पुष्करनाथ ओझालाई कारवाहीपछिको तरंगः कैलाली काग्रेंसमा कस्तो पर्ला प्रभाव ? 
2020/07/28, 8:37
 
rajniti

नेपाली काँग्रेसले पार्टी विधानको अनुशासन उल्लंघन गर्नेलाई कारवाही प्रक्रिया अगाडी वढाएपछि नेपाली काग्रेंस कैलाली दुई कित्तामा विभाजन भएको छ । काँग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पुष्करनाथ ओझालाई कारवाही गरेपछि कैलाली काग्रेंस दुई कित्तामा वाँडिएको छ । ओझालाई पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा कारवाहीको माग गर्दै उजूरी परेको थियो । त्यही उजुरीका आधारमा उनलाई ५ बर्षका लागि पार्टीबाट निष्कासित गरिएको थियो । उनलाई निष्कासित गरेपछि काग्रेंस कैलालीको राजनिति गर्मराएको हो । 

२०७० मा विजयी ओझालाई २०७४ मा अर्जुलाई हराएको आरोप
पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै कांग्रेसले पूर्व राज्यमन्त्री तथा महासमिति सदस्य पुष्करनाथ ओझालाई कारबाही गरिसकेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिको शनिबार बसेको बैठकले ओझालाई ५ वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो । अन्तिम स्पष्टीकरण चित्तबुझ्दो नभएको र अनुशासन समितिलाई प्राप्त सवुद प्रमाण अडियो र भिडियो पार्टी विधान विपरीत रहेको भन्दै कारबाही गरिएको शनिबार जारी विज्ञप्तीमा उल्लेख छ । ओझाले कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवालाई हराउन अन्तर्घात गरेको र सोही कारण उनलाई पार्टीबाट निष्कासन गरिएको चर्चा छ । 

२०७० सालको संविधान सभाको उप निर्वाचनमा साविकको कैलाली क्षेत्र नम्वर ६ मा नेपाली काग्रेंसका पुष्करनाथ ओझा विजयी भएका थिए । निकटम प्रतिद्धन्दी नेकपा एमालेका महेश्वर पाठकलाई २८२५ मतले हराउँदै ओझा विजयी भएका थिए । कुल खसेको ३९६५५ मतमध्ये ओझाले १४७८४ मत पाएका थिए । उनका निकटम प्रतिद्धन्दी पाठकले ११९५९ मत पाए ।  ओझा २०५६ सालको निर्वाचनमा विजयी भएका थिए । कैलाली क्षेत्र नम्वर ६ मा काग्रेंसकै वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री शेरवहादुर देउवाले छोडेपछि भएको उप निर्वाचनमा ओझा विजयी भएका थिए । यसअघि भएको निर्वाचनमा देउवाले १६४८९ मत पाएका थिए । महेश्वर पाठकले ८५६३ मत पाएकोमा उप निर्वाचनमा भने उनले मत संख्यामा वृद्धि गरेका थिए ।

नेपाली काग्रेसको बलियो पकड क्षेत्र भएकाले कैलाली क्षेत्र नम्बर ५ प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाको रोजाइमा परेको थियो । माइती क्षेत्र रहेको बर्दियामा उम्मेदवार बन्ने सुरुमा चर्चा चले पनि कैलाली क्षेत्र नम्बर ५ मा सुरक्षित ठानेर उनले त्यहाँबाट मनोनयन दर्ता गराएकी थिईन् । पार्टी भित्रको कलह, यस ठाउँमा नयाँ मान्छे हुनु,  आरजुलाई घेरामा राखिँदा मतदाताको पहुँच नपुग्नु, जातिय र भेगिय मत हुनु जस्ता कारण आरजुले हार वेहोरेको चर्चा थियो तर उनको हारमा ओझाको महत्वपुर्ण हात रहेको भन्दै आरोप लगाउँदै कारवाही भयो ।

२०७० सालको निर्वाचनको मत परिणाम हेर्दा आरजुले चुनाव जित्ने अधिकाशंको आकलन थियो । सुरक्षा निकायको आन्तरिक सूचनामा पनि उनले नै जित्ने रिपोर्ट थियो । कागं्रेसको वलियो पकड  क्षेत्र, उनको व्यक्तीत्व र प्रभाव जस्ता कारणले चुनाव जित्ने आकलन गरिएको थियो । ती सवै विश्लेषण र आकलनलाई गलत सावित गर्दै झण्डै पाँच हजारको फराकिलो मत अन्तरले एमालेका वैकल्पिक केन्द्रीय सदस्य नारदमुनि रानाले चुनाव जिते । २७ हजार दुई सय दुई मत ल्याएर राना विजयी भएका थिए । आरजुले २२ हजार तीन सय २२ मत प्राप्त गरेकी थिईन् । 

