अदालत र शक्तीका आडमा शेख मुनिर अहमदको आतंक (भिडियो सहित)
2020/09/01, 9:17
 
muneer khan

घटना नम्बर १ः
धनगढी उपमहानगरपालिका–१ शिवनगर केदार टोलमा सडक ग्राभेलको २९ लाख ८३ हजार ८ सय ४० रुपैयाको ग्राभेल योजना २०७६ जेठ ७ गते शुरु भयो । त्यहाँ फेला परेको होर्डिङ बोर्डमा उल्लेख भए अनुसार तीन दिनमै अर्थात २०७६ जेठ १० गते ग्राभेलको काम सम्पन्न भयो ।  गोपाल चन्दको घरदेखि पुष्पादेवी चौधरीको घर हुदै अछाम सेवा समिति जानेबाटोसम्म ग्राभेलका लागि नरबहादुर खड्काको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको थियो । जसको कोषाध्यक्ष थिईन, पुष्पा देवी चौधरी ।

सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय मार्फत कार्यान्वयन भएको यो योजनाको हर्ताकर्ता भने शेख मुनिर अहमद थिए । उपभोक्ता समिति गठन गरिएको थियो, त्यो पनि नाम मात्रको । काम पुरा नहुदै उपभोक्ता समिति मार्फत रकम शेख मुनिरले लगे । यति ठूलो रकम ग्राभेलमा खर्च गरेपनि उपभोक्ता समितिकै अध्यक्ष खड्काको घर अगाडी ग्राभेल खोज्नुपर्ने अवस्था छ । ६ लाख ८ हजार ८ सय ४० रुपैया उपभोक्ताहरुले श्रमदान गर्नुपर्ने योजनामा उल्लेख छ । तर त्यही उपभोक्ता समितिको कोषाध्यक्ष रहेकी पुष्पादेवी चौधरीलाई न योजनाका बारेमा जानकारी छ, न त त्यसको रकमका सम्बन्धमा । चौधरीले भनिन्, मलाई केही थाह छैन । 

यद्दपि उनकै हस्ताक्षरमा चेक काटेर शेख मुनिरलाई रकम दिएको अध्यक्ष खड्का बताउँछन । उपभोक्ता समितिका अध्यक्ष खड्काले योजनाको सबै रकम शेख मुनिरले लगेको बताए । तीन दिनमै ग्राभेलको काम सम्पन्न भएको त्यहाँ फालिएको बोर्डमा उल्लेख छ । पूर्बाधार कार्यालयका प्रमुख श्याम खड्का भन्छन्, साईनबोर्डमा मिस्टेक भयो होला । त्यो असार १० गते सम्पन्न गर्ने गरी सम्झौता भएको योजना हो । प्रदेश सरकारको योजना कसरी किनबेच हुन्छ यो एउटा उदाहरण हो । पूर्बाधार कार्यालयले २०७६ असार १९ गते १८ लाख ६९ हजार ३० रुपैया भुक्तानी ग¥यो । पूर्बाधार कार्यालय प्रमुख खड्काले दुई किमी सडक ग्राभेल गर्नुपर्ने सम्झौता भएपनि एक किमी मात्र भएको स्वीकार गरे । 

काम पुरा नभएपनि माननीय डिल्लीराज पन्त र वडा अध्यक्ष सन्तोष मुडभरीको सिफारिसमा रकम भुक्तानी गरिएको खड्काले बताए ।  यद्दपि खड्काले काम अनुसार रकम भुक्तानी गरेको बताए । पूर्बाधार कार्यालयले उपभोक्ता समितिलाई रकम भुक्तानी गरपनि समितिले कसलाई रकम भुक्तानी ग¥यो आफूलाई जानकारी नभएको कार्यालय प्रमुख खड्काले बताए ।
 
घटना नम्बर २ ः
शहरी विकास मन्त्रालय मार्फत २०७५÷७६ मा धनगढी उपमहानगरपालिका–१ स्थित कव्रस्तान पूर्बाधार विकास निर्माणका लागि ७९ लाख ६० हजारको योजना आयो । त्यसका लागि २०७५ माघ २० गते शहरी विकास तथा भवन डिभिजन कार्यालय धनगढी र उपभोक्ता समितिबीच सम्झौता भयो । उपभोक्ता समितिको अध्यक्ष थिए, शेख मुनिर अहमद । सम्झौता हँुदा योजनाको लागत थियो, ९५ लाख ९० हजार रुपैया । जसमा शहरी विकास तथा भवन डिभिजनको ७५ लाख ८० हजार ९ सय ५२ रुपैया र उपभोक्ता समितिका तर्फबाट २० लाख १० हजार ७ सय १३ रुपैया बराबरको श्रमदान (२० दशमलव ९६ प्रतिशत) गर्नुपर्ने सम्झौतामा उल्लेख थियो ।

शेख मुनिरको नागरिकतामा ठेगाना पर्सा जिल्लाको बिरगञ्ज–१३ उल्लेख छ । तर उनलाई धनगढी उपमहानगपालिका वडा नम्बर १ को कार्यालयले उपभोक्ता समितिको अध्यक्ष बनाईएको सिफारिस शहरी विकास तथा डिभिजन कार्यालयलाई गरियो । जसको सचिवमा प्रविण मुसलमान र कोषाध्यक्षमा शेर आशिक अलिको नाम छ । यसको काम पनि शेख मुनिर अहमदले गरे । र रकम पनि उनैले लगे । न त्यहाँ कसैले श्रमदान ग¥यो । न रकम अनुसारको काम भयो ।

घटना नम्बर ३ः 
शहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०७६÷७७ मा पुनः कव्रस्तान निर्माणका लागि ५० लाख रुपैया पठायो । त्यो योजनाका लागि २०७६ माघ १५ गते सम्झौता भयो । २०७७ असार १५ गते काम सम्पन्न गरिसक्ने गरी गरिएको सम्झौतामा उपभोक्ता समितिका तर्फबाट अध्यक्ष मोहम्मद यामिनले हस्ताक्षर गरेका छन् । जसको सचिवमा प्रविण मुसलमान र कोषाध्यक्षमा अलि मोहम्मद मुन्सरी छन् । यो योजनाको सम्झौतामा ४८ लाख ७ हजार ६ सय ९२ रुपैया शहरी विकास तथा भवन डिभिजन कार्यालयले व्यहोर्ने उल्लेख थियो ।

