सीताराम ओझा- धनगढीमा ४३ बर्षीय मदन भट्टलाई नचिल्ने र उनको वारेमा थाहा नपाउने कमै होलान् । उनको परिचय दुई किसिमको छ । एक उनी बिमा क्षेत्रमा बर्चश्व कायम गर्दै सर्वाधिक बिमा गर्नेमा गनिन्छन् भने अर्को उनी सामाजिक विकृति, विसंगति विरुद्ध कडा प्रहार गर्छन् सामाजिक सञ्जाल फेशबुक मार्फत ।
बिमा क्षेत्रमा काम गर्न थालेको उनले झण्डै १८ बर्ष भएको छ । तर फेशवुकमा लेख्न थालेको भने केही बर्ष मात्रै पुग्न लागेको छ । एकातिर जो कोहीलाई सम्झाएर बुझाएर बिमा गराउनुछ । अर्कोतिर जो कोहीले गरेका गल्ती नियम विरुद्धका कामलाई फेशबुकमा कटाक्ष गर्नुछ । मदनले गरिरहेका दुबै काम भने एकअर्काको विपरित छन् । तर आजसम्म उनले गरिरहेका एक अर्काको प्रतिद्धन्द्धी कामले केही असर पारेको छैन् ।
२०६० सालतिर एलआईसी नेपालबाट काम सुरु गरेका उनी हाल नेपाल लाईफ ईन्सुरेन्समा आबद्ध छन् । यो अवधिमा उनले उनले दुई वटा मात्रै बिमा कम्पनीमा काम गरेका छन् । एलआईसी नेपालमा ९ बर्ष विताएका उनको नेपाल लाईफमा पनि काम थालेको ९ बर्ष पुगिसकेको छ ।
काम थालेदेखि हालसम्म उनले झण्डै चार अर्बभन्दा बढी विमांक रकमको बिमा गराईसकेका छन् । उनले झण्डै चार हजार पाँच सय मानिसहरुको बिमा गराईसकेका छन् । कुनै एक बिमा कम्पनीमा आबद्ध भएर बिमा गराईरहेका उनी अब कम्पनीभन्दा पनि बिमा क्षेत्रमा नयाँ काम गर्ने तयारीमा जुटेका छन् ।
बिमा क्षेत्रमा लागेर नाम र दाम समेत कमाएका उनले बिमा क्षेत्रको विकृती, ठगी र गलत कामहरुको बारेमा पनि राम्रै जानेका छन् । त्यही भएर अब बिमाको वारेमा जानकारी र परामर्श दिने तथा बिमा र बिमा कम्पनीबाट पिडित भएकाहरुलाई निशुल्क सहयोग गर्नका लागि आफ्नै कार्यालय खोल्ने तयारीमा लागिरहेका हुन् ।
बिमा गरेपछि दावी गर्न समस्यामा परेका, बिमाको किस्ता एजेन्टले खाएर विचल्लीमा परेका र बिमा कम्पनीहरुले बिमा रकम दिनका लागि वहाना गर्दा कयौं मानिस बर्बाद भएका घटनाहरु देखेका छन् । सुनेका छन् । ती घटनाले उनलाई पनि विझेको छ । त्यही भएर बिमा क्षेत्रमा आईपर्ने समस्याहरुलाई निशुल्क रुपमा समाधान गर्न र पिडितलाई न्याय दिनका लागि अब लाग्ने तयारी उनले गरेका हुन् ।
यही समाजले माया दियो । साथ दियो । समाजले नै बिमा क्षेत्रमा आफुलाई स्थापित गराएको कुरालाई मदन भुल्न सक्दैनन् । समाजले उनीप्रति गरेको अथाह मायाको ऋण तिर्नलाई उनी सामाजिक काममा लागिरहेका हुन् । हुन त यसअघि पनि सामाजिक काममा अग्रसर हुन पछि हटेका छैनन् ।