कारवाहीको स्वागत पनि विरोध पनि 
काग्रेंस कैलालीमा ओझालाई कारवाही भएपछि कतै यसको स्वागत र कतै यसको विरोध भईरहेको छ । कतिपयले कारवाहीको काम पार्टीमा बढेको संस्थागत बेतिथिलाई हटाउन सकारात्मक कदम मानेका छन् भने कतिपयले राजनितिक प्रतिसोध साध्नलाई गरिएको कारवाहीलाई अन्यायको संज्ञा दिएका छन् । नेपाली काग्रेंस कैलालीका उपसभापति प्रकाश बमले पार्टीको अनुशासन उल्लंघन गर्नेलाई नछोडिने बताए । उपसभापति प्रकाश बमले केन्द्रको कारवाही सिफारिसलाई सहमति गर्दै अनुमोदन गर्ने बताए । ‘कारवाही गर्ने भनेर केन्द्रको अनुसाशन समितिको निर्णय अनुसार सहमति भएको हो । यसलाई हामीले अनुमोदन गर्छौ ।’ उनले भने– ‘जिल्ला अनुशासन समिति मार्फत नै गएर कारवाही प्रक्रिया सुरु भएको होला । पार्टीलाई हराउन लाग्नेलाई पार्टीमा किन राख्नुपर्यो । यसले कैलाली काग्रेंसलाई केही फरक पार्दैन् । 

पार्टीको अनुसाशन समितिले गरेको निर्णयले पार्टी सुध्रिने भन्दै समर्थन गर्ने र विरोध गर्ने सवैलाई अधिकार रहेको बमले बताए । ‘राजीनामा दिने विरोध गर्ने कुरा ईच्छाको कुरा हो । त्यो गर्न पाउने सबैको स्वतन्त्रता छ । हाम्रो पार्टीमा यो सवै लोकतान्त्रिक प्रक्रिया भित्रैका हुन् ।’ उनले भने– ‘पार्टीको विचार नै नमिलेर कारवाही गरिएको होईन् । यसलाई पार्टीका ईमान्दार नेता कार्यकर्ताहरुलाई सही बाटोमा हिड्नका लागि प्रेरणा दिएको छ । यसलाई कसले कुन रुपमा लिन्छन् । त्यो सवैको आफ्नो स्वतन्त्रताको कुरा हो ।’

यता नेपाली कांग्रेस केन्द्रिय अनुशासन समितिले शनिबार कैलालीका नेता तथा पूर्व राज्यमन्त्री पुष्करनाथ ओझालाई पार्टीबाट निष्कासित गरेपछि कैलालीका केही नेता कार्यकर्ताले सो निर्णयको विरोध गरेका छन । उनीहरूले कांग्रेस सभापति देउवा पत्नी आरजु राणा देउवालाई धनगढीमा स्थापित गराउन ओझालाई कारबाही गरेको भन्दै अनुशासन विभागको निर्णय नमान्ने चेतावनी समेत दिएका छन् । कांग्रेस कैलालीका सचिव पूर्ण कुँवरले ओझालाई पार्टीबाट निष्कासित गरेपछि ‘अन्याय सहिदन्’ भन्दै स्टाटस लेखे । धनगढीमा आयातित मान्छेलाई ल्याउन ओझामाथि कारवाही गरिएकाले फिर्ता हुनुपर्ने माग पनि उनले गरे । ‘आयातित मान्छेहरुको अवसरका लागि अर्को पक्षलाई सक्काउने भनेरै लागेको पार्टीको एक तप्काकै स्वार्थमा ओझालाई कारवाही गरिएको हो ।

पुष्करनाथ ओझालाई आगामी महाधिवेशनबाट रोकेर देउवा पत्नी आरजु राणालाई अगाडी सार्ने योजनाका साथ पार्टीले कारबाहीको निर्णय गरेको हो ।’ जिल्ला सचिव कुँवरले भने– ‘यो निर्णय अमान्य छ । अन्यायपुर्ण छ । यसलाई पुर्नविचार गरियोस् भन्ने हाम्रो ठहर छ । यसका लागि पहिलो चरणमा ज्ञापनपत्र वुझाउने र त्यसपछि चरणबद्ध आन्दोलनमा उत्र्रिने विषयमा सवै साथीहरु सहमत भएका छन् । अव दबाबमुलक कार्यक्रम गरेर यसका विरुद्ध अगाडी बढ्छौं ।’ 