उपभोक्ता समितिका तर्फबाट १३ लाख ८५ हजार ८ सय ६१ रुपैया बराबरको श्रमदान गर्नुपर्ने सम्झौतामा उल्लेख थियो । कब्रिस्तानका नाममा ल्याएको रकम शेख मुनिरले मदरसाको पर्खाल निर्माणमा लगाए । शेख मुनिर सरकारी बजेटमा कैलाली अस्पताल प्रा.लि.को जग्गा मिचेर पर्खाल निर्माण गरेको अस्पताल सञ्चालक जनकराज जोशीले आरोप लगाए । अस्पतालका सञ्चालक जोशीले त्यसको बिरोध गरे र एक तर्फको पर्खाल भत्काउन लगाए ।

पर्खालको निर्माण अधुरो छ । जसको निर्माणमा ३५ लाख रुपैया खर्च भएको देखाएको छ । सरकारी बजेट अस्पतालको जग्गा मिचेर पर्खाल निर्माण भईरहदा शहरी विकास तथा डिभिजन कार्यालय रमिते मात्र भएन् काम सम्पन्न भएका भन्दै रकम समेत भुक्तानी गरिदियो । न त सम्झौता अनुसार समयमा काम शुरु भयो । न त स्टमेट अनुसार ।  स्टमेट अनुसार काम नहुँदा शहरी विकास डिभिजन कार्यालयले ३५ लाख रुपैया मात्र भुक्तानी ग¥यो । सहरी विकास तथा भवन डिभिजन कार्यालयका ईञ्जिनियर दिनेश श्रेष्ठले ३५ लाखमा कम्पाउण्ड वाल र ईण्टरलकिङ गरिएको बताए ।

अघिल्लो वर्ष बजेट र स्टेमट अनुसार काम नभएपनि बजेट आउने क्रम भने रोकिएन । यस पटक फेरि ५० लाख रुपैया कब्रिस्तान निर्माणका लागि आईसकेको छ ।  तीन वर्षदेखि कब्रस्तानका लागि निरन्तर बजेट आईरहेको छ । उपभोक्ता समितिको अध्यक्ष जो सुकै भएपनि यसको काम भने शेख मुनिरले गरिरहेका छन् । हरेक योजना सुरु हँुदा त्यहाँ त्यो योजनाका बारेमा जानकारी दिन अनिवार्य रुपमा सूचना पार्टी राख्नुपर्ने हुन्छ । तर अहिलेसम्म राखिएको छैन, ईञ्जिनियर श्रेष्ठ भन्छन्, राख्नुपर्ने त हो । तर राखिएको छैन ।

घटना नम्बर ४ः
आर्थिक वर्ष २०७६÷७७ मा शहरी विकास मन्त्रालयले धनगढी उपमहानगपालिका–२ मा मस्जिद जाने सडक स्तरोन्नतिका लागि ७० लाख पठायो । यो योजना र यसको रकम देखेर शहरी विकास तथा भवन डिभिजन कार्यालय धनगढीका प्राविधिकहरु नै आश्चर्यमा परे । के काम गर्ने, कहाँ काम गर्ने, कसरी बजेट खर्च गर्ने शहरी विकास तथा भवन डिभिजन कार्यालयका ईञ्जिनियर मोहन अवस्थी अन्यौलमा थिए । योजना हामीले मागेका होईनौ, तर बजेट नै आयो, ईञ्जिनियर अवस्थीले लकडाउन अघि भनेका थिए, सडकमा कहाँ लगानी गर्ने अन्यौलमा छौ ।  शेख मुनिरको समूहले यो योजनाको रकम वडा नम्बर १ को कब्रिस्तानको मर्मत सम्भारमा लगाउन दवाव दिएको थियो । शेख मुनिरको दवावमा सडक स्तरोन्नतिको योजना संशोधन गरी कब्रिस्तान मर्मत योजना बनाईदिन शहरी विकास तथा भवन डिभिजन कार्यालयले मन्त्रालयमा पत्राचार समेत ग¥यो । तर पछि शहरी विकास तथा डिभिजन कार्यालयले वडा नम्बर २ मस्जिद जाने सडकमा  थाल्यो ।

सडक निर्माणका लागि शहरी विकास तथा भवन डिभिजन कार्यालयले ७० लाख रुपैया बजेट भएपनि यो काम सम्पन्न गर्न ४७ लाख १५ हजार रुपैयामा बेहडाबाबा निर्माण सेवासँग २०७६ असार १६ गते सम्झौता गरेको छ । असोजमा सम्पन्न गर्ने लक्ष्यका साथ वडा नम्बर २ मा मस्जिद टोलमा सडक निर्माण भईरहेको छ । आर्थिक वर्ष २०७६÷७७ को काम २०७७÷७८ मा जारी छ । कुनै पनि योजनाका लागि मन्त्रालयले बजेट निकासा गर्दा रातो कितावमा त्यो योजना समावेश हुनुपर्छ । र त्यसको डिपिआर तयार गरेर योजना कार्यान्वयन गर्नुपर्ने हुन्छ । तर माथि उल्लेखित कुनैपनि योजनाको डिपिआर तयार नगरेरै मन्त्रालयले केही व्यक्तिको पहूँच र मिलेमतोमा पटक पटक एउटै कामका लागि बजेट पठाउदै आएको छ । शेख मुनिरहरुले संघीय सरकारबाट योजना ल्याउने मात्र होईन, संशोधन गरी त्यसलाई आपूm खुशी प्रयोगका लागि कसरी दवाव दिन्छन, यो एउटा उदाहरण हो ।
 
