शब्दमा यथार्थ हुन्छ । सुख अनि दुःख हुन्छ । र ती शब्द कालान्तरमा इतिहास पनि बन्छन् जीवन्त ।
वि.स.२०५० को दशक, सुदूरपश्चिम ।
हरेक गाउँमा एउटै दृष्य, मलिन अनुहार आँखामा आँशु टिलपिलाउँदै डाँडापाखा झरिरहेका मानिसहरुको ताँती देखिन्थ्यो । ‘देश जाने’ भन्दैओरालो झर्नेहरु धनगढीको गौरीफन्टा र महेन्द्रनगरको गड्डाचौकीनाका पारीबाट रेल चढेर बम्बैसहित र भारतका विभिन्न ठाँउ पुग्थे काम गर्न । त्यसका साक्षी बने भोजराज भट्ट । उनले देखेको त्यही दृश्य शब्दमा उतारे । अनि कोरियो बम्बै जाने रेल,
पैया गुडन लाग्या बम्बै जाने रेलगाडीका पैया गुडन लाग्या ।
अब छुटन लाग्या पहाडका डाँडा खोला अब छुटन लाग्या ।
समय ठ्याक्कै याद छैन तर २०४५ सालअघि रचना गरेका हुन् उनले यो गीत । २०५० सालमा गीत उनले बजारमा ल्याए । सुदूरपश्चिमको नमिठो यथार्थको चित्र उनले शब्दमा उतारे । त्यतिबेलाको बम्बै र अहिलेको मुम्बई सहित भारतका अन्य ठाउँमा जानेको संख्या केही कम मात्र भएको छ अहिले । पीडा अझै उस्तै छ सुदूरपश्चिमको । त्यसैले अझैपनि सबैको मुखमा भुण्डिएको छ यो गीत । र झुण्डिएको छ भोजराज भट्टको नाम । कतिपयले त नाम हैन ‘बम्बै जान्या रेल गाडी भनेर चिन्छन’ अलि भावुक हुँदै उनले भने ‘वास्तवमै यही गीतले मेरो परिचय स्थापित ग¥यो ।’
सुरुकै गीतमा सबैले दिएको माया उनको मनमा बसी सकेको थियो । तर त्यतिले कहाँ पुग्थ्यो र । देउडा गाएन मै लाग्ने निधो गरिसकेका थिए । सानो छँदा रहरले गाउने उनी अब करले गाउन थालेका थिए । जुन कर उनका श्रोताहरुको थियो । २०२३ सालको जन्म । घरमा सांगीतिक वातावरण नभए पनि उनी जन्मेको डडेलधुराको डुमडा गाउँमा थियो । टेपमा देउडा गीत घन्काएर गाउँघरमा हिँड्ने उनले देखेका थिए । हुर्कदै जाँदा गाएकै बन्छु भनेर सोचेका थिएनन् । मुस्कराउँदै उनी भन्छन्– ‘गाउँदा मन खुशी हुन्थ्यो ।’
घाँस दाउरा जाँदा महिलाहरु एक्लै वन पाखा र डाँडाकाँडासँग गाएको उनले सुने । सुदूरपश्चिमको देउडा मध्यको एक ‘ठाडी भाका’ गाएको सुने । उनी भन्छन्, ‘ती गीतमा महिलाहरुको बिरह हुन्थ्यो । दुःख हुन्थ्यो । अनि हुन्थ्यो यथार्थता । श्रीमान कमाउन इण्डिया गएका महिलाका गीतमा उनीहरुका वेदना हुन्थे ।
गोठाला जाँदा देउडा गुनगुनाए । परिवारसँगै भैँसी लिएर खर्क (लेक) जाँदा देउडा गीत गुनगुनाउदै उकालो लागेको उनलाई अझै याद छ । हरेक वर्ष साउनको महिना भैँसीको पछाडि लागेर उनी पनि उकालो लाग्थे गीत गाउँदै । माथि खेतिपाती पनि थियो । तीन महिना बसेर जोडो सुरु भएपछि फेरि गुनगुनाउँदै ओरालो झर्थे ।
