धनगढीमा समुदायमा फैलियो कोरोना, उपमहानगरपालिका के गर्दैछ ?
2020/09/01, 8:25
 
corona

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा कोरोना संक्रमण समुदायस्तरमा फैलिन थालेको छ । धनगढी उप–महानगरपालिकाले समुदायस्तरमै कोरोना संक्रमण फैलिन थालेको जनाएको हो । उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वस्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले धनगढीमा समुदायमा कोरोना संक्रमण फैलिदै गएको बताए ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रयास गरिरहेको धनगढी उपमहानगरपालिको दावी रहेको छ । टेस्टिङ र कन्ट्रयाक्ट ट्रेसिङमा जोड दिएर काम गरिरहेको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक उपाध्यायले बताए । उनका अनुसार प्रदेशमै पहिलो पटक गत चैत १४ गते कोरोना संक्रमण देखिएको धनगढीमा सोमवारसम्म दुई सय ४३ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये ७५ जना ट्राभल हिस्ट्री नभएका संक्रमित रहेको धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । जुन कुल संक्रमितको एक तिहाई अर्थात ३० प्रतिशत हो । 

जनस्वास्थ्य निरिक्षक उपाध्यायका अनुसार ट्राभल हिस्ट्री नभएका एक संक्रमितको मृत्यु भईसकेको छ । सोमवार मात्र १३ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा कसैको पनि ट्राभल हिस्ट्री देखिएको छैन । प्रादेशिक अस्पतालका अनुसार सबैभन्दा बढि धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का चार महिला र पाँच पुरुष गरी नौँ जनामा संक्रमण पुष्टि भएको थियो ।

उनीहरुमध्ये ८ जना यसअघि कोरोना संक्रमण पुष्टि भएका सेती अस्पतालका एम्बुलेन्स चालकको सम्पर्कमा आएका थिए । एम्बुलेन्स चालकका परिवारका सदस्य सहित उनको सम्पर्कमा आएका ८ जनामा संक्रमण पुष्टि भएको हो । वडा नम्वर ५ कै अर्का संक्रमित भने कानुन व्यवसायी हुन् ।  वडा नम्वर ३ का नौँ महिनाकी शिशु र २५ बर्षीय युवकमा संक्रमण पुष्टि भएकोमा युवक व्यापारी हुन् ।

यसअघि धनगढीको बैंकमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि भएकोमा उनकी नौँ महिनाकी छोरीमा पनि संक्रमण देखिएको हो । यस्तै सोमवार नै वडा नम्वर १ का दुई पुरुषमा पनि संक्रमण पुष्टि भएको थियो । दुबै पुरुष भने जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हुन् ।

ट्राभल हिस्ट्री नभएका संक्रमितमा स्थानीय व्यापारी, शिक्षक, स्वास्थ्यकर्मी, प्रहरी, बैँक तथा वित्तिय संस्थाका कर्मचारी, सरसफाईकर्मी, कानुन व्यवसायी र केही सर्वसाधारण रहेको स्वास्थ्य शाखाले जनाएको छ ।