घटना नम्बर ५ः
पञ्चोदय माध्यामिक विद्यालयमा एक जना सांसद भवन निर्माणको प्रस्ताव लिएर गए । उनले तत्कालीन अध्यक्ष प्रमोद पाठक र प्राचार्य हरिश ओझालाई सोझै प्रस्ताव सुनाए । शेख मुनिरले तपाईहरुको विद्यालयमा भवन निर्माणका लागि एक करोड रुपैयाको योजना ल्याउँछ । त्यसमध्ये ३० लाख रुपैया योजना ल्याउँदा लगानी गर्नुपर्छ । २० लाख रुपैया मुनिरले योजना ल्याए वाफत लिन्छ । र ५० लाख रुपैया तपाईहरुले पाउनुहुन्छ । तर त्यसका लागि तपाईहरुले भवन निर्माण आवश्यक छ भनेर निवदेन दिनुपर्छ । सांसदको यो प्रस्ताव विद्यालयका प्राचार्य ओझा र अध्यक्ष पाठकले ठाडै अस्वीकार गरे । र योजना कार्यान्वयन हुन सकेन । तत्कालीन अध्यक्ष पाठकले सो प्रस्ताव अस्वीकार गरेको सुनाए ।  कहाँ योजना पार्ने, कति रकमको पार्ने त्यसको तय प्रदेश सरकार र संघीय सरकार गर्दैन, शेख मुनिर जस्ता व्यक्ती गर्छन । यो घटनाले त्यही बताउँछ ।

घटना नम्बर ६ः 
तामाङहरुको ६ बिगाहा जग्गा हडप्न चेक अनादर मुद्दा कानुनका सबै दाउ र प्रपञ्च जानेका शेख मुनिरले कानुनलाई सधै सोझा साझाहरुलाई दुःख दिन र उनीहरुको सम्पत्ती हडप्न प्रयोग गरेका छन् । शेख मुनिरले धनगढी उपमहानगरपालिका–१४ फुलवारी एच गाउँका चार तामाङ परिवारको ६ बिगाहा जग्गा कब्जा गरी उनीहरुको उठिबास गराउने नियतले पर्साको जिल्ला अदालतमा चेक अनादरको मुद्दा हाले । पीडित सागर लामा तामाङ भन्छन्,– ‘शेख मुनिरसंग हाम्रो कुनै पनि चिनजान थिएन । देखेको पनि थिएनौ । एक्कासी हाम्रो नाममा चेक अनादर गरेको मुद्दा पर्साको अदालतमा हाल्यो । र हाम्रो ६ बिगाहा जग्गा रोक्का गर्यो ।’ शेख मुनिरले ५० लाखको चेक अनादर मुद्धा धनबहादुर तामाङ, कमल बहादुर तामाङ, दोर्जे लामा र सागर तामाङ विरुद्ध पर्साको जिल्ला अदालतमा मुद्दा हालेका थिए ।

‘शेख मुनिरसँग हामीले चेक लिएको पनि थिएनौ । दिएका पनि थिएनौ ।’ सागर भन्छन्–‘अझ कुनै कारोबार र सम्बन्ध नै नभएको पर्सामा मुद्दा हाल्यो । उसले हामीलाई तारेख नभ्याउन भनेर दुःख दिने मनशायले त्यहाँ मुद्दा दर्ता गरेको हो  ।’ चार वर्षअघि शेख मुनिरले पर्सा जिल्ला अदालतमा हालेको मुद्दा तामाङहरुले जिते । सागर भन्छन– ‘ हामीले जिल्लामा जित्यौ । त्यसपछि उसले पुनरावेदनमा मुद्दा हाल्यो । हामीले पुनरावेदनमा पनि मुद्दा जित्यौ । अव उसले सर्वोच्चमा हाल्छ होला । चिन्दै नचिनेको र  कहिले कुनै कारोवार र सम्बन्ध नभएको मुनिरले जिन्दगीभर दुःख दिने भयो ।’ सागरले पाँच वर्ष मुद्दामा छ लाख रुपैया भन्दा बढी खर्च भएको गुनासो गरे । उनीहरु पनि न्यायको लडाईमा थाकेका छैन । सागर भन्छन–‘मुनिरले ५० लाख रुपैया दिनु¥यो भनेर दवाव दिएका छन् । लिदै नलिएको पैसा किन दिनु ? र कहाँबाट दिनु ?’ सागर समाजसंग आग्रह गर्छन–‘यस्तो अन्याय गर्ने व्यक्तिलाई समाजले कारबाही गर्नुप¥यो ।’ 

घटना नम्बर ७ः
धनगढी उपमहानगरपालिका–७ का भोजराज विश्वकर्मालाई पैसाको खाँचो प¥यो ।  कसैले उनलाई शेख मुनिर कहाँ पठाए । शेख मुनिरले भने पहिला जग्गा मेरो नाममा मालपोतमा गएर दृष्टिबन्धक गरिदेउ । अनि पैसा मिल्छ । सोझा भोजराजले दृष्टिबन्धक गरे । रोक्का गरे । त्यो भन्दा अघि शेखमुनिरले  भोजराज विश्वकर्माले ८० लाख रुपैया जग्गा दृष्टिबन्धक गरे वाफत लिएको कागज बनाई सके । जवकी भोजराजलाई चाहिएको थियो, ४० लाख रुपैया । मुनिरले तपाईको धितो राम्रो छ भन्दै ८० लाख रुपैयाको दृष्टिबन्धक बनाउन लगाए । दृष्टिबन्धक गरेपछि साँझ उनले मुनिरसंग पैसा मागे । उनले आलटाल गरे । भोलिपल्ट फेरी मागे । त्यसपछि पनि मुनिरले आनाकानी गरे ।

पछि जाँदा त मुनिरले भोजराजलाई उल्टै पैसा दिईसकेको भन्दै हप्काउन थाले । भोजराज विश्वकर्माले शेख मुनिरले आफ्नो जग्गा हडपेको कुरा पत्रकार  सम्मेलन गरेर जानकारी दिए । उनका विरुद्ध मिडियामा जाने पीडितहरुलाई पनि उनी दुःख दिन छोड्दैन । त्यसको लगत्तै शेख मुनिरले अदालतमा विश्वकर्माका विरुद्ध लिखित मानहानी गरेको भन्दै मुद्दा हाले । तर त्यो मुद्दा मुनिरले हारे । उनले मुद्दा हारेपनि दुःख दिन छोडेनन । भोजराज विश्वकर्माका विरुद्ध ८० लाखको सावा व्याज असुल गराई दिन पाउँ भन्दै अदालतमा अर्को मुद्दा दायर गरे ।
जुन रकम भोजराजले पाएकै छैनन । न त देखेका छन् ।  त्यही रकमको मुद्दामा उनी तारेख माथि तारेख धाईरहेका छन् । ईस्लाम धर्म र कुरानले यसरी अनाहकमा कसैलाई दुःख नदेउ भन्छ ।’ विश्वकर्मा भन्छन–‘शेख मुनिरलाई धर्म र पापको केही मतलव छैन । बस हामी जस्ता सोझा साझालाई फसाएर दुःख दिएर पैसा  कमाउन पाए पुग्यो ।’ यो जुनीमा त न्याय पाईएला जस्तो छैन । खोई मरेपछि कसरी न्याय मिल्ला ।’ विश्वकर्मा भन्छन–‘गरीव र  निमुखाको त कोही रहेनछ । न न्याय । न सरकार ।

