आज पनि !
मेरा बाले अरु कसैका बालाई
पिटेर घर फर्केका छन ।
मेरो पेट पाल्नकै लागि,
मेरो आङ न्यानोले टाल्नकै लागि,
सायद मलाई सहाल्नकै लागि होला ।
अरु तमामका तमाम बाहरुलाई
पिटेर घर फर्केका छन् ।
हो !
मेरा बा फर्केका छन त
कसैलाई पिटेर,
सायद मेरा सपनाद्धारा पिटिएर,
अझ भनौ मृत्युलाई जितेर ।
नत्र त उनी कहाँ फर्किने थिए र !
सायद बेसरी पिछिन्थे होला ।
मेरो सामु काँ देखिन्थे होला ?
जसरी घोटिदा घोटिदै मेटिन्छ चक, केही धुलोलाई आकार दिएर !
त्यसरी नै मेटिन्थे होला, चोटैचोटका विभिन्न प्रकार लिएर !
अनवरत आँशुका कोसेली दिएर !
मेरो भाग्य !
आँशुको कोसेली आउन पाएन !
चक मेटियो घोटिएर,
तर
मेरा बा मेटिएनन,
बरु झन चम्के,
भेटिए, देखिए टाढैबाट !
जसरी घोटिने हिरा चम्किरहन्छ, चम्मचम्ती ।
त्यसरी नै चम्किरहे बेस्सरी,
मेरो मनमा ।
किनकि,
आज पनि, मेरा बा घर फर्केका छन् ।
कठोर मृत्युलाई जितेर ।
सायद, अरु कसैका बालाई पिटेर ।
हरेक जसो,
सबेरै जान्छन र पिटेर आउँन्छन् ।
आउँदा, कहिलेकाही पिटिएर पनि आउँछन् ।
सायद,
खोस्दा हुन, लुस्दा हुन, तर पनि
अरुका बाले लेदिदा हुन् ।
तब त पिटिएर आउँछन् ।
न त ?
हमेसा मेरा बा पिटेर आउँछन ।
मृत्युलाई जितेर आउँछन ।
म !
मेरा बालाई निरीह देख्छु !
फेरी हिरो पनि देख्छु,
मेरा सपनाको हिरो,
मेरो भोकको हिरो,
मेरो पिडाको हिरो,
मेरा दुःखको हिरो,
अनि सुखको पनि ।
अझैं भनौ,
मेरो सब थोकको हिरो ।
मेरा बा हिरो हुन् ।
किनकि, मेरा बा जितेर आउँछन ।
जसरी सिनेमामा हिरोले गुन्डाहलाई पटेको हुन्छ,
यसरी नै मेरा बा तमाम गुन्डाहलाई पिटेर आउँछन ।
मृत्युलाई जितेर आउँछन ।
यसैले त मेरा बा हिरो हुन ।
मेरा बा को परेली भिजिरहँदा,
म दुःखीरहेको छु ।
मेरा बा पिटिरहँदा म पिटिरहेको हुन्छु ।
तर पनि,
म किन अझ सुतिरहेको हुन्छु ?
यसैले त म दुःखीरहेको छु ।
सायद भित्रभित्रै रुन्छु ।
मेरा परेली सुख्खा गर्न,
मेरो रुवाई कम गर्न,
मेरा बा, हजारका बालाई कुटेर आउँछन, पिटेर आउँछन ।
मृत्युलाई जितेर आउँछन ।
आउँछन त ! दुई मुठी गाँस लिएर,
जो गएका थिए, एक भकारी आस लिएर,
फर्केका छन, त्यई दुई मुठ गास अनि आफ्नो एक सर्को सास लिएर ।
कहिलेकाही, मेरा बा भन्नुहुन्छ !
लौ सुन ! भन्दै दुई मुठी चामलका दाना गन्नु हुन्छ ।
अनी फेरी भन्नुहुन्छ !
“उहीले जमानामा, मेरा बा, तेरा हजुर बा पनि यसरी नै कुटेर आउँथे । अरुका बालाई पिटेर आउँथे ।“
यसैले होला !
अहिले,
मेरा बा अरुका बालाई
कुटेर, पिटेर आउँछन ।
मृत्युलाई जितेर आउँछन ।
सायद,
म बा बनेपछि,
मैले पनि अरुहरुका बालाई पिटेर फर्किन्छु होला ।
मेरा सन्तानको पेट भर्न, मृत्युलाई जितेर फर्किन्छु होला ।
कथा धेरै पुरानो होइन ।
कामरेडको लालसलामले टुहुरिएका मेरा बा,
बहत्तर सालको भुकपले टुक्रिए ।
कुटिए, पिटिए ।
पिटिदा ! एक खुट्टा थिचियो, किचियो र अततः काटिएर सकियो ।
बाँकी एक खुट्टा र एक जुत्ता साथमा लिएर, म सहित मेरा बा काभ्रे पसेका अरे !
व्यबस्था फेरियो,
अबस्था फेरिएन ।
स्थिति, मनस्थिति झन कमजोर भयो ।
यसैले त मेरा बा अरुका बालाई पिटेर आउँछन ।
मनस्थिति खलबलिए पनि, मृत्युलाई जितेर आउँछन ।
मलाई डर लागिरहन्छ !
कही मेरा बा पिट्दा पिट्दै पिटिने हुन की ?
पिटिएर मेटिने हुन की ?
म हरेक साँझ बिहान,
यही पीडामा पिरोलिरहेको छु ।
आफैलाई बारम्बार पोलिरहेको छु ।
किनकि,
सबेरै निकेका मेरा बा अझै फर्केका छैनन ।
के था पिटेर आउँछन की पिटिएर आउँछन ?
