सुदूरपश्चिममा कोरोना परीक्षण दायरा बढ्यो, चार ठाउँबाट हुँदैछ परीक्षण
2020/08/18, 3:36
 
corona

सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षणको दायरा फराकिलो पारिएको छ ।  कोरोना भाइरस (कोभिड–१९)को संक्रमण परीक्षण गर्ने प्रयोगशाला थपेर परीक्षणको दायरा फराकिलो पारिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सुरुवातमा कोरोना परीक्षण प्रयोगशाला नभएर अन्यत्रका प्रयोगशालाको भरमा रहेको सुदूरपश्चिममा हाल तीन ठाउँबाट कोरोना परीक्षण भइरहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी दिए ।

उनका अनुसार मंगलबारदेखि जिल्ला अस्पताल डोटीमा पनि कोरोना परीक्षण प्रयोगशाला सञ्चालनमा आएको छ । योसँगै अब सुदूरपश्चिमका चार वटा प्रयोगशालाबाट कोरोना परीक्षण हुने भएको छ । नयाँ प्रयोगशाला स्थापना भएसँगै स्वाब संकलन गरेर परीक्षणका लागि लामो समयसम्म पर्खनुपर्ने अवस्था अन्त्य हुने भएको छ ।  हाल सुदूरपश्चिममा दैनिक चार हजार नमूना परीक्षण भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताए ।

‘धनगढीमा दुई र डडेल्धुरामा एक गरी तीन ठाउँबाट कोरोना परीक्षण दिनहुँ भइरहेको छ । डोटीमा पनि आजबाट परीक्षण सुरु भएको छ’, उनले भने, ‘अब परीक्षण तीव्र पारिन्छ । अहिले दैनिक चार हजार नमूना परीक्षण भइरहेको छ ।’ भारतबाट आएका झण्डै चार हजार मानिस अझै क्वारेन्टिनमा छन् । सुरुवातमा प्रयोगशाला नभएर अन्य क्षेत्रको प्रयोगशालामा नमूना पठाउँदा परीक्षण सुस्त तथा रिपोर्ट आउन निकै समय लाग्ने गरेको थियो। क्वारेन्टिनमा बसेकाहरुको नमूना संकलन गरी पठाएको १५÷२० दिन बितिसक्दा पनि रिपोर्ट नआउँदा त्यसै घर पठाइएका कतिपय संक्रमण पनि देखिएको थियो ।
गत चैत १५ गते सुदूरपश्चिम प्रदेश सरकारले गरेको निर्णय अनुसार मंगलबार डोटीमा प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।

डोटी, बैतडी र कैलालीमा प्रयोगशाला स्थापना गर्ने मन्त्रि परिषद्ले निर्णय गरेको थियो । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा स्थापना गरिएको प्रयोगशालाको मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले उद्धघाटन गरे । बैतडीमा पनि प्रयोगशाला स्थापनाको कार्य तीव्र पारिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । भदौ दोस्रो सातादेखि प्रयोगशाला सञ्चालनमा ल्याउने तयारी रहेको स्वास्थ्य निर्देशक डा. अवस्थीले बताए । ‘प्रयोगशाला स्थापनाको काम जारी छ। केही दिनमै सञ्चालनमा ल्याउने तयारी गरेका छौँ’, उनले भने, ‘यो प्रयोगशालाबाट पनि परीक्षण सुरु भएपछि प्रदेशमा दैनिक पाँच हजार नमूना परीक्षण गर्न सकिन्छ ।’

सुरुवातमा सेती प्रादेशिक अस्पतालको प्रयोगशालाको भरमा रहेको सुदूरपश्चिममा परीक्षण दर निकै सुस्त थियो । विभिन्न ठाउँमा प्रयोगशाला थपिएसंगै हाल कोरोना परीक्षण तीव्र पारिएको हो । हालसम्म सुदूरपश्चिममा ४६ हजार ३ सय ६४ जनाको पीसीआर परीक्षण गरिएको छ । तीमध्ये ४ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार २ सय ११ जना संक्रमित उपचार पश्चात् डिस्चार्ज भएका छन् ।