४० लाख रुपैया ऋण लिएर हार्डवेयरको पसल र एउटा सेकेण्ड हेण्ड ट्रक किन्ने भोजराजको सपना थियो । त्यो सपना त पुरा भएन । जग्गा पनि गयो । नलिएकै पैसाको सावा व्याँज तिर्न उल्टै मुनिरले व्ल्याकमेलिङ गर्दै आएका छन् । यो कस्तो  कानुन हो ।’ भोजराज भन्छन–‘गरीवले त सपना पनि देख्न नपाउने ? विश्वासमा परेर दृष्टिबन्धक गर्नुअघि रकम लिएको कागजमा सही गरे ।’ भोजराज भन्छन– ‘त्यही विश्वास माथि  उसले घात गरेर दुःख दिईरहेको छ ।’

घटना नम्बर ८ः
धनगढी उपहानगरपालिका १ वुद्धमार्गका सचिन गुप्ताको पसलमा शेख मुनिर बिहान साँझ गईरहन्थे । किराना सामान खरीद गर्थे । शेखमुनिरसँग गुप्ता परिवारको राम्रो सम्बन्ध थियो । सचिनलाई जग्गा खरीद गर्नुपर्ने भयो । उनलाई नौ लाख रुपैयाको आवश्यकता थियो । बिहान साँझ पसलमा आईरहने मुनिरलाई यो कुरा थाह भयो । उनले आफैले सर्त राखे– नौ लाख रुपैया दिन्छु । तर १० दिनको एक लाख रुपैया थप चाहिन्छ । गुप्तालाई तत्काल पैसा चाहिएको थियो । उनले मुनिरको प्रस्ताव स्वीकार गरे । र नौ लाख रुपैया लिएर १० लाख रुपैया लिएको कागजमा सहीछाप गरे । तीन दिनभित्र १० लाख रुपैया दिने कागजी सहमति थियो । तेस्रो दिन मुनिरले पैसा मागे । त्यही दिन पैसा नदिए १२ लाख रुपैया लिने धम्की दिए । उनले नविल बैंकका तत्कालीन प्रमुख अर्जुन श्रेष्ठसँग आग्रह गरे ।

श्रेष्ठले उनको जग्गाको लोन स्वीकृत गरेर नौ लाख रुपैयाको चेक दिए । त्यो चेक सचिनका भाई बिबेकले मुनिरलाई दिए । बाँकी एक लाख रुपैया पनि चौथौ दिन पसलमै गुप्ताका बुवाले नगद मुनिरलाई दिए । त्यतिबेला गुप्ताका बुवाले पैसा लिदा बनाएको कागज मागे । मुनिरले खल्तीमा हात हाले जस्तो गरे । ल्याउन बिर्सिएको भन्दै भोलीपल्ट ल्याएर दिने बचन दिए । भोलीपल्ट मुनिर आएनन् । उनी पसलमा आउन छाडे । त्यसको केही दिनमा बिबेकले मुनिरलाई मल्ल आयल अगाडी भेटे ।

बिबेकले त्यो कागज मागे । मुनिरले थप तीन लाख रुपैया दिए मात्र कागज दिने बताए । त्यसपछि उनीहरुबीच त्यहाँ भनाभान भयो । त्यसको केही दिनपछि मुनिरले १० लाख रुपैया दिलाई पाउ पनि पर्साको बिरगञ्जमा सचिन गुप्ताका बिरुद्ध मुद्दा हाले । कहिले मुद्दा मामिला नखेपेका उनी त्यही चिन्ता र त्रासमा बिरामी परे । त्यही क्रममा उनको मृत्यु भयो । अहिलेसम्म  गुप्ता परिवारले मुद्दामा पाँच लाख रुपैया खर्च गरिसके । न्याय पाएनन् । उल्टै मुनिरले गुप्ता परिवारको जग्गा रोक्का गरिदिए । अहिले मुनिरले सात लाख रुपैया माग गरिरहेका छन् । सात लाख रुपैया नदिए जग्गा रोक्का फुकुवा नगर्ने भन्दै धम्क्याउदै आएका छन्  ।

कसरी आए मुनिर बिरगञ्जबाट कैलाली ? 
शेखमुनिर अहमदले दुःख दिएका व्यक्ती र उनी संलग्न योजनाको यो विवरणले मात्र पनि उनले कसरी कानुन र शक्ती केन्द्रलाई हतियार बनाएर प्रयोग गर्छन, यी केही उदाहरण हुन् । कैलाली जिल्लामा उनीबाट पीडित दर्जनौ परिवार छन् । कतिपयले न्यायको आस मारिसकेका छन् । कतिपय भने जीवनको अन्तिम साससम्म न्यायका लागि लड्ने अठोटका साथ हिम्मत नहारेर शेख मुनिर विरुद्धको कानुनी लडाईमा जुटेका छन् । अपहरणको आरोपमा  बिरगञ्जबाट फरार भएर खाली हात आएका शेख मुनिरले १३ वर्षमा अरुलाई घरबार बिहीन बनाएर करोडौको सम्पत्ति जोडेका छन् ।