डडेल्धुराको सम्पन्न परिवारमा जन्मिएका मदनलाई बाल्यकालमा त्यस्तो केही पनि समस्या परेन् । बुबा आमाले छोरालाई बढी माया गरेर पुलपुल्याउँदै हुर्काए । तर स्थिति सधैं एउटै रहदैन भनेझैं उनको परिवारमा पनि यस्तै समस्याको सिर्जना भयो । तत्कालीन समयका डडेल्धुराका चर्चित ठुला व्यापारीको घरमा जन्मिएर सम्पन्नतामा बचपन बिताएका मदनलाइ नयाँ चुनौती थपियो ।
बुवाको व्यापार डुब्यो । आर्थिक स्थिति खस्केर नाजुक अवस्थामा पुग्यो र जिन्दगीमा संघर्षका दिनहरु आए लागे । काम गर्न पनि नआउने कलिलो उमेरमा काम गर्न पनि अप्ठेरो लाग्ने । अर्कोतिर काम गरेर पैसा कमाउनुको विकल्प थिएन् घर परिवारलाई खाने लाउने पुर्याउन । त्यो कटिन अवस्थामा उनको भेट स्यालको सिंह बेच्ने गिरोहसँग भयो । स्यालको सिंह खोजेर महँगोमा बेच्ने प्रलोभनमा उनी परे । दाया बाँया केही सोचेनन् । सही गलत केही ठानेनन् । स्यालको सिंह खोज्न कयौं रातहरु गोदावरीको जंगलमा बिताए । तर हात लाग्यो शुन्य ।
घर परिवारमा झन समस्या थपिदैं गएपछि उनले धनगढीमा किराना पसल राखे । गौरीफन्टा बजारबाट चिनी बोकेका दिनहरु पनि उनको मष्तिकमा ताजै छन् । किराना पसल चलाएकै बेला उनको भेट बिमा कम्पनी एलआईसीका प्रमुख पदम रानासँग उनको भेट भयो । बिमाको बारेमा पनि कुरा भयो । रानाले भनेपछि उनलाई पनि बिम गर्न सक्छु जस्तो लाग्यो । अनि बिमा अभिकर्ता भए । जुन दिनदेखि उनी बिमा अभिकर्ताको रुपमा अग्रसर भएर लागे त्यो दिनदेखि उनले आजसम्म पछाडी फर्किएर हेर्नु परेको छैन् ।
बिग्रिएको आर्थिक अबस्थामा अप्रत्यासित परिवर्तन भएको छ । करौडौंको घर, सम्पति र सवारी जोडेका छन् मदनले बिमा अभिकर्ताको रुपमा काम गरेर नै । उनीभन्दा अगाडी बिमा गराईरहेकाहरुलाई पनि उनी यो क्षेत्रमा लागेपछि निकै पछाडी छोडिसकेका छन् । उनी बिमा क्षेत्रमा वर्चश्व कायम गर्ने शिखरतर्फ उन्मुख छन् । उनले काम गरेका दुबै बिमा कम्पनीमा पनि नेपाल टप भईसकेका छन् । १८ बर्षको यो अवधिमा उनी हरेक बर्ष उत्कृष्ट ५ भित्र नै परिरहेका छन् । कुनै एक पटक पनि उनी देशभरका बिमा अभिकर्ताहरुमध्ये उत्कृष्ट ५ भन्दा बाहिर पर्नु परेको छैन् ।
वर्तमान अवस्थामा मदनसँग सबै थोक छ । धनगढीमा दुई वटा घर छन् । काठमाण्डौंमा घर बनाईरहेका छन् । चढ्नलाई आफ्नै गाडी छ । विभिन ठाउँहरुमा घर घडेरी जोडेका छन् । हरेक बर्ष आफ्नै घर परिवारका सदस्यहरुको डेढ करोड बिमाको किस्ता तिर्न सक्ने हैसियत बनाएका छन् । बार्षिक ४० लाख सरकारलाई कर तिर्दै आएका उनको यो स्थिति हुनुको पछाडी उनको मेहनत, ईमान्दारिता र लगनसिलताको परिणाम हो । सफलताको यो उचाईमा पुराउन उनको से १ प २९७ नम्बरको आरएक्स १०० मोटरसाईकलको योगदान पनि निक्कै ठुलो छ ।