यसैबीच सोमबार कैलालीमा ओझाको गुटको भेला पनि गरियो । उनलाई कारबाही गर्ने निर्णयका विरुद्ध नेपाली कांग्रेस कैलालीका उनी पक्षीय नेताहरुले छलफल गरे । ओझा निकटका ४१ जनाको उपस्थितिमा भएको भेलामा सहभागी भएकाहरुले निर्णय फिर्ता गराउन दबाबमुलक कार्यक्रम गर्ने निष्कर्ष निकाले । पहिलो चरणमा पार्टी सभापति शेरवहादुर देउवालाई ज्ञापनपत्र वुझाउने र त्यसपछि चरणबद्ध आन्दोलन गर्ने निर्णय गरिएको छ । ओझामाथि लगाईएका आरोपहरु झुटो भएको भन्दै भेलाले निर्णय नसच्याए कडा आन्दोलनमा उत्र्रिने चेतावनी दियो ।

सो भेलामा कैलाली क्षेत्र नम्बर ५ का आउन सक्ने नेता तथा कार्यकर्ताहरुले मात्रै सहभागी भएको जिल्ला सचिव कुँवरले बताए । उनका अनुसार जिल्ला कार्य समितिका पदाधिकारीहरु महासमिति सदस्य, महासमिति प्रतिनिधि, विभिन्न वडा कार्य समिति, क्षेत्र कार्य समितिका पदाधिकारीहरु, विभिन्न भातृ संगठनका पदाधिकारीहरुका साथै नेपाली काग्रेंसका क्रियासिल सदस्यहरुको सहभागीतामा भेला गरिएको थियो । 

भातृ संगठनहरुको ह्वीप ‘गुटगत भेलामा सहभागी नहुनुस्’
ओझा पक्षका नेता कार्यकर्ताहरुले आयोजना गरेका गुटगत भेलामा सहभागी हुन कार्यकर्ताहरुलाई कांग्रेस निकट भातृ संगठनहरुले ह्वीप जारी गरे । पछिल्लो आन्तरिक घटनाक्रमको समीक्षा र आगामी महाधिवेशनको बारेमा छलफल गर्न भन्दै सोमबार ओझा पक्षका नेता कार्यकर्ताहरुले गुटको भेला आयोजना गरेका थिए । मंगलवार नेपाल विद्यार्थी संघ, तरुण दल र नेपाल महिला संघ कैलालीले संयुक्त विज्ञप्ती जारी गर्दै सम्वद्ध नेता तथा कार्यकर्ताहरुलाई अनुशासनको कारवाहीमा परेका ब्यक्तीको पक्ष पोषण गरि आयोजना गरिएका गुटगत भेलामा जो सुकै नेता तथा कार्यकर्ता सहभागी नहुन सचेत गराएको हो ।

नेपाल विद्यार्थी संघ कैलालीका सभापति भेष बहादुर बमले यो निर्णयले पार्टीको बिधान भन्दा माथि कोही हुदैन र हुन खोज्ने जो सुकैलाई दण्डित गर्छ भन्ने बलियो नजीर स्थापित गरेको बताए । उनले पार्टीको स्वार्थ भन्दा आफ्नो व्यक्तीगत स्वार्थलाई सर्वोपरी ठान्ने, ब्यक्तीगत दम्भ तथा प्रतिशोधको राजनीति गर्ने र धमिराको रुपमा पार्टी संगठनलाई आन्तरिक रुपमा खोक्रो बनाएर आफ्नो राजनीतिक भबिष्य उज्ज्वल देख्ने अन्र्तघातीहरुलाई यसरी नै अनुशासनको दायरा भित्र राख्यो भने मात्र पार्टी संगठित र बलियो हुने बताए । 