उनको धनगढी उपमहानगरपालिका–१ पशुपती टोलमा दुई तले पक्की घर छ । जुन घरको ढोका उनी बिना खुल्दैन । त्यो घरमा बाहिरका कोही मान्छे जान पाउँदैनन । नत उनको त्यो टोलका कसैसँग सम्बन्ध छ । यो अवधिमा उनले ३० करोड रुपैया भन्दा बढीको घरजग्गा र सम्पत्ति जोडेको स्रोतले बतायो । उनको आम्दानीको कुनै कानुनी आधार छैन । यसैगरी सोझालाई फसाएर यो सबै सम्पत्ति जोडेका हुन् । सम्पत्ति शुद्धीकरण विभागले उनको सम्पत्तिको छानबिन गर्न जरुरी भएको पशुपति टोलकै एक जना मुस्लिम समुदायका व्यक्तीले बताए । उनका बिरुद्ध खुलेर भने कोही बोल्न सक्दैनन । अदालत र प्रहरीलाई देखाएर उनी सोझा साझा व्यक्तिलाई मात्र होईन, पढे लेखेका र कानुन बुझेका व्यक्तीलाई पनि तसाईरहन्छन । 

लामो खोजविन र प्राप्त प्रमाणका आधारमा तयार पारिएको यो  समाचारले शेख मुनिरले कसरी सोझा साझालाई फसाउँछन । र उठीबास गर्छन । उनी कुन कुन शक्तीको आडमा यसरी कैलालीमा अबैध धन्दा सञ्चालन गरिरहदा पनि कानुनबाट जोगिएका छन् ? त्यसका तमाम पाटाहरु यहाँ प्रस्तुत गरेका छौ । 

सार्वजनिक अपराधमा कसुरदार
शेख मुनिरका विरुद्ध उनकै साझेदार नरेश कुवँरले आफूमाथि कुटपिट भएको भन्दै दायर गरेको सार्वजनिक अपराधको मुद्दामा जिल्ला प्रशासन कार्यालय कैलालीले शेख मुनिरलाई कसुरदार ठहर गर्दै २०७२ असोज २ गते दुई हजार रुपैया जरिवाना गरेको थियो । मुनिर त्यो फैसलाका विरुद्ध जिल्ला अदालत गए । कैलाली जिल्ला अदालतका प्रमुख न्यायधिश जयानन्द पनेरुको एकल ईजलासले २०७६ पुष २२ गते मंगलवार निज शेख मुनिर अहमदलाई सार्वजनिक अपराधमा कसुरदार ठहर गर्दै जिल्ला प्रशासन कार्यालयको फैसलालाई सदर गरेको थियो ।

मुनिर विरुद्ध सार्वजनिक अपराधको मुद्दा चल्दा काँग्रेसको नेतृत्वमा सरकार थियो । तत्कालीन प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले मुनिरलाई कम्तिमा २४ दिन थुनामा राख्न अडान लिएका थिए । तर सरकारको दवावमा उनलाई एक हप्तामा छोडन प्रशासन बाध्य भयो । यद्दपि प्रशासनले धरौटी भने पाँच लाख रुपैया माग ग¥यो । सार्वजनिक अपराधमा यति ठूलो रकम माग गरेको यो घटना अपवाद थियो । सरकारले दवाव दिएपनि सहजै कानुनबाट उन्मुक्ती नदिने मनसायबाट यति धरौटी माग गरिएको थियो । तर आफ्ना विरुद्ध सार्वजनिक अपराधको मुद्दा दर्ता कुवँरलाई नै शेख मुनिरले ब्ल्याकमेल गरी कुुवँरलाई धरौटीको पाँच लाख रुपैया जम्मा गर्न लगाए । कुवँरको कमजोरी पहिलेदेखि समाति राखेका मुनिरले त्यही कमजोरीलाई हतियार बनाएर सार्वजनिक गरिदिने धम्की दिदै उनलाई रकम भर्न बाध्य पारे । जसले मुद्दा दर्ता  गरायो । उसैले मुनिरलाई धरौटी तिरेर छुटायो ।

अदालत आफ्नो ईशारामा चल्ने शेख मुनिरको दावी
पैसाको बलमा अदालतलाई समेत प्रभावित गर्ने क्षमता आफूसँग रहेको र न्यायधीशहरु समेत पैसा दिएका कारण आफूले भने अनुसार फैसला गर्ने दावी गर्दै गरेको शेख मुनिर अहमदले बोलेको भिडियो सामाजिक सञ्जालमा भाईरल भएको थियो । अदालतलाई नै बदनाम गर्ने बोलेको त्यो भिडियोमा उनी प्रष्ट चिनिन्छन । तर अरु व्यक्तीको हकमा यसरी बोल्दा अदालतले मानहानीको मुद्दा समेत चलाएका थुप्रै नजिर छन् । यो घटनामा भने अदालत मौन रह्यो । 

अदालत र कानुन आफ्नो हातमा रहेको बताउने शेख मुनिर आफ्ना साझेदार र आफूले भनेको नमानेकोलाई कसरी फसाउँछन, जिल्ला प्रहरीले एउटा अडियो समेत फेला पारेको छ । जसमा शेख मुनिर त्यो व्यक्तीलाई फसाउन एउटा केटी व्यवस्था गर्ने सुझाव दिईरहेका छन् । र पछि त्यही केटीलाई आफूलाई बेच्न खोजेको आरोप लगाउन लगाई त्यो व्यक्तीलाई तह लगाउने आईडिया दिईरहेका छन् । उनी आफूले भनेको नमान्ने व्यक्ती र साझेदारहरुलाई यस्तै षडयन्त्रको शिकार  गराई कानुनी फन्दामा पार्छन । तर उनी आफ्ना विरुद्धको कुनै प्रमाण कसैको हात लाग्न दिदैन । 

साझेदारका कमजोरीको फाईदा उठाउँदै मुनिर
शेख मुुनिर अहमद जोसँग कारोवार र साझेदारी गर्छन त्यो व्यक्तीका सबै कमजोरी आफूसँग सुरक्षित राख्छन र साझेदारीमा खटपट भए त्यही कमजोरीलाई हतियारका रुपमा प्रयोग गरेर फसाउँछन् । उनीसँग साझेदारी गर्ने हरेक व्यक्ती उनको षडयन्त्रको शिकार भएका छन् । धनगढीमा डेरी व्यवसाय गर्दै आएका दीपक खड्का शेख मुनिरका साझेदार थिए । उनी मुनिरका कारण रातारात धनगढी छोडन बाध्य भए । उनले धनगढी छोडेर जाँदा प्रहरी र प्रशासनलाई सम्बोधन गरेर पत्र छोडेका थिए–जसमा उनले आफू शेख मुनिरले ज्यान मार्ने धम्की दिएका कारण छोडन बाध्य भएको बताए थिए । तर उनलाई केही कारबाही भएन । बरु शेख मुनिरले उल्टै दीपक खड्कालाई विश्वास गरी जग्गा दिएकाहरुको जग्गा हडप्न पुरै शक्ती लगाए । शेख मुनिर र दीपक खड्काका कारण धनगढीका थुप्रै व्यक्तीको करोडौ रुपैया डुब्यो ।

