सीताराम ओझा- घर छोडेर हिडेको मान्छे अन्त्यमा जहिले भएपनि घर फर्किन्छ । दिनभरी खुल्ला आकाशमा उडेको पन्छी पनि रात परेपछि आफ्नै गुड फर्किन्छन् । जति बर्ष विदेशमा वसे पनि जति धेरै पैसा कमाए पनि अन्त्यमा आफ्नै जन्मभुमीको मायाले सताईरहन्छ । त्यही मायाको हुटहुटीले २० बर्ष भारतमा वसेर आफ्नै ठाउँ फर्किए आएका माईक्रो बायोलोजिष्ट लक्ष्मण जोशी ।
धनगढीमा ल्याब एसिसटेन्ट र ईन्टर पढेर भारत फसेका उनी २० बर्षको भारत वसाईलाई त्यागेर धनगढी फर्किएका हुन् । उनी धनगढी आएको एक हप्ता मात्रै भएको छ । धनगढीलाई कर्म थलो बनाएर यतै सेवा गर्नका लागि फर्किएका उनी अहिले आफु मात्रै आएका छन् । तर केही समयमा चाजोपाजो मिलाएपछि पुरै परिवारलाई नै भारतबाट घर फर्काउने योजनामा रहेका छन् ।
भारत वसाईमा सिकेको प्याथोलोजी सेवा दिनका लागि उनले काम पनि सुरु गरिसकेका छन् । धनगढीको टिसिएन चोकमा रहेको धनगढी डाईग्नोष्टिक एण्ड रिसर्च सेन्टरको निर्देशकको जिम्मा लिएका छन् । धनगढी डाईग्नोष्टिकको स्थापनादेखि सञ्चालक मध्येका एक उनी आफ्नो सीप दक्षता र क्षमता देखाउनका लागि लागेका छन् ।
यो काम धनगढीमा थालेको चार दिन मात्रै भएको छ । उनको कुरालाई कति जना पत्याउँछन् उनकै भनाईमा ३५ देखि ४० बर्षको उमेरमा पैसाको खासै चासो हुदैंन रे । अर्काको देशमा कति अपमान सहेर काम गर्नुपर्छ भन्ने मनाभाव आउँदा पैसाको चासोभन्दा पनि आत्मसन्तुष्टिका लागि केही गरौ भन्ने हुटहुटी हुने रैछ । त्यसैलाई पुरा गर्न उनी आफ्नै देशको माटो सम्झेर फर्किएका हुन् ।
लक्ष्मणले भारतका नाम चलेका र सुविधा सम्पन्न अस्पतालमा २० बर्ष काम गर्दा धेरै कुरा सिके । त्यहाँ त्यसै अनुसारका उपचार पद्धति र उपकरणहरु छन् । तर यहाँको स्वास्थ्य सेवाले फड्को मार्न सकेको छैन् । प्रयोगशालाको रिर्पोटले कुन ब्याक्टेरिया छ भन्ने पत्ता लाग्छ, त्यसैकै आधारमा डाक्टरहरुलाई कुन एन्टीबायोटिक दिनुपर्छ भन्ने थाहा हुन्छ । स्वास्थ्य उपचार प्रभावकारी र भरपर्दो बनाउनका लागि त्यसको जाँच सही हुनुपर्छ ।
विश्वासिलो हुनुपर्छ । त्यसका लागि त्यसको विज्ञता हासिल गरेर गुणस्तरीय र भरपर्दो प्याथोलोजी सेवा दिनका लागि धनगढी आएका हुन लक्ष्मण जोशी ।
काम गर्दाको अनुभुती फरक हुदैं गएको छ उनको । भारतमा काम गर्दा त्यहाँ आर्थिक स्थिति हेरेर व्यवहार गरिन्छ । त्यो कुरा पटक्कै मन परेको थिएन उनलाई तर नेपालमा मानवीयता भन्ने चिज रहेको मान्छन् उनी । यहाँ संस्कार छ, सभ्यता छ र सम्भावना पनि छ । त्यही देखेका छन् लक्ष्मणले पनि ।
प्रफुल्लित भएर काम गरिरहेका उनी यहाँ । सुदुरपश्चिममा माईक्रो वायोलोजिष्ट पाउनै मुस्किल छ । भएकाहरु पनि सरकारी सेवामा छन् । निजि क्षेत्रमा हुने त कुरै भएन् । अझ प्रयोगशालामा माईक्रो वायोलोजिष्ट हुने त कुरै थिएन् । धनगढीमा अत्याधुनिक उपकरण सहितका सुविधा सम्पन्न ल्याव स्थापना भएका छन् धनगढीमा तर माईक्रो वायोलोजिष्ट भएको ल्याव बनेको धनगढी डाईग्नोष्टिक एण्ड रिसर्च सेन्टर ।
अहिले यहाँ दिईदै आएको ल्याव सेवा पर्याप्त नरहेको उनको भनाई छ । यसलाई अझ विस्तारको आवश्यकता ठानेका छन् उनले । त्यसका लागि जनशक्ती तयार पार्न सके पनि उपकरण भने नेपालमा बनाउन सम्भव छैन । अत्याधुनिक उपकरणहरुको मुल्य नै करोडौं पर्छ । त्यसका लागि सरकारहरुका तर्फमा सहुलियत, छुट र अनुदान दिनुपर्ने उनको सुझाव छ । उनी त्यसका लागि पनि आफु पनि प्रयासरत रहेका छन् ।