तीनै निर्वाचनमा चुनाव हराउन लागेकालाई कारवाहीको माग 
नेपाली कांग्रेसको अनुशासन समितिले कांग्रेसका चार जना नेतालाई साधारण सदस्य नै नरहने गरी कारवाही गरेपछि यो विषय फेरि उठेको छ । स्थानीय, प्रदेश र संघको निर्वाचनमा आफ्नै उमेदवारलाई चुनाव हराउन लागिपरेको भन्दै १२ सय बढी उजुरी कांग्रेसको अनुशासन समितिमा परेको थियो । अनुशासन समितिले केही समयअघि कांग्रेसका एक जना नेता महेन्द्र मल्लका विरुद्धमा निर्णय गरेको थियो भने शनिबार ३ जना नेतालाई साधारण सदस्यता समेत नरहने गरी निस्कासन गरेको छ । तर कांग्रेसमा १२ सय उजुरीकर्ताका निवेदन सामान्य ‘नोटिस’ मा मात्रै राखिएको छ ।

अनुशासन समितिको निर्णयको दोस्रो बुँदामा भनिएको छ, “स्थानीय, प्रदेश एवम् संघीय निर्वाचनको क्रममा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्तालाई आधिकारिक उमेदवारलाई असहयोग गरेको भनी नगर, वडा समिति, साविकको गाविस वा गाउँपालिका कार्यसमिति, नगर कार्यसमिति तथा साविकको क्षेत्रीय कार्यसमितिबाट सिफासिर भइ आएको र सम्बन्धित उम्मेदवारको समेत उजुरी परेको अवस्थाका उजुरीसँग सम्बन्धित आरोपीहरुलाई २०७६ साल वैशाख २६ गते स्पष्टीकरण सोध्ने कार्य भएको र निजहरुलाई नेपाली कांग्रेसको वृहत्तर हितमा कार्य गर्न सचेत गराउँदै आगामी दिनमा निजहरुले पार्टीमा खेल्ने भूमिका एवम् गतिविधि अनुसार मूल्यांकन गर्दै जाने कुरा समेत सूचित गर्ने निर्णय गरियो ।”

अनुशासन समितिका एक जना सदस्यका अनुसार १२ सय उजुरी परेको भए पनि उनीहरुलाई कुनै कारवाही गरिएन । “अहिले उहाँहरुलाई कारवाही गरिएको होइन,” उनले भने, “पार्टीको सदस्यता लिन र कुनै पनि समितिमा रहेर काम गर्न उहाँहरुलाई कुनै अप्ठेरो पर्दैन । यो भने एक प्रकारले उहाँहरु विरुद्धको निवेदन खारेजी जस्तै हो ।” धेरैजसो निवेदन निर्वाचनमा आफ्नै उमेदवार विरुद्ध लागेको आरोप थियो । कांग्रेसमा ३५ जिल्लाबाट १२ सय उजुरी परेका थिए ।

कारवाही निर्णयले कस्तो प्रभाव पर्ला ? 
आरजुले पार्टी भित्रको चरम गुटबन्दीका कारण हारेको बताईएको थियो । ‘आरजु चुनाव जित्थिन्, केही सीमित व्यक्तीले घेरामा राखेर जनतासम्म पुग्न दिएनन् । जातीय  र भेगीय मत पनि आरजुले तान्न नसकेको विश्लेषण गरिएको थियो । नेपाली काग्रेंसका यस क्षेत्रका नेता पुष्करनाथ ओझालाई आरजु विश्वासमा लिन सकिनन् । आरजु नजिक रहेका केहीले पुष्करनाथ ओझलाई टाढा धकल्ने काम गरेका थिए । २०७० सालको संविधान सभाको उपनिर्वाचनमा यस क्षेत्रवाट चुनाव जितेका पुष्करनाथ ओझा पक्षधर समुह असन्तुष्ट थिए । ओझा उनको प्रचारमा कतै पनि देखिएनन् । देउवाले पत्नीलाई उम्मेदवार बनाएर परिवारवाद लागू गरेको र त्याग गरेका स्थानीय नेतालाई अन्याय गरेको भन्दै ओझाका समर्थकले असहयोग गरेका थिए ।

यस क्षेत्रमा रानाथारूको जातिय मत र डोटेली समुदायको भेगीय मत बढी निर्णायक मान्ने गरिन्छ । आरजुले यी दुवै पक्षका मत प्रयास गरे बमोजिम तान्न सकिएको देखिएको थिएन । उनले रानाथारुका मत प्रभावित गर्न प्रदेशमा जीवन रानालाई उम्मेदवार बनाउन लगाईन् । सो निर्वाचनमा यहाँको नतिजामा निर्णायक मानिएको डोटी वाहुनका मत प्रभावित पार्न प्रदेशमा डिल्लीराज पन्तलाई उम्मेदवार बनाइएको थियो । उनी जिते पनि आर्जु भने पराजित भएकी थिईन् । पुष्करनाथ ओझाका समर्थकको असन्तुष्टिका कारण डोटी समुदायका वाहुनका पनि आरजुले आशा गरेको मत पाउन नसकेको राजनितिक विश्लेषकले बताएका थिए । 