उनले आफ्ना अर्का साझेदार नरेश कुवँरलाई पनि त्यसैगरी दुःख दिए । पछि कुवँरले उनका बिरुद्ध जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक अपराधमा मुद्दा दर्ता गरे । कुनै बेला मुनिरसंगै साझेदारी गरेका लक्ष्मी देवकोटा अहिले तिनैबाट पीडित छन् । मुनिरसँग संगत र साझेदारी गरेका कोही पनि जोगिएका छैनन । उनीसँग साझेदारी गर्ने दीपकले देश नै छाडे । अरु कतिपय थुनामा बसे । कतिपय अहिले पनि मुनिरले हालेको मुद्दाको तारेख दिईरहेका छन् ।

गृह मन्त्रालयले नेता लेखराज भट्टलाई बन्दुकको लाईसेन्स दिएन मुनिरलाई दियो । गृह मन्त्रालयबाट बन्दुकको लाईसेन्स प्राप्तिका लागि सिफारिस गरि दिन तीन जनाले जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन दिए । तर गृह मन्त्रालयले एक जनालाई मात्र बन्दुकको लाईसेन्स दियो । त्यो एक जना थिए, शेख मुनिर अहमद । गृहले बाँकी दुई जनालाई भने हतियारको लाईसेन्स दिन अनुमति दिएन । गृह मन्त्रालयले त्यो बेला उनलाई लाईसेन्सको अनुमति दिएको थियो, जुन बेला त्यही गृह मन्त्रालयले नेकपा विप्लवहरुको गतिविधि बढेको भन्दै जिल्ला प्रशासन कार्यालयहरुलाई व्यक्तीहरुसँग भएका लाईसेन्स वाला हतियार फिर्ता लिनु भनेर आदेश जारी गरेको थियो । 
उनले गृह मन्त्रालयको अनुमतिपछि खरिद गरेको १२ बोर २०७६ साउन ४ गते जिल्ला प्रशासन कार्यालय कैलालीमा दर्ता गरेका थिए । शेखमुनिरले बन्दुकको लाईसेन्स पाउँदा अनुमति नपाउने व्यक्ती थिए, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र  हसुलिया गाउँ विकासका पूर्व अध्यक्ष होम बहादुर गुरुङ ।

त्यस्तै २०७७ साउन २३ गते उनले १२ बोरका सय गोली खरीद गरेको भन्दै जिल्ला प्रशासनलाई जानकारी दिएका छन् । उनले त्यो बेला गोली खरिद गरेर काठमाण्डौंबाट ल्याउन, जुन बेला लकडाउनका कारण औषधी समेत ल्याउँदा काठमाण्डौं नागढुंगामा केरकार गथ्र्यो । कतिसम्म भने उनी अत्यावश्यकीय कामका नाममा जिल्ला प्रशासन कार्यालयको सवारी पास लिएर गोली लिएर आए । काँग्रेसकी नेतृको निर्देशनमा तत्कालीन गृह सचिवले शेख मुनिरलाई हतियारको लाईसेन्स दिलाएको स्रोतले बतायो । जवकी जिल्ला प्रशासन कार्यालय कैलालीले शुरुमा मुनिरलाई हतियारको लाईसेन्सका लागि गृह मन्त्रालयलाई सिफारिस दिन नै आनाकानी गरेको थिए । पछि त्यही गृह सचिवको आदेशमा जिल्ला प्रशासन कार्यालय कैलालीले सिफारिस गरेको थियो ।

कस कसको संरक्षण छ शेख मुनिरलाई ?
उनी प्राय दिन बिराएर हरेक बिहान नेपाली काँग्रेस कैलालीका सभापति नर नारायण शाह मनुको निजी कार्यालय ओम प्यालेस पुग्छन ।  उनी नियमित जाने एउटा ठाउँ त्यही हो । तर पार्टी सभापति मनुले शेख मुनिरलाई वेवास्ता गर्दै आएका छन् । यद्दपि शेख मुनिर त्यहाँ जान भने छोड्दैनन । पार्टी सभापति शाहसँग नजिकको सम्बन्ध रहेको देखाउन मुनिर त्यहाँ गईरहन्छन । यद्दपि उनको पार्टी उपसभापति प्रकाश बमसँग निकटको सम्बन्ध रहेको स्रोत बताउँछ । बमले शेख मुनिरलाई नेपाली काँग्रेस कैलालीको जिल्ला कार्य समिति सदस्यमा मनोनित गर्न सभापति शाहलाई निकै आग्रह गरेका थिए । तर सभापति शाहले मधेशी कोटामा बसन्त ठाकुरलाई सदस्यमा मनोनित गरे । नेपाली काँग्रेसका उपसभापति बमले भने शेख मुनिरसँग आफ्नो कुनै सम्बन्ध नरहेको र उनलाई आफूले संरक्षण नगरेको बताए ।

आफ्नो पहूँच देखाउन मुनिरले काँग्रेसको नेतृत्वमा सरकार भएको बेला काँग्रेसका नेताहरुबाट जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुखहरुलाई फोन गर्न लगाउने गरेका छन् । जतिबेला उनी सार्वजनिक अपराधको मुद्दामा थुनामा थिए, जिल्ला प्रशासन कार्यालयका एक अधिकृतले भने, काँग्रेसका केही ठूला नेताको दवावमा उनी छुटे । कैलाली आउने हरेक नयाँ प्रमुखलाई उनले आफ्ना बारेमा बताउन र भेट्नका लागि काँग्रेसका केन्द्रियस्तरका नेताहरुलाई फोन गर्न लगाउँछन् । यस अघिका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरीलाई पनि एक जना केन्द्रीय स्तरका नेताले फोन गरेका थिए । तर अहिले काँग्रेस प्रतिपक्षमा छ । त्यसैले उनी नेकपा सरकारको खास मान्छे भएका छन् । यतिबेला सुदूरपश्चिम प्रदेश सरकारका एक मन्त्रीको उनलाई संरक्षण छ । तिनै मन्त्रीले एक महिना अघि कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनुप जवरालाई भेट्न निर्देशन दिएका थिए ।