उनले गाउने भन्दा धेरै नाचे । भन्छन्, ‘त्यतिबेला गाउँघरमा नाटक देखाउने चलन थियो । हाँस्यरस भरिएका हुन्थे । त्यसमा म पनि सहभागी हुन्थेँ र नाच्ने गर्थे ।’ गाउँघरमा हुने जात्रा, मेलामा पुगिहाल्थे । मनमा अझ ताजै छ देउकी आएर खेल लगाएको । सम्झँदै उनले भने, ‘म सानै थिएँ, अलिअलि याद छ बैतडीबाट आउने देउकीहरुले खेल लगाउँथे ।’
त्यतिबेला गाउनका लागि महोत्सव हुन्थेनन् । न बाजा न केही । आठ–दश जना भेला भयो, गाउन सुरु हुन्थ्यो । एकअर्काको हात समाएर पाइला चाल्दै देउडा खेलिन्थ्यो । सुर ताल केहि हुँदैनथ्यो ।
हुर्कदै गए । गुनगुनाउने उनी गाउन थाले । राम्रो गाउँछ भनेर सबैले हौस्याउँथे । उनी भने धेरै मानसिका अघि गाउन सरम मान्थे ।
रेकर्ड गरेको पहिलो गीत
१० वर्षको उमेर । गाउन रहर लाग्थ्यो । उनी भन्छन् ‘थाहै नपाइ गीत गाउथें, मिठो गाउँछ भन्दै सबैले हौसला दिन्थे ।’ एक दिन गाउँका हरिप्रसाद पाण्डे टेप रेकर्डर बोकेर भट्टको घरमा आए–लौ गीत गाउनु प¥यो भन्दै । गीतका पारखी उनी धनगढी झरेको बेला टेप किनेका थिए । त्यतिबेला गीत सुन्ने माध्यम धेरै थिएनन् । टेप रेकर्डरमा क्यासेट चलाएर गीत सुन्ने चलन थियो ।
खाली क्यासेट १० रुपैयाँमा पाइन्थ्यो । ती टेप रेकर्डरमा राखेर आफै गीत रेकर्ड गर्ने चलन थियो । अनि ती गीत सबैतिर सुनाउने गरिन्थ्यो । धनगढी वा महेन्द्रनगर झर्नेले नयाँ क्यासेट बोकेर फर्कन्थे । परिवार र छिमेकीहरुको अगाडि गाउन लजाउने उनी अनकनाए । उपाए लाग्यो कसैले नदेख्ने गरी गोठमा गएर गाउने अनि रेकर्ड गर्ने । खाली क्यासेट हालेर पाण्डेले टेप रेकर्डमा राखे अनि भट्टले गाए ।
रेडियो नेपालसम्मको यात्रा
गाउँमै १० कक्षा र डडेलधुरामा हाइस्कूल सके । थप अवसरका लागि धनगढी झरे । बोर्डिङ स्कूलमा पढाउन थाले । बच्चाहरुलाई सिकाउँदा पनि गाउने । शिक्षक साथीहरु सबैले तपाईको आवाज राम्रो छ भन्थे । तर त्यतिले मात्र उनको त्यसपछिको गाएन यात्रा निर्धारण गर्ने थिएन ।
उनी आफैले पनि गाएकै बन्छु भन्ने नसोचेकाले त्यता ध्यान गएन । सबैले गीत सुन्थे, ताली पिट्थे । सकिएपछि उठेर हिड्थे । मिठो गाउँछस् भन्नेले पनि कहिल्यै गायक बन्नुपर्छ भनेर भनेनन् । न त परिवारले । निरास हुँदै उनले भने, ‘सानैमा बुवा गुमाएँ । परिवारले कुनै कुरामा पनि साथ दिएन । न गाउन साथ दियो न रोक्यो ।’
रेडियो नेपालसम्मको यात्राको कुरा गर्दा उनी भोजराज भट्टलाई सम्झन्छन् । जसले रेडियो नेपालसम्मको यात्रा देखाइदिएका थिए । कक्षाका साथी थिए उनी । कक्षामा भोजराज भट्ट ‘ए’ र ‘बी’ भनेर चिनिथ्यो । ‘ए’ जो भारत उत्तराखण्डको पिथौरागढमा ओभरसिएर थिए ।