धनगढी रहेको यो क्षेत्र (तत्कालीन निर्वाचन क्षेत्र ३ ) मा २०४८ मा नेपाली कांग्रेसका स्वर्गीय टेकबहादुर चोख्यालले चुनाव जितेका थिए । २०५१ धनगढी रहेको तत्कालीन निर्वाचन क्षेत्र ४ मा एमालेका महेश्वर पाठकले जितेका थिए । २०५६ मा काग्रेसका स्वर्गीय टेकबहादुर चोख्यालले चुनाव जितेका थिए । क्षेत्र नम्बर ६ मा २०६४ सालको संविधान सभामा माओवादीका लीला भण्डारीले चुनाव जितेकी थिईन् । २०७० सालमा प्रधानमन्त्री शेरबहादुर देउवाले जितेका थिए । उनले छाडेपछि उपनिर्वाचनमा कागं्रेसका पुष्करनाथ ओझाले जितेका थिए ।

नेता ओझालाई कारवाही गरेपछि अवको राजनिति के होला भन्ने विषयमा पनि चर्चा परिचर्चा हुन थालेको छ । कतिपय ओझाको स्थानीयस्तरम्म घुलमिल रहेकोले उनको कारवाहीको निर्णयले प्रभाव पार्ने आकलन गरिएको छ । जिल्लामा भन्दा अझ कैलाली क्षेत्र नम्बर ५ मा डोटीका मतको वाहुल्यता छ । अधिकांश वाहुन समुदायका मतदाताहरु छन । यसले आगामी निर्वाचनमा असर पर्न सक्ने नागरिक अगुवा प्रमोद पाठक बताउँछन् । तर पार्टीको अनुसान लाईन बलियो बनाउनका लागि गरिएका गतिविधि निष्पक्ष हुनुपर्ने उनको तर्क छ ।

‘ओझाका आफ्नै समुदाय र परिवारका सदस्यहरुको पनि मतको संख्या धेरै छ । यसले पार्टीलाई केही न केही त असर पर्छ ।’ उनले भने–‘कारवाही प्रक्रिया जे भएको छ । यो कसैलाई काखा कसैलाई पाखा गरिएको छ । यस्तो गर्नु हुदैन् । असहयोग गर्ने सवैलाई कारवाही भएमा पार्टीका नेताहरु मात्रै सुध्रिने होईन की मतदाताहरुलाई पनि यसले सकारात्मक सन्देश जान्छ ।’ निराश भएका र रिसाएका कार्यकर्तालाई रिझाउन सकेमा यसले अझ राम्रो हुने धारणा पनि पाठकको छ । 

डोटी वहुमुखी क्याम्पसका प्राध्यापक तथा विश्लेषक तिर्थराज जोशी पनि कैलाली काग्रेंस लथालिंग हुन्छ कि भन्ने चिन्ता लागेको बताउँछन् । दशककौदेखिको राजनितिक थलोमा नयाँ उम्मेदवारलाई गाहे पर्नसक्ने उनको विश्लेषण छ । ‘पार्टी भित्रको कलह, यस ठाउँमा नयाँ मान्छे हुनु,  आरजुलाई घेरामा राखिँदा मतदाताको पहुँच नपुग्नु, जातीय र भेगीय मत हुनु जस्ता कारणले पनि निर्वाचनमा प्रभाव पार्ने यसअघि भएको निर्वाचनमा देखिसकेका छौं ।’

उनले भने– ‘आरजु सक्षम नेता हुन तर उनलाई धेरै मतदाताहरुले चिनका छैनन् । पुष्कर त घर घरमा पुगेका छन् । आफ्नो पकड भएको ठाउँमा अर्कालाई ल्याउँदा रिस उठ्नु स्वभाविक हो । तर मनाउनुको ठाउँमा कारवाही गर्नु गलत हो । अव यसलाई कसरी मिलाउने भन्ने विषयमा पार्टी नेतृत्वले ध्यान दिनुपर्छ । नत्र नेपाली काग्रेंसलाई प्रभाव नपरे पनि आर्जु काग्रेंसलाई जित्न गाहे हुन्छ ।’