मुनिरलाई काँग्रेसको संरक्षण छैन–सभापति शाह
नेपाली काँग्रेस कैलालीका सभापति नर नारायण शाह मनुले शेख मुनिर अहमदलाई पार्टीकोको संरक्षण नभएको बताएका छन् । उनी मेरो निजी आवाससँगै जोडिएको ओम प्यालेसमा निरन्तर आउँछन् । तर मेरो उनीसँग भेट हुदैंन । मैले उनलाई नआउन पनि भनिदिएको छु ।’ सभापति शाहले भने–‘उनले गर्ने गलत काम र उनलाई नेपाली काँग्रेसको साथ र संरक्षण छैन । हुदंैन पनि ।’

उजुरी आए कारबाही गर्छौ– प्रहरी प्रमुख राणा
जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम राणाले शेख मुनिरका बारेमा सर्वसाधारणहरुका थुप्रै गुनासाहरु आएको बताए । प्रहरी उपरीक्षक राणाले शेख मुनिरका विरुद्ध केही उजुरी र गुनासा यस अघि आएको र अहिले पनि गुनासाहरु आईरहेको बताए । उनले भने–‘प्रमाण सहित उजुरी आए हामी मुनिरमाथि कारबाही प्रकृया अगाडी बढाउँछौ ।’

जिल्ला प्रहरी र अदालतकै वरीपरी घुम्छन मुनिर
शेख मुनिर अहमद जिल्ला प्रहरी कार्यालय कैलालीमा नयाँ प्रहरी प्रमुख आए लगत्तै कुनै न कुनै नेतालाई फोन गर्न लगाएर एसपीलाई भेट्न खोज्छन । कैलालीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र न्यायधिशसँग आफ्नो निकट सम्बन्ध रहेको बताउँदै अपराधिक तथा विभिन्न घटनामा संलग्न व्यक्तीहरुबाट रकम लिने गरेको स्रोत बताउँछ । केही महिना अघि धनगढीमा अबैध सुन र मुद्रा सहित पक्राउ परेको बर्मालाई छुटाईदिने भन्दै साढे तीन लाख रुपैया लिएको प्रहरीलाई जानकारी आएको थियो ।

प्रहरीले बर्मालाई यसको बारेमा सोधपुछ गर्यो । तर बर्माले त्यो कुरा खोल्न मानेनन् । उनी पहिले प्रायः जसो हरेक दिन जिल्ला प्रहरी कार्यालय कैलाली, जिल्ला प्रशासन कार्यालय कैलाली र जिल्ला अदालतभित्र आवात जावत गरिरहन्थे । पर्साकै एक जना एसपी जिल्ला प्रहरी कार्यालयको प्रमुख हुँदा उनको आउजाउ बाक्लो थियो । तर कैलालीको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र प्रहरी प्रमुख विनोद घिमिरे भएयता भने उनीभित्र जान सक्दैनन । र परिसर भित्र पसे पनि प्रजिअ र एसपीको कार्यकक्षभित्र पस्न सक्दैनन् ।

उनका सबै कर्तुत थाह पाएपछि तत्कालीन प्रजिअ रिजाल र एसपी घिमिरेले उनलाई भित्र आउन रोक नै लगाएका थिए । तर राणा एसपी भएर आएपछि मुनिर दुई पटक जिल्ला प्रहरी कार्यालय भित्र पसेका छन् । उनले राणासँग बिरगञ्जको नाता र मन्त्रीको नजिकको मान्छेका रुपमा सम्बन्ध बनाउन खोजेका छन् । तर राणालाई उनकै मातहतमा रहेका प्रहरी अधिकृत र पूर्व प्रमुखहरुले समेत शेख मुनिरका बारेमा सबै कुरा जानकारी दिईसकेकोले मुनिरलाई वेवास्ता गरिरहेको स्रोतले बतायो । उनी बेला बेलामा आफ्ना केही साथीहरुका अगाडीबाट एसपी राणालाई फोन समेत गर्छन । साँझ बसेर रमाईलो गरौ भन्दै भेट्न आग्रह पनि गर्छन ।

शेख मुनिर काँग्रेसका लागि गलपासो 
वर्षौदेखि नेपाली काँग्रेसमा आवद्ध मुस्लिम समुदायका व्यक्तीहरु शेख मुनिर अहमदलाई काँखी च्यापेपछि काँग्रेससँग असन्तुष्ट छन् । कतिपयले पार्टी नै छोडिसके । कतिपयले पार्टी नै बदली सके । र बाँकी पनि मौन छन् । मुस्लिम समुदायको बदनाम गरेको शेख मुनिरमाथि आरोप छ । शेख मुनिर बीरगञ्जबाट अपहरणको मुद्दा लागेपछि त्यहाँबाट २०६४ सालमा धनगढी आएको स्रोतले बतायो । उनी त्यसयता धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा बस्दै आएका छन् । उनका गतिविधि र काम प्रति स्वयम मुस्लिम समुदायका व्यक्तीहरु असन्तुष्ट छन् ।

मिटर व्याजका डन
शेख मुनिर धनगढीमा मिटर व्याजका नाईके हुन । यद्दपि कानुनी रुपमा भने उनी कही पनि चुक्दैनन । बरु अरुलाई विश्वासमा लिएर भने फसाउँदै र डुबाउँदै आएका छन् । उनीसँग साझेदारी गर्नेहरु सबैलाई उनले फसाईसकेका छन् । उनकै डरले पाँच वर्ष अघि धनगढी छोडेर भागेका दीपक खड्काले शेख मुनिरले ज्यान मार्ने धम्की दिएकोले धनगढी छोड्नु परेको भन्दै चिठ्ठी छोडेका थिए । त्यसयता उनी सम्पर्कमै छैनन । उनीसँगै साझेदारी गर्ने लक्ष्मी देवकोटालाई पनि उनले फसाईसकेका छन् । देवकोटा पनि अहिले मुद्दा खेप्दै छन् । र मुनिरले निरन्तर रुपमा देवकोटालाई व्ल्याकमेल गर्दै आएका छन् । उनीसँग साझेदारी गर्ने नरेश कुँवर पनि पिडित छन् । कुँवरलाई समेत मुनिरले फसाईसकेका छन् ।उनी अरुलाई ठगेर करोडौ रुपैयाका मालिक भएका छन् । तर उनका साझेदारहरुको भने उनकै कारण बिचल्ली भएको छ ।