बिमाको अभिकर्ता भएपछि आफुसँग भएको आरएक्स १०० मोटरसाईकलको सहारामा उनी गाउँ गाउँ घुमे । कुना कुना पुगे । ग्रामीण र विकट वस्तीहरुमा दौडिए । साठीको दशकमा बिमा अभिकर्ताको रुपमा काम गर्दै गर्दा उनलाई यस बारेमा चेतना फैलाउन, बुझाउनै बर्षौ लाग्यो । त्यो वेलामा नेटवर्किङ व्यापारको जालो गाउँ गाउँ घर घर पुगिसकेको थियो । त्यसलाई चिर्न झ्न कठिन भयो । विद्यालयका प्राधानध्यापक र शिक्षकहरुले समेत बिमाको बारेमा जानकारी नभएको पाए उनले । त्यही कुरालाई उनले आफ्नो अवसरको रुपमा हेरे । सुरुवात तिनै प्राधानध्यापक र शिक्षकहरुबा गरे ।
तराईको प्रचण्ड गर्मीमा कहिले भोकै, कहिले चियाको भरमा त कहिले पानीको सहारामा पनि दौडिरहे । आफुसँगै आएएक्स १०० लाई पनि साथी मानेर कुदाईरहे । खाली पेटको धपडीले कयौं पटक अस्प्ताल भर्ना भए । संकटकालमा सेना र तत्कालीन माओवादीबाट प्रताडित भए उनी । कयौं पटक उनको कन्चटमा दुबै पक्षले गोली समेत ताके । तर उनी नआत्तिए न डराए न त हडबडाए नै ।
आफ्नो काममा पसिना चुहाउँदै लागिरहे । यही मेहनत, परिश्रम र संघर्षले नतिना दियो उनी सन् २००८ मा एलआईसी नेपालको नेपाल टप भए । धेरैको सपनाको देश अमेरिका जाने मौका पनि पाए । त्यसलाई पनि त्यागे उनले । आफ्नै देशमा पौरखको पसिना बगाएर गौरबका साथ बाँच्ने साहस बोकेर पश्चिम नेपालमा लागिरहे ।
एलआइसी नेपाल भारतीय साझेदार बिमा कम्पनी थियो । बिमा कम्पनीको ठुलो बिमांक रकम र मुनाफा भारत गईरहेको थियो । धनगढी, महेन्द्रनगर लगायतका शहरहरुमा अधिकांशले भारतीय कम्पनीहरुमा बिमा गराउँथे । भारतीय बिमा कम्पनीका अभिकर्ताहरुको ओईरो थियो यहाँका शहर बजारमा । अब यसले उनलाई बिझाउन थाल्यो । त्यही क्रममा उनको भेट नेपाल ईन्सोरेन्स कम्पनीका सिईओ विवेक झासँग भयो । त्यो भेटभन्दा पनि उर्जा दिने मोड थियो । सधैं सर्वोकृष्ट र उत्कृष्ट भएका उनले एलआईसी छोड्ने निर्णय गरे । ९ बर्षसम्म काम गरेर नेपाल लाईफमा आबद्ध भए । त्यहाँ पनि सुरुवातदेखि नै आफ्नो प्रभाव छोड्न सफल भए । उनले नेपाल लाईफमा काम थालेको पहिलो बर्ष नै नेपाल टप भए । त्यसपछिका बर्षहरुमा उनी टप ५ भित्र परिरहेका छन् । त्योभन्दा पछाडी कहिल्यै परेका छैनन् । जुन कर्म उनले आज पनि निरन्तर गरिरहेका छन् ।
बिमा क्षेत्रको १८ बर्षको अवधिलाई उनले के पाए र के गुमाए भन्ने तराजुमा तौलिन चाहेका छैनन् । तर उनी एउटा कुरामा भने खुशी छन् । गर्वका साथ भन्छन् पनि । आफु मात्रै होईन विभिन्न बिमा कम्पनी र बिमा अभिकर्ताहरुले पछिल्ला केही बर्षदेखि सुदुरपश्चिमबाट बिमाको रकमको नाममा भारत गईरहेको अर्बौ रकम नेपालमै रोकिएको छ । यहीका कम्पनीहरुले पाएका छन् । विमा समितिलाई फाईदा भएको छ । नेपाल सरकारलाई फाईदा भएको छ ।