बालसखी भोजराज भट्ट ‘ए’ सँग पिथौरागढमा भेट भयो । बालपनका कुरा भए । भोजराजको गीत सानैदेखि सुनेका अर्का भोजराजले रेडियो नेपालमा स्वर परीक्षा दिन सुझाए ।
उनले भने– ‘तिम्रो आवाज राम्रो छ, रेडियोमा भोकल टेष्ट गर । म सहायता गर्छु भन्नुभयो ।’ उनको कुरा मनमा बस्यो । समुद्र पारीको देश जाने सपना बुन्दै गरेका भोजराजले टोफेल परीक्षा दिने र स्वरपरीक्षा पनि दिने मनसाय एकसाथ पिथौरागढबाट रेल चढे । त्यतिबेला काठमाडौँ आउन भारत हुँदै आउनु पथ्र्यो । कतै नबिसाइ काठमाडौँ आए ।
उनले भने ‘२०४६ सालको कुरा हो । त्यतिबेला फुलबारी भन्ने कार्यक्रममा गीत गाएँ । गीत रेकर्ड गरेर धनगढी फर्किएँ ।’ त्यतिबेला गीत रेकर्ड गर्ने स्टूडियो थिएनन् । गाउन चाहनेका लागि एउटै ठाउँ–रेडियो नेपाल । आवेदन दिएको तीन महिनामा पालो आउँथ्यो । रेडियो नेपालले दिएको दिनमा गाउनु पथ्र्यो । त्यतिबेला गीत गाएको १५० रुपैयाँ पाइन्थ्यो । आफ्नो रचना छ भने १०० रुपैयाँ थपेर २५० रुपैयाँ ।
उनले ‘पैयाँ गँड्न लाग्या बम्बै जान्या रेलगाडीका पैया गुडन लाग्या’ बोलको गीत गाए । उनी भन्छन्– ‘त्यो गीत सबैले मन पाराए ।’ त्यही गीतले केहिपछि उनको पहिचान बदलिदियो । अब उनलाई गाउने रहर जाग्यो । केही गर्नुपर्छ भन्ने लाग्यो । त्यसपछि अरु गीतहरु पनि रेडियो नेपालमा रेकर्ड भए । २०४७ साल पुस २२ गते उनलाई रेडियो नेपालले ‘ग’ श्रेणीको प्रमाण पत्र दियो । उनी राष्ट्रिय गाएक भए ।
तर, उनको यात्रा मोडियो । २०४८ सालमा उनी भारतको सिलोङ लागे थियोलोजी पढ्न । पढाइ सकेर २०४९ सालमा फर्किए । सिधै डडेलधुरा लागे । डडेलधुरामा रहेको ‘टीम’ हस्पिटलमा दोभासेको जागीर खुलेको थियो । अमेरिकन हस्पिटल अंग्रेजी–नेपाली अनुवाद गर्नुपर्ने । अंग्रेजीमा पोख्त उनी छानिए । तर देउडा गीतबाट उनी पर जान सकेनन् ।
सबै छोडेर मात्र गायक
उनलाई लाग्यो गीत त गाउनु पर्छ । भन्छन्, ‘त्यो बेला थुप्रै गीतहरु सुनेँ । मेरो मनमा घमण्ड आयो की यी भन्दा राम्रो गाउन सक्छु । जस्तो सुकै गीतहरु टपक्क टिपेर गाइदिन्थे । जागिर चलेकै थियो । लाग्यो यो समयमा गीत निकाल्नु पर्छ । उनी गीतको तयारीमा जुटे । दिउँसो अफिस साँझ–बिहान गीतको तयारी । आमासँगै बसेर पहाडी गीतहरु तयार पारे । रिहर्सल गरे । भन्छन्, ‘कुनै सिस्टमेटिक रिहर्सल थिएन त्यो । मसँग नेचुरल भोकल छँदै थियो ।’
