बाजुराको बडिमालिकामा तिर्थयात्रा सुरु
2020/07/30, 7:37
 
badi malika

बाजुरामा रहेको सुदुरपश्चिमको एक प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकाकमा तीर्थयात्रा जानेहरुको क्रम शुरु भएको छ । बाजुराको बडीमालिका मन्दिरमा जनैपूर्णिमाको अघिल्लो दिन मुख्य पूजाआजा हुने गर्छ । यस बर्ष बडीमालिकामा साउन १८ गते मूलपूजा गर्न मेला लाग्ने भएको छ ।  जिल्लाभित्र र बाहिरका तीर्थयात्री तथा पर्यटकहरू, यहाँ स्थित सरकारी कार्यालय र स्थानीय पर्यटकसहित भक्तजन परम्परा अनुसार एक हप्ता अगाडी नै बाहिरबाट आउने गरेका छन । बडीमालिका मन्दिर समुद्री सतह बाट ४ हजार २ सय १६ मिटर उचाईमा रहेका छ । त्यँहा पुग्न सात दिनको पैदल यात्रा गर्नु पर्दछ ।

यस बर्ष भने कोभिड १९ को प्रभावले थोरै मात्र तिर्थ यात्री हुने अनुमान गरिएको बडीमालिका पुजारी नेत्रराज पाध्यायले बताए । प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले यस वर्ष कोरोना संकक्रमणको जोखिमलाई ध्यानमा राखी अन्य जिल्लाबाट जिल्लामा प्रवेशका लागि जारी गरिने सवारी तथा अवागमन पासमा कडाइ गरिने बताए । त्यस्तै आगन्तुहरुको स्वास्थ्य परिक्षणका गरी आवश्यक ठाँउमा आधारभुत औषधी उपकरण र सहितको सहायता केन्द्र सञ्चालन गर्ने र सेनिटाइजर मास्क लगाएतका सामाग्री अनिवार्य गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए । १४ हजार फिट उचाईमा बडिमालिकाको यात्रालाई धार्मिक रुपमा महत्वपुर्ण मानिन्छ ।

2

बडीमालिका पुगेपछि यात्राका सबै कष्ट भुलिने बडिमालिका तिर्थयात्री धनबहादुर बुढाले बताए । औपचारिक पूजाआजाको परम्परा अनुसार छिमेकी जिल्लाहरू अछाम, डोटी, जुम्ला र कालिकोटबाट सरकारी पूजा टोली सहितका तीर्थयात्री यसअघि नै बडीमालिका प्रस्थान गरिसकेको प्रमुख जिल्ला अधिकारी गैरेले बताए । बडिमालिका नगरपालिका र त्रिबेणी नगरपालिकाको सिमानामा पर्ने बडीमालिकाको विशिष्ट धार्मिक तथा पर्यटकीय महत्व छ । मागेको वरदान पूरा हुन्छ भन्ने विश्वासले बडीमालिकाको धार्मिक महिमा बढाएको भक्तजनहरुको भनाई रहेको छ ।

2

सकन्द पुराणमा उल्लेख भएअनुसार मल्लागिरी पर्वतमा सतीदेवीको बाँया अंग पतन भएको थियो । यसै स्थानमा मालिकादेवी उत्पन्न भएकाले बडीमालिका एक प्रमुख शक्तिपीठका रूपमा स्थापित भएको त्रिवेणी नगरपालिका नगर प्रमुख रामसिंह रावले बताए । उनले भने–‘बडीमालिका मन्दिर क्षेत्रको प्राकृतिक सुन्दरताले बडीमालिकाको महत्व अझ बढाएको छ । त्यस क्षेत्रको अवलोकन गर्ने उद्देश्यले आन्तरिक तथा वाह्य पर्यटक यसै बेला बडीमालिका पुग्ने गर्छन् । २२ पाटन, त्रिवेणी र खेतीबेती बडीमालिकाका मुख्य आकर्षण हुन् ।’

2