विमितहरुको विश्वास माया र सहयोगले नै गुमनाम जिन्दगी बिताईरहेको आफ्नो पहिचान भएर मदन भट्ट जन्मिएको मान्छन् आफैंलाई उनी । सुरुवातका दिनमा गरिएका दुःखहरुले फल दिएको हर्षित भएका उनी प्रविधिको विकासले बिमा क्षेत्रलाई अझ सहज बनाएको उनको तर्क छ । तर जति सहज र सजिलो भयो । विकृती पनि उतै बढिरहेको देखेर अब कुनै कम्पनीभन्दा पनि बिमा क्षेत्रको विकास र विस्तारका लागि आफै काम गर्ने तयारीमा लागिरहेका हुन् । उनले बिमा सम्बन्धी परामर्श त्यो पनि निशुल्क दिने कामको थालनी गर्दैछन् उनी ।
बिमाको पर्यायको रुपमा मदनको नाम आउँदा उनीसँग जोडिएको पछिल्लो पहिचान र परिचय हो जे देख्यो, त्यो तुरुन्तै फेशबुकमा हालेर विकृति र विसंगति विरुद्ध आवाज उठाउने । कुनै गलत कामहरु भईरहेका छन् ।
कसैले बदमासी गरेको छ । अनियमितता गरेको छ । नियम कानुन विपरित गईरहेको छ भने त्यसलाई मन खोलेर विरोध गर्नुपर्छ भन्ने सोच उनको छ । यस्ता विषयमा नबोल्नु मौनतामा बस्नु भनेको गलत कामहरुको समर्थन गर्नु हो मान्यता मान्ने उनी त्यही भएर समाजसँग सम्बन्धित जुनसुकै कुरा फेशबुकमा हाल्छन् ।
त्यसको विरोध गर्छन् । कटाक्ष हान्छन् । सल्लाह र सुझाव दिन्छन् । सम्बन्धित निकायलाई खबरदारी गर्छन् । यो आजभोली उनको नियमित काम जस्तै भईसकेको छ । समाज रुपान्तरण आजको आजै हुन नसक्ने उनी स्वीकार गर्छन् । तर आवाज उठाउन छोड्न नहुने उनको निष्कर्ष छ । त्यही भएर फेशबुकबाट सवैलाई कडा प्रहार गरिरहेका छन् उनी । उनले विरोध गरेको देखेर अरुले पनि विरोध गरिरहेका छन् । आवाज उठाईरहेका छन् ।
उनका म्यासेन्जरमा पनि सुचना खबरहरु आईरहेका छन् । धनगढीका अन्य युवाहरुले सामाजिक सञ्जालको प्रयोग मार्फत खबरदारी गरिरहेका छन् । यसलाई सकारात्मक पाईलाको रुपमा लिएका छन् उनले । मानिसको सोच परिवर्तन भएपनि खुलेर नराम्रा कामहरुको विरोध गर्ने परिपाटीको विकास हुन सकेको छैन् ।
यदि विरोधको गर्ने परम्पराको थालनीमा भएका मौलाउँदो भष्टाचार कम हुने, विकास निर्माणका कामहरु गुणस्तरीय र दिगो हुने, कामहरुमा पारदर्शीता कायम हुने विश्वास राख्छन् मदन । त्यही विश्वासलाई बुलन्द बनाउन फेशबुकमा लेख्न छा्ड्दैन उनी ।
यो चलन विस्तारै सामाजिक अभियानका रुपमा अघि बढेर गलत र नराम्रा कामहरुको विरोध गर्ने र राम्रा र असल कामहरुको समर्थन र प्रशंसा गर्ने दिन आउन धेरै समय नलाग्ने उनको विश्वास छ ।