सीताराम ओझा- सुर्य अस्ताउन आउने कञ्चनपुरको महेन्द्रनगरका डाक्टर निरज अर्याल अहिले धनगढीमा स्वास्थ्य सेवा दिईरहेका छन् । निजि क्षेत्रको पहिलो अस्पताल खोलेर स्वास्थ्य क्षेत्रमा सम्भावना खोजेका उनी विशेषज्ञता हासिल गरेपछि सरकारी स्वास्थ्य सेवा गरिरहेका छन् । धनगढीको सेती प्रादेशिक अस्पतालमा रेडियोलोजिष्टको रुपमा काम गर्न थालेको एक बर्ष पुगेको छ ।
१० बर्षे काठमाण्डौं वसाई र पढाईपछि उनी अघिल्लो बर्षको साउनमा मात्रै धनगढी आएका फर्केका हुन् । सरकारी अस्पतालमा काम गर्न धनगढी पुगेका उनको धनगढीसँगको साईनो भने पुरानो नै छ । डाक्टर निरज सुदुरपश्चिम प्रदेशमा निजि क्षेत्रबाट पहिलो अस्पताल स्थापना गरेर स्वास्थ्य सेवा दिने डाक्टर मध्येका हुन् । उनकै नेतृत्वमा १६ बर्षअघि खोलिएको अस्पताल आज पनि धनगढीमा स्वास्थ्य सेवा दिईरहेको छ ।
सानो, सिमित सेवा र न्युन जनशक्तीबाट सुरु गरिएको नवजीवन अस्पतालले डेढ दशक पार गर्दा मुहार फेरिसकेको छ । सानो अस्पताल ठुलो भएको छ । क्षमता विस्तार भएको छ । अत्याधुनिक सेवा थपिएको छ । स्वास्थ्य सेवाहरु विस्तृत भएका छन् । सयौ जनशक्ती छन्, सुविधा सम्पन्न पुर्वाधार बनेका छन् । दर्जनौ विशेषज्ञ सेवाहरु थपिएका छन् । विरामीहरुको उपचारमा विश्वास वढेको छ ।
तर २०६१ सालमा अस्पतालको सुरुवात गर्दा अहिलेको जस्तो अवस्था थिएन् । सुरुवातका दिनमा सुदुरपश्चिममा सरकारी स्तरबाट स्वास्थ्य सेवाको पहुँच पुग्न नसकेका वेला निजि क्षेत्रलाई झन हम्मेहम्मेको अवस्था थियो । हुन त उनी त्योवेला अस्पताल खोलु भनेर धनगढी आएका थिएनन् । एमबीबीएसको पढाई सकेपछि शिक्षकको रुपमा पढाउनका लागि धनगढी आएका थिए ।
त्यो वेला स्वास्थ्य उपचार गर्नका लागि साविकको सेती अञ्चल अस्पतालमा थोरै सेवाहरु थिए । न्युन संख्यामा मात्रै डाक्टरहरु थिए । निजि क्षेत्रबाट सामान्य रुपमा मेडिकल चलेका थिए । साठीकै दशकमा धनगढीमा एचए, फार्मेसी, स्टाफ नर्स लगायतको पढाईको थालनी हुन थालेको थियो । सेतीका समिति डाक्टरहरु त्यहाँ विद्यार्थीहरुलाई पुर्ण कालीन रुपमा पढाउन सक्ने स्थिति थिएन् । एचए, फार्मेसीको पठनपाठन सुरु गरेको भागेश्वर एकेडेमी फर हेल्थ साईन्सले पुर्ण कालीन पठाउने शिक्षकको खोजी गरिरहेको थियो ।
भागेश्वरका प्रिन्सिपल डाक्टर हरिलाल रावतले पढाउने डाक्टरको खोजी गर्ने क्रममा एमबीबीएस सकेर बसेका निरजसँग सम्पर्क भयो । उनी र उनकै सहोदर दाई डाक्टर चुडामणी अर्याल पुर्ण रुपमा पढाउन भनेर धनगढी आए । निरजले पुरै चौविसै घण्टा भागेश्वरमै विताए । त्यही वस्ने पढाउने र व्यवस्थापन गर्ने सबै काम उनकै काँधको थियो ।
केही बर्ष पढाएपछि उनले सोचे पढाएर मात्रै हुदैंन अभ्यास पनि गर्नुपर्छ । पढेको विषयमा अभ्यास पनि भएमा अनुभवी भईन्छ भन्ने मनन गरे । पढेरभन्दा परेर वढी सिकिन्छ भनेझैं उनले २०६१ सालमा धनगढीमा अस्पताल खोल्ने योजना बनाए । आफ्नै सहोदर दाई चुडामणी र भागेश्वरका प्रिन्सिपल हरिलाल पनि यो योजनामा सहमत भए ।