मेरा आँखाहरुले यसरी नियालिरहेका छन की,
मानौ म एक आमाको बच्चो हुँ, जो आफ्नी आमाको स्तनको पर्खाईमा छ र च्याँच्याँ गरिरहेछ ।
मानौ म एक बचेरो हुँ, जो चरीको चारोको पर्खाईमा छ र चिरबिर चिरबिर गरिरहेछ ।
म तृत छु, मेरा बालाई छुन ।
किनकि बालाई छुनु, मेरो तिर्खा बनिसक्यो ।
म भोको छु, मेरा बालाई देख्न ।
किनकि बालाई देख्नु, मेरो भोक बनिसक्यो ।
मेरा नजरहरु दुनियाँ खोज्ने, देख्ने हिम्मत राख्दछन तर
मेरा बा को बैशाखी अझै देखिएको छैन ।
परबाट जब मेरा बा देखिन्छन्,
यी आँखाद्धारा बा मात्रै हेरिन्छन ।
मेरो डर चङगा चैट हुन्छ ।
मेरो तिर्खा भेटिन्छ, भोक भेटिन्छ ।
जब छुन्छु
मेरो तिर्खा, भोक सब मेटिन्छ ।
किनकि मेरा बा मै मेरो तिर्खा भेटिन्छ, भोक भेटिन्छ ।
मेरा बा घर फर्केका छन् ।
फर्केका छन त मृत्युलाई जितेर ।
कसैलाई पिटेर ।
मेरा सपनामै मेरा बा रमाउँछन् ।
लड्न नपाउँदै मेरो हात समाउँछन ।
के के गर्दैछन मेरा बाले मेरा निम्ति,
आफ्ना सपनाको हत्या गरेर मेरा सपनाको खेती गर्दैछन ।
मेरा हरेक दुःखहरुमा ढाल बनेर भेटिरहन्छन ।
बारम्बार मेरा सपनाहरुद्धारा पिटिरहन्छन ।
आफु खाँदैनन् तर पनि “खाना खाइस बा ?“ भनेर सोधिरहन्छन ।
म अचम्मित हुन्छु, मेरा बा ले “खाना खाईस बा ? “ भन्न कहिलै, किन बिर्सिदैनन् ?
अनेक तड्पन सहित म भन्छु, “खाए बा खाए“ तर किन कहिलै सोध्न सक्दैन “हजुरले खानुभयो कि नाई ?“ भनेर ?
लाग्छ मैले मेरा बा को रगत खाए,
खुट्टा भुकम्पले, मैले सारा जगत खाए ।
मैले पसिना खाए बा को,
दक्षिणा पनि खाए ।
सब थोक खाए मैले मेरा बा का ।
सपना, बिपना, चाहना, ईच्छा, आकांक्षा ।
ठुला, साना, झिना मसिना सबै कुरा ।
जो कहिलै हुदैनन् पुरा, रहन्छन आधा अधुरा ।
जसरी खायो, बिलायो जमीनमा असिना ।
म त बाको श्रम, आँसु पिईरहेको छु ।
सारा दुःख खर्चिएर हाँसो पिईरहेको छु ।
अँ हँ !
अँ हँ, म त मेरा बा को मासु पिईरहेको छु ।
अनि म यो सब विर्सिएर कसरी हाँसु ?
तर पनि !
आज, म खुसी छु ।
किनकि,
मेरा बा फर्केका छन ।
कसैलाई पिटेर, मृत्युलाई जितेर ।
जब मेरा बा !
एक मुठी चामलमा, अर्को मुठी आस बटुलेर,
हजार धार आँसु, अनि आफ्नो मेहनत मिलाएर, मिलेर,
बनाउँछन् एक मिष्ठान भोजन, सारा दुःख भुलेर,
जीवन चामलको दानामा देख्छन, केलाउँन्छन बारम्बार, रमाउँछन् खेलेर ।
मलाई थाल भरी हाल्छन्, त्यही एक मुठीले पाल्छन् ।
नखाएसम्म हेरिरहन्छन, नानीभरी बेरिरहन्छन ।
खाउन्जेल हेरिरहन्छन, रमाईरहन्छन ।
तर ?
आफु, पनिउले ताउली कोट्याईरहन्छन ।
सायद भाग्य खोट्याईरहन्छन ।
मेरा कानले,
क्वार क्वार भाँडाको आवाज मात्र सुन्छन ।
लाग्छ मेरा बा हजारौ दिनदेःखी भोकै छन ।
मलाई कुनै दिन त्यो ताउली भर्न मन छ ।
मेरा बा को भोक पुरा गर्न मन छ ।
बा लाई पुर्ण भोजनमा हेर्न मन छ ।
यदि त्यसो हुन्थ्यो त ?
पिटेर किन पिटिएरै मर्न मन छ ।
तथापी,
भोक पुरा गर्न मन छ त, न त पिटेर न त पिटिएर ।
चम्किनुछ मलाई हिरा जस्तै, चम्किउँला घोटिएर ।
बिबेक, बुद्धि, श्रम लगाएर,
कमाउँनुछ अन्नको दानो, सत्यको बाटो समाएर,
जिउनुछ पेटभरी खाएर, खुवाएर ।
आँखीर केलानु छ र ? रोएर रुवाएर ।
पुरा गर्नेछु सपना,
बा को आशिष पाएर ।
यसो सम्झिँरहदा, झसंग बिउँझिन्छु ।
बा को जाने समय भएछ, “म गए है बा“ भदै जानुभयो,
फेरी पिट्नलाई, कुट्नलाई ।
म विश्वस्त छु, पहिले जतै अहले पनि !
मेरा बा पक्कै मृत्युलाई जितेर फर्किनु हुन्छ ।
कसैलाई पिटेर फर्किनु हुन्छ ।
मदनराज मनु
धनगढी, कैलाली