सुदूरपश्चिम प्रदेशमा १२७ सामुदायिक वन वैज्ञानिक वनमा समाहित
2020/07/21, 7:45
 
ban

सुदूरपश्चिम प्रदेशमा १२७ वटा सामुदायिक वन वैज्ञानिक वनमा समाहित भएका छन् । प्रदेशमा गत आर्थिक वर्ष २०७६÷७७ सम्म सबैभन्दा बढी कैलालीमा ९२, कञ्चनपुरमा १२, डडेल्धुरामा पाँच, डोटीमा १०, बैतडी तीन, बाजुरा एक तथा अछाममा तीन गरी १२७ वटा सामुदायिक वन वैज्ञानिक वनमा समाहित भएका हुन् ।  

प्रदेशका सात जिल्लाभित्र ३४ हजार ४२२ दशमलव ९२ हेक्टर सामुदायिक वनभित्र वैज्ञानिक वन व्यवस्थापन लागू भएको प्रदेश वन निर्देशनालयले जनाएको छ । प्रदेशभित्र कूल १० लाख ८३ हजार ६७० हेक्टर वन क्षेत्र रहेकोमा तीन दशमलव १८ प्रतिशत भूभागभित्र वैज्ञानिक वन व्यवस्थापन लागू भएको सुदूरपश्चिम प्रदेश वन निर्देशनालय धनगढीका वन निर्देशक हेमराज विष्टले जानकारी दिए ।

तराईका २० जिल्लामा चार लाख ९३ हजार ३९९ हेक्टरमध्ये ५० प्रतिशत भुभागमा मात्र वैज्ञानिक वन व्यवस्थापन लागू गर्न सकियो हो भने वार्षिक १५ अर्ब राजस्व सङ्कलन गर्न सकिने बताउँदै विष्टले छदेखि १२ लाख व्यक्तीलाई रोजगारी दिन सकिने बताए । 

प्रदेशमा चालू आर्थिक वर्षमा पाँच लाख ४८ हजार ७४० क्वीफिट काठ र दुई हजार ८७५ चट्टा दाउरा सङ्कलन गर्ने प्रक्षेपण गरिएको सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले जनाएको छ । प्रदेशमा वैज्ञानिक वन लागू भएका १२७ वटा सामुदायिक वनमध्ये कैलालीका बाह्रवन र भारताल गरी दुई वटा वनमा साझेदारी वन व्यवस्थापन लागू भएको जनाएको छ ।

वि.स.२०७१ मा बाह्वन साझेदारी व्यवस्थापन समितिमा वैज्ञानिक वनको कार्ययोजना स्वीकृत भएको थियो भने भारतालको २०७६ मा कार्ययोजना स्वीकृत भएको डिभिजन वन कार्यालय कैलालीले जनाएको छ ।