अस्पताल खोल्नका लागि चाहिने पुर्वाधार र उपकरणका लागि जसोतसो गरेर १५ लाखको लगानीमा सन्तोषी टोलमा १५ शैय्या क्षमताको नवजीवन अस्पतालको जन्म भयो । यो अस्पताल सुदुरपश्चिममा निजि क्षेत्रबाट खुलेको पहिलो अस्पताल हो । योभन्दा अघि पोलि क्लिनिकहरु थिए होलान् तर मापदण्ड अनुसार दर्ता भएको मात्रै नभई सञ्चालन भएको पनि पहिलो अस्पताल हो ।
तीन जनाले खोलेको अस्पतालका सुरुवातका दिनमा तीन जना डाक्टरहरुले नै सेवा दिए । धनगढीको सरकारी अस्पताल र मेडिकल रााती भयो की बन्द हुन्थ्ये । उनीहरुले चौविसै घण्टा सेवा दिने परिपाटी वसाए । त्यो वेला सेतीमा ओपिडीको दुई रुपैयाँ टिकट रहँदा नवजीवनमा १० रुपैयाँ थियो । ईमरजेन्सीको १५ रुपैयाँ थियो । दिनमा आठ दश जना विरामी आउँथे । सामान्य किसिमको अप्रेसन पनि हुदैंन थियो ।
विरामीहरु आउन थालेपछि अस्पताल प्रतिको विश्वास पनि बढ्दै गयो । २०६३ सालतिर अस्पतालमा सुरक्षित गर्भपतन सेवा सुरु भयो । त्यसका लागि निरजले २१ दिनको तालिम लिए । यो सेवा दिन थाले । उनले गर्भपतन सेवा दिएको चार बर्षमा पाँच सयभन्दा वढी महिलाको गर्भपतन गराए । उनले गरेको गर्भपतन शत प्रतिशत सफल भयो । एक पनि असफल भएन् । त्यही वेला उनलाई उत्कृष्ट काम गरेको भन्दै सरकारबाट पनि सम्मानित भएका थिए ।
अस्पताल चलाएको चार बर्षपछि उनका दाई चुडामणी काठमाण्डौं हुदैं अमेरिका भए । अर्का संञ्चालक हरिलाल रिटायर्ड जीवन विताउने भन्दै पुख्र्यौली घर डोटी फर्किए । निरज एक्ला भए तर उनले हिम्मत हारेनन् । धनगढीमा हप्तामा एक दिन नेपालगंजबाट डाक्टर आउने गरेका थिए । विरामीहरुले उपचारका लागि दिन कुर्नुपथ्र्यो । उनले काठमाण्डौंबाट डाक्टर ल्याउने कामको थालनी गरे । हप्तामा काठमाण्डौंबाट डाक्टरहरु ल्याएर विरामीहरुको उपचार गराउँदा गराउँदै धेरै जना डाक्टरसँग उनको सम्पर्क चिनपान भयो ।
२०६७ सालमा अस्पताललाई ५० शैय्यामा स्तरोन्नति गरे । सन्तोषी टोलमा ठाउँ अभाव भयो । त्यहाँ पनि भएको सानो अस्पताललाई यथावत राख्दै धनगढी चौराहको हाल एसटिएस केवल नेटवर्क रहेको घरमा अस्पताल विस्तार गरियो । त्यहाँ पनि काठमाण्डौंबाट विशेषज्ञ डाक्टर आउने विरामीहरुको उपचार गर्ने र फर्किने क्रम जारी रह्यो । केही बर्षको पढाई र अस्पताल सञ्चालनपछि एमबीबीएसले मात्रै पुग्दैन भन्ने लाग्यो निरजलाई ।
आफुले छोडे अस्पताल टुहुरो हुने, विशेषज्ञता हासिल गरिएन भने आफ्नो क्षमता र दक्षता अघि नबढने दुविधामै थिए उनी । त्यसैक्रममा काठमाण्डौंबाट आउने गरेका हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर विदुरमणी ढकाललाई प्रस्ताव राखे । अन्य सञ्चालकहरु पनि खोजे । अस्पताल सञ्चालनको लागि शेयर लगानी गराउनुका साथै पुरै जिम्मा ढकाललाई दिए । त्यसपछि निरज पनि काठमाण्डौं लागे ।