आठ वटा गीत तयार पारेर उनी गए धनगढी झरे । नारायण रायमाझीको रिमा रेकर्डिङ्ग स्टूडियोमा गीत रकर्ड गराए । एल्बमको नाम थियो ‘जौ पात’ । २०५० सालको अन्त्यतिर बजारमा आएको यो गीतले सुदूरपश्मिको देउडा गाएकका रुपमा सबैको मुखमा भोजराज भट्टको नाम झुण्डाइदियो । त्यसपछि त के थियो, उनको जिन्दगीमा लगभग छोडिसकेको देउडा गीतले फेरि प्रवेश पायो । उनले अब मात्र गाउने निधो गरे ।
जागिर छोडे र अर्को एल्बमको तयारीमा लागे । रेकर्ड गराए । उनलाई लाग्यो गायन क्षेत्रमा अझै केही गर्नुपर्छ । गीत रिलिज नगरेरै बम्बै लागे संगीत सिक्न । हिन्दी फिल्ममा गाउने धोको बोकेर उनी बम्बैको रेल चढेका २०५२ सालमा । उनका जेठा दाइ त्यहाँ होमोप्याथिक डाक्टर थिए । तर ६ महिनामै फर्किए । क्यासेट रिलिज गर्न । उनको परिवार धनगढीमा बस्थ्यो । छोरो हुँर्कदै थिए ।
‘बाडुली’ नाममा रिलिज गरेको क्यासेट पनि चर्चित भयो । धेरै बिक्री भयो । रोयल्टी आउन थाल्यो । यहिँ केही गर्ने सोचेका उनी बम्बै फर्किएनन् । उनलाई कहिले काही पछुतो लाग्छ । भन्छन् ‘मैले संगीत सिकाइलाई निरन्तरता दिनुपथ्र्यो । सिकेको भए अझै राम्रो गर्न सक्थेँ ।’
धनगढीमै बसेर उनले देउडा मात्र गाए । बजारमा निस्केका हरेक गीत चर्चित भए । सुदूरपश्चिममा देउडाको प्रायः भोजराज भट्ट भइदियो । उनका २१ वटा एल्बम बजारमा छन् । आफ्ना र अरुका गरेर करिब ३०० वटा गीत गाइसकेका छन् ।
त्यो माया अनि तिरस्कार
रेडियो नेपालमा गाएको ४ वर्षपछि २०५० सालमा धनगढीमा रेकर्ड भयो ‘बम्बै जान्या रेल’ । जसले उनको क्रेज स्थापना गरिदिएको थियो । भन्छन्, ‘मेरो त्यहाँ खोजी हुन थाल्यो को हो यो गाउने भन्दै ।’ त्यतिबेला महोत्सव हुँदैनेथे । न भिडियोको नै जमाना थियो । उनको स्वर सुनेकाहरुलाई को हो भन्ने लाग्थ्यो ।
त्यसपछिको जौ पात भन्ने गीतले त उनलाई देउडा गायनमा स्टार बनाइदियो । कतै देख्यो भने गाडी रोकेर उनलाई हेर्न मानिसहरु झुम्मिन्थे । उनी भन्छन्, ‘त्यो माया म अहिले महसुस गर्न स्मृतिमा मात्रै छ ।’
श्रोताको मायाको कुरा गर्दा उनी २०५५ सालको घटना सम्झन्छन्, ‘म बाजुरा पुगेका थिएँ । मेरो एक वृद्ध आउनु भयो । उहाँको परिवार नै थियो । भन्नुभयो–बावु हामी तमीलाई हेर्न डेढ दिन हिँडेर आयौँ । मेरो पाउमा आफ्नो टोपी राख्नुभयो । मैले उहाँलाई रोकेँ तर त्यो म प्रतिको माया थियो । जता जाँदा पनि पाउने त्यस्तो मायाले मलाई सधैँ उर्जा दिन्थ्यो । अझै राम्रो गाउन जाँगर दिन्थ्यो ।’
