । बरु ब्याडमिन्टननै खेलेको भए हुन्थ्यो ।

भारतको रणजी खेल्ने महिला खेलाडीले त्यति धेरै सुविधा पाउँछन् । नेपालमा सेवा सुविधा को कुरा छाडौं, कप्तानलाई चिन्नै मुश्किल पर्छ । १४–१५ वर्षदेखि क्रिकेट खेल्दै आएका छौं । तर हामीले के नै पायौं र । सरकार र क्यान दुवैले केहि हेरेनन् । अरुले हेर्दा क्रिकेट खेलेर धेरै कमाएँ होला भन्छन् । तर हाम्रो अवस्था कसैले बुझ्दैनन् ।

पहिला राष्ट्रिय प्रतियोगिता खेल्न काठमाडौंनै जानुपर्थ्यो । त्यतिबेला र अहिले महिला क्रिकेटको अवस्था लगभग उस्तै छ । अहिले पनि पहिलाको जस्तै नाजुक छ । सरकार र नेपाल क्रिकेट संघ (क्यान) ले केहि दिन सकेनन् । अब क्यानले १८ खेलाडीलाई मासिक तलब दिने भनेको छ । को– को पर्छन् त्यो हेर्न बाँकी छ ।

पहिला सबै क्रिकेट खेल्न आउँथे । अहिले आउँदैनन् । अहिले जिल्ला टिम बनाउनै गाह्रो पर्छ । पहिला जसरी पनि खेल्थे । पहिला क्षेत्रको टोलीमा बैतडीका खेलाडी सबैभन्दा धेरै हुन्थे । अहिले जिल्ला जिल्लामा क्यान छ । तर महिला क्रिकेट टोलीलाई केहि गर्न सकेको छैन । एउटा खाजा खर्च दिँदैनन् । अरु त केनै भनौं ।

पहिलोपटक क्षेत्रको छनोटको खेलमा कञ्चनपुरविरुद्ध ८९ रन हानेको थिएँ । क्षेत्रीय प्रतियोगितामा म उत्कृष्ट बलर र प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएको थिएँ । त्यो बेला ९ विकेट लिएको थिएँ । पहिला रन त्यति बेला खासै मतलब हुने थिएन । क्षेत्रिय प्रतियोगितामा म धेरै उत्कृष्ट बलर हुन्थे । प्रायः नेपालगञ्जसँग फाइनलमा भिड्थ्यौं । हारको अन्तर निकै झिनो हुन्थ्यो । बरु फराकिलो अन्तरले हार्दा त्यति पिडा र दुःख हुँदैन । जति ४–५ रन र १–२ विकेटले हार्दा हुन्छ ।

पाँचौ राष्ट्रियमा मेरो कप्तानीमा क्षेत्र नम्बर ६ ले गोल्ड मेडल जितेको थियो । २०६८ साल देखी भने एपिएफबाट खेल्न थाले । एपिएफसँग यो चैत्रमा सम्झौता सकिएको छ । सम्झौता नविकरण नभएको खण्डमा क्षेत्रबाटै खेल्ने तयारी छ । बैतडीमा अहिले पुरै टोली छैन । मञ्जु बोगटी, रेखा रावल, अञ्जली चन्द लगायतका खेलाडी छन् ।

एपिएफबाट खेल्ने बाहेक अन्य खेलाडीलाई खेल खेल्न जानु अघि घरबाट पैसा माग्नुपर्छ । प्रतियोगिता खेलेर आउँदा दिएको भत्ता जान आउन खर्चमै ठिक्क हुन्छ । जसले गर्दा घरकाले पनि गाली गर्ने नै भए । एपिएफका खेलाडीलाई पो क्लबले सेवा सुविधा दिन्छ । अन्य खेलाडीले सेवा सुविधा नपाएपछि खेल्न मन गर्दैनन् ।

नेपाली महिला क्रिकेटको लोकप्रियता पहिलाको तुलनामा घट्दो छ । पहिलाको भन्दा अहिले हाम्रो स्तर धेरै खस्केको छ । सुरुवात गर्दा भन्दापनि हामी धेरै तल खस्केका छौं । हामीले हराउने थाईल्यान्डले विश्वकप खेलिसकेको छ । हामीले पहिलो प्रतियोगिताको फाइनलमा हारेको बंगलादेश आज टेष्ट टोली बनेको छ । हामी भने जहाँ थियौं, अझ त्यो भन्दापनि बढी खस्किएका छौं ।

प्रशिक्षक परिवर्तन भईराख्छन् । एउटाले एउटा सिकाउँछ । फेरि अर्को आउँछ । उसले पनि अर्कै तरिकामा सिकाउँछ । खेलाडीलाई बुझ्न गाह्रो पर्छ । केटाहरुलाई जस्तै हामीलाई पनि दुई चार वर्षको लागि एउटै मात्र स्थायी प्रशिक्षक हुनुपर्छ । महिला टोलीको लागि महिला प्रशिक्षक महत्वपुर्ण र आवश्यकता देखिन्छ । केटिहरुलाई महिनमा एक पटक समस्या हुन्छ नै हुन्छ । महिनावारीको समयमा पेट दुखेको देखि सबै कुरा पुरुषलाई खुलेर भन्न सकिदैन । महिला प्रशिक्षक भए त सजिलो हुन्थ्यो होला ।

हामी अहिलेको अवस्थाबाट माथि उठ्न धेरै परिवर्तन गर्नुपर्छ । पहिला त घरेलु प्रतियोगिता धेरै भन्दा धेरै हुनुपर्छ । जसले गर्दा खेलाडी व्यस्त हुन्छन् । लोकप्रियता बढ्न सक्छ । युवा खेलाडी आकर्षित हुन्छ । अनि मात्र हामीले विश्वकप र त्योभन्दा माथि सोच राख्न सकिन्छ ।