डियोलोजीमा एमडी गरे । उतै काठमाण्डौंमा सरकारमा आबद्ध भएर काम गरे । तर उनलाई धनगढीको मायाले भुलाउन सकेन् । त्यही भएर एक बर्ष अघि उनी धनगढी फर्किए । ८ बर्षको अनुपस्थितमा अस्पतालको मुहार आकाश पातालको फरक भएको छ । उनी जाँदा अस्पतालको अवस्था दईनीय थियो । आउँदा सबल र मजबुत छ । तीन जनाले सुरु गरेको अस्पतालका अहिले सञ्चालक आठ जना छन् । त्यसमा चार जना त विशेषज्ञ डाक्टरहरु नै छन् । १५ लाखमा थालिएको अस्पतालमा १५ करोड वढी लगानी भईसकेको छ ।
निरजले अस्पताललाई विदुर मणीको जिम्मामा छोडेर जाँदा दुई स्थानमा अस्पताल सञ्चालन हुँदा पनि अस्तव्यस्त आर्थिक अवस्था, दईनीय ओपिडीहरु, लथालिंङ उपकरणहरु थिए । अहिले आउँदा विशेषज्ञ सेवाहरु, आईसियुसम्मको सेवा दिईरहेको छ । एनआईसियु सेवा थप्ने तयारी गरिएको छ । डाईलासिस र सिटी स्क्यान सेवा विस्तारको योजना बनिसकेको छ । कार्डियोलोजी सेवा दिने योजना पनि अस्पतालको छ । १० वडा विशेषज्ञ सेवा दिनका लागि एक करोडको लगानीमा सुविधा सम्पन्न ओपिडी वार्ड निर्माण सम्पन्न भईसकेको छ । यो वार्ड भदौ महिनाभित्रै सञ्चालनको तयारी गरिएको छ ।
त्यसैगरी एक सय जना अटाउने मेडिकल हल पनि निर्माण भएको छ । निकट भविष्यमै आफ्नै सुविधा सम्पन्न अस्पताल निर्माणका लागि धनगढीको राजपुरमा १७ कट्टा जग्गा किनि सकिएको छ । झण्डै २० करोडको लगानीमा सुविधा सम्पन्न पुर्वाधार निर्माणका लागि वातावरणीय प्रभाव मुल्याकंन भईसकेको छ । एक दुई बर्षभित्रै भवन निर्माणको काम थाल्ने योजना बनाईएको छ । सुरुवातमा अस्पतालमा दिनमा उपचारका लागि आठ दश जना आउने गर्थे भने एक दुई वटा अप्रेशन हुन्थ्यो । तर आजको दिनमा स्थिति फेरिएको छ । अस्पतालमा दैनिक उपचारका लागि डेढ दुई सय जना विरामी आउने गर्छन भने आठ दश वटा अप्रेशन हुन्छन् । तीन जना एमबीबीएस डाक्टर सेवा थालेको नवजीवन अस्पतालमा अहिले १० जना विशेषज्ञ सहित एक सय १० जनाभन्दा वढी चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरु कार्यरत छन् ।
नवजीवन अस्पतालले कुनै समय एक्लो निजि अस्पतालका रुपमा सेवा दिईरहेको थियो । अहिले आएर भने धनगढी मेडिकल हबका रुपमा विकास भएको छ । नयाँ नयाँ अस्पतालहरु, विशेषज्ञ सेवाहरु र अत्याधुनिक उपचार पद्धतिहरु धनगढी भित्र्रिएका छन् । यसको श्रय डाक्टर निरज अर्याललाई नै जान्छ । अहिले लकडाउनलाई धेरैलाई समस्यामा पारेको छ । तर यसलाई उनी भने अवसरमा रुपमा लिन्छन् ।
सामान्य उपचारका लागि पनि भारत जाने प्रवृति रोकिएकोमा मात्रै छैन की नेपालको पैसा पनि नेपालीकै स्वास्थ्य संस्थाहरुमा रहेको छ । अर्को तर्फ यहाँका स्वास्थ्य संस्थाहरुमा उपचारका लागि जानुपर्ने वाध्यतात्मक परिस्थितिले विरामीहरुमा निजि अस्पतालको सेवा महसुस गर्ने अवसर मिलेको छ । यसले आगामी दिनमा निजि अस्पतालहरुलाई फाईदा पुग्ने उनको विश्वास छ । डाक्टर निरज अर्याल हुन त अहिले नवजीवन अस्पतालमा सक्रिय भुमिकामा छैनन् । तर नवजीवन अस्पतालसँगको उनको सम्बन्ध साईनो र माया भने प्रगाढ नै रहेको छ ।