अरुका वेदना र दुःख टपक्क टिपेर गाउने भट्टको घाउ आफैमा ठूलो छ । परिवारले दिएको नमिठो पीडाको कथाले अझै पनि उनलाई अमिल्याउँछ । टीम हस्पिटलमा काम गर्ने भट्टको भेट मञ्जु केसीसँग भयो । सोही हस्पिटमा नर्स थिइन् मञ्जु । मन मिल्यो, बिहे गरे । घर गए, तर परिवारले स्वीकार गरेन । क्षेत्री केटी ल्यायो भनेर घरमा कलह सुरुभयो । अहिले त स्वीकार नगर्ने समाजले त्यतिबेला के मान्थ्यो । घर बस्न थालेको एक महिना बित्न लाग्दा पनि कलह कम भएन । उनीहरुले छुट्टै बस्ने निधो गरे । नजिकैको अर्को घरमा बस्न थाले । पछि उनीहरु हस्पिटलकै क्वाटरमा सरे ।
मुञ्जले भोजराजको हरेक पाइलामा साथ दिएकी छन् । भोजराज जता गए मुञ्ज त्यतै लागिन् सबै छोडेर । गीत संगीतमा चासो नराख्ने उनी श्रीमानको हरेक गीतको सारथी बनिन् । भन्छिन् ‘गीत संगीत त छँदै थियो । जागिर पनि गरेको भए भन्ने सधैँ इच्छा हुन्थ्यो । उनलाई लाग्छ जागिर भएको भए अहिलेको भन्दा केही राम्रो अवस्थामा हुन्थ्यौँ ।’
बिहे भएको २६ वर्षभन्दा बढी भयो । भक्तपुरको गठ्ठाघरमा एक छोरा र दुई छोरीसँग भाडामा बस्छन् । छोरो सिभिल इन्जिनियर, जेठी छोरी स्तानक अन्तिम वर्ष पढ्दै छिन् । सानी छोरी हुर्कदै छिन् । वास्तवमा सुदूरपश्चिको देउडा गीत हुर्कदै छ । सुदूरपश्चिमकै डाँडाकाँडामा बामे सरेको देउडालाई हात समाएर तातेताते गर्दै हिँड्न सिकाएको श्रेय भोजराज भट्ट लगायतका केही गायकलाई जान्छ । सुदूरपश्चिम पहाडमा सीमित देउडा गीत त्यस आसपासका अरु केही ठाउँमा सुन्ने र गाउने माध्यम उनीहरु बने । देउडा भाका प्रायः ठाउँमा गुञ्जने उनीहरुले बनाए ।
भट्ट भन्छन्, ‘मलाई लाग्दैन मैले नै देउडा गायनमा केही गरेँ । वास्तवमा हामी अझै देउडा गीतको भित्रसम्म पुग्न सकेका छैनौँ । यस क्षेत्रमा गर्नुपर्ने धेरै छ । यसको अध्ययन हुन जरुरी छ ।’ पछिल्लो समय युवाहरु पनि देउडामा लागेको देख्दा उनलाई खुशी लाग्छ । देउडा गीतको सबैभन्दा राम्रो पक्ष सुदूरपश्चिमको भाषा हो । त्यसलाई नबिगारी आउने नयाँ देउडा गीतको उनी समर्थन गर्छन् ।
उनी भन्छन्, ‘गीतमा सन्देश हुनुपर्छ । कथा हुनुपर्छ, तस्विर हुनुपर्छ । जुन त्यो समाजसँग मेल खाओस् ।’ उनले त्यतिबेलाको समाजको चित्र र कथालाई टपक्क टिपे र गीत बनाए । ‘लैजा बुदी’ भन्ने गीतबाट मान्छे हँसाउने होस् वा ठाडी भाका गाएर भावुक बनाउने, उनले सबै गरे ।
गीतहरुबाट उनी देउडा सुचाउनेका मनमा बसे र बसिरहे । अरुको पीडा बोलेका उनी आफ्नै भए सबैका ।
उनले गीतको अंश सुनाएर कुराको बिट मारे,
‘छोरो गयो परदेश बग्न्या चौलानी
आमा घरै रुनी का जान्छै बग्न्या पानी कैको माया मानी ।’
(प्रभात खनाल÷देशसञ्चारबाट साभार)