डोटीको वायल घर हो लक्ष्मण जोशीको । उनको जन्म भारतमै भएको थियो । माध्यमिक र ल्याव एसिस्टेन्टको पढाई डोटी र कैलालीमा भयो । त्यसपछि घुम्नका लागि भारत गएका उनी दुई दशकसम्म उतै वसे । उनका वुबा रामचन्द्र जोशी भारतमै रोजगारी गर्थे । उनकी आमा पार्वती जोशी पनि उतै थिईन् । उतै जन्म भयो उनको ।
बाल्यकालका केही समय उतै गुज्रियो । त्यसपछि उनका वुबाले आफ्नो संस्कार दिन आमासँगै उनलाई नेपाल पठाए । डोटीकै वायलमा वसेर एसएलसी पास गरे । त्यसपछि उनी धनगढी झरे ।
धनगढीमा ल्याव एसिस्टेन्ट पढे । कैलाली वहुमुखी क्याम्पसबाट प्रविणता प्रमाणपत्र तह पनि कटाए । त्यही वेला डडेल्धुरा अस्पतालमा ल्याव एसिस्टेन्टको जागीर पनि खुलेको थिए । जागीरका लागि परिक्षा पनि दिए उनले । त्यसको नतिजा कहिले आउने कुनै टुंगो थिएन् । बुबा भारतमै रहेकोले फेरि भारत घुम्नका लागि गए । नेपलमा गएर के गर्छस् तैले पढेको जागीर नै पाउँदैन यति गर भनेर बुबाले नभनेको दिन हुन्थेन् ।
घुमघामकै क्रममा ल्यावमा काम गर्नेहरुसँग भेट भयो । उनले त्यहाँ जागीर सुरु गरे । स्कोर्ट हस्पिटल एण्ड रिसर्च सेन्टर फरिदावादमा जागीर के सुरु गरेका थिए उनलाई नेपालबाट खबर गयो डडेल्धुरा अस्पतालमा नाम निस्कियो । सरकारी जागीर खान आउनु पर्यो । उनलाई केही समय दोमन भयो । भारतमै काम गरौं की नेपाल फर्किउ । निर्णय लिए भारतमै भरखरै सुरु गरेको जागीर नै गर्ने नेपाल नआउने । जागीर सुरु गर्दा एक हजार पाँच सय भारतीय रुपैयाँ मात्रै थियो उनको तलब । त्यहाँ झण्डै साढे ८ बर्ष काम गरे उनले । त्यही काम गर्ने क्रममै ल्याब एसिस्टेन्टले मात्रै पुग्ने स्थिति भएन् ।
साथीहरुले पनि थप पढाई गर्ने सल्लाह गरे । ६ देखि ८ घण्टाको अस्पताल ड्युटी त्यो वाहेकको समयमा पढ्नका लागि व्यवस्था मिलाए । तीन बर्ष लगाएर बीएमएलटी पनि राम्रै नम्बर ल्याएर पास गरे । त्यही काम गर्दा गर्दै उनले नयाँ अस्पतालबाट अफर आयो । उनले नजिकैको एसियन ईन्सिच्युट अफ मेडिकल साईन्स एण्ड क्यान्सर सेन्टरमा जागीर सुरु गरे । त्यहाँ पनि ६ बर्षसम्म काम गरे । त्यहाँ काम गर्ने क्रममै उनले माईक्रो वायोलोजी पनि सिद्धाए ।
वढ्दै गएको कामको अनुभव र थपिदैं गएको शैक्षिक योग्यताले उनका लागि अवसरका ढोकाहरु पनि खुल्दै गए । नेपाल फर्किनुअघिसम्म झण्डै साढे चार बर्ष नयति मेडिसिटी मथुरामा काम गरिरहेका थिए । नेपाल फर्किनका लागि उनले जागीर जोड्दा ९३ हजार भारतीय रुपैयाँ मासिक तलब थियो ।
भारतको दुई दशकको वसाईमा उनको जीवन शैलीमा आकाश पातालको परिवर्तन आयो । धेरै पैसा कमाए । घर परिवार बनाए । विहावारी भयो । आर्थिक स्थिति सुध्रियो तर मनको सन्तुष्टि मिलेन । त्यही सन्तुष्टि पुरा गर्नका लागि उनी अहिले धनगढी फर्किएका हुन् ।
आफु फर्किए । अव परिवार र वालबच्चालाई पनि ल्याउने तयारीमा छन् । आफ्ना छोरा छोरीलाई नेपाली संस्कार दिने चाहना छ । स्वास्थ्यमा भारतभन्दा निकै पछि रहेपनि नेपालको शिक्षा प्रणाली भारतकोभन्दा राम्रो रहेको ठान्छन् उनी । त्यही भएर यतै ल्याएर छोराछोरीलाई पढाउने हुर्काउने र आफुले पनि राम्रो काम गरेर दामभन्दा पनि नाम कमाउने उद्देश्य बोकेर आफ्नै ठाउँ फर्कि आएका छन् लक्ष्मण जोशी । उनको उज्वल भविष्यको कामना ।