मिटर व्याजको धन्दा यसरी चलाउँछन मुनिर
धनगढीमा मिटर व्याजका नाईके हुन, शेख मुनिर । उनी सानो रकममा आफ्नै नामबाट कागज बनाएर रकम दिन्छन् । तर  ठूलो रकम भने उनी अन्तैबाट सम्बन्धित व्यक्तीको खातामा रकम हाल्छन । उनले व्यक्तीको समस्या र उसको सोझोपन हेरेर मनोमानी ढंगले तमसुक बनाउँछन् । धनगढी बुद्धमार्गका सचिन गुप्ताले उनीसँग जग्गा खरीदका लागि ९ लाख रुपैया लिए । तर मुनिरले कागज बनाए, १० लाख रुपैया लिएको । एक दिन पनि भाका नाघे उनले दोब्बर रकम  असुल्न थाल्छन् । र चार दिनको भाकामा रकम लिएका सचिनलाई एक दिन ढिलो भएपछि उनले १२ लाख रुपैया माग गरे । उनका भाई बिबेक र बुवाले बैंकबाट ऋण लिएर  १० लाख रुपैया चुक्ता गरिसके । पुरै रकम लिएपनि त्यो तमसुक नदिएका मुनिरले अहिले गुप्ता परिवारका बिरुद्ध अदालतमा १० लाख रुपैया दिलाई पाउँ भनी मुद्दा दायर गरेका छन् । र जग्गा रोक्का गरिदिएका छन् ।

उनको विश्वासमा परेर जसले रकम लिई जग्गा पास ग¥यो । त्यो विश्वासमा पर्ने व्यक्तीले पछि रकम पनि पाएन । जग्गा त मुनिरका कब्जामा गयो, नै । अनि उल्टै त्यो रकमको सावा व्याज दिलाई पाउँ भन्दै उल्टै मुनिरले त्यही व्यक्ती, जसले पैसा नै पाएको छैन, उसैका विरुद्ध अदालतमा मुद्दा दायर गरे । त्यसको उदाहरण थुप्रै व्यक्ती छन्, जसमध्ये एक हुन भोजराज विश्वकर्मा । उनी ठूलो रकम मिटर व्याजमा दिदा कही कतै आफू देखिदैनन, उनीसँग कारोवार गरेकाहरुलाई थाह हुदैन । रकम कहाँबाट आयो । मुनिर कहिले बिरगञ्ज, कहिले नारायणघाट त कहिले बिराटनगरको पार्टीका तर्फबाट रकम खातामा हाल्न लगाउने गरेको उनीहरु बताउँछन । धनगढीका एक व्यापारीले उनीसँग ऋण मागे । विभिन्न व्यक्तीका नामबाट विभिन्न ठाउँबाट ती व्यापारीका खातामा रकम आयो । पछि ती व्यापारीले त्यही व्यक्तीका नाममा बैंकमा रकम जम्मा गरिदिए । तर त्यो बीचको व्याजको रकम प्रति दिन एक लाख रुपैयाका दरले भनेर मुनिरले नगद लगे ।

मिटर व्याजका माहिर खेलाडी मुनिर कहिले आफ्नो चेकबाट रकम दिएर मिटर व्याजमा लगाउँदैनन । न त उनी चेक नै बुझ्छन । उनी यस्तो कारोबार नगदमा गर्छन । उनी मिटर व्याजमा रकम माग्नेलाई भन्छन–‘तपाईको खातामा बिरगञ्जको पार्टीले रकम हालिदिन्छ । नभन्दै रकम पनि आईपुग्छ । 

अपहरण मुद्दामा फरार शेखर मुनिर
शेख मुनिर अहमद विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा २०६४ चैत २० गते महिला बेचबिखनको मुद्दा दर्ता भयो । शेख मुनिरका विरुद्ध मुद्दा दर्ता गर्ने युवती थिईन, आरती लामिछाने । मुनिरले आफूलाई झुक्याएर बेच्ने उद्देश्यले भारत लैजादै गरेको अवस्थामा २०६४ माघ २ गते रक्सौलबाट फुत्किएको लामिछानेले जाहेरीमा उल्लेख गरेकी थिईन । उनी त्यही घटनापछि बिरगञ्जबाट धनगढी आएका हुन् । धनगढीमा आउदा उनी फरार अभियुक्त थिए । तर उनी यहाँ आएपछि नेपाली काँग्रेसको आडमा जोगिदै आए । उनले काँग्रेसका पद र  त्यही पदको आडमा पैसा पनि कमाए । उनीमाथि लागेको अपहरण मुद्दा मुल्तबीमा थियो । जुन मुद्दामा उनले केही महिना अघि सफाई पाएका थिए ।

अपहरणको आरोपछि धनगढी आएका मुनिरले कसरी जोडे करौडोको सम्पत्ति ?
– मुनिरको मन्त्री कनेक्सन

काँग्रेस शक्तीमा हुँदा शेख मुनिर काँग्रेसका कार्यकर्ता थिए । अहिले पनि भन्नलाई उनी काँग्रेसकै कार्यकर्ता हुन् । तर सरकारमा नेकपा भएपछि उनी पनि नेकपा सरकारकै मान्छे भएका छन् । प्रदेश सरकारका योजनामा समेत उनको हालीमुहाली छ । उनको हाल सुदूर पश्चिमप्रदेश सरकारका एक मन्त्रीसंग राम्रो सम्बन्ध र उठबस छ ।  मुनिर अहिले तिनै मन्त्रीको आडमा काम गर्छन । कतिसम्म भने ती मन्त्रीले गत वर्ष दशैअघि फिरौती र दोहोरो नागरिकताको मुद्दामा प्रहरी हिरासतमा रहेका मुनिरका साझेदारलाई छोड्न तत्कालीन निमित्त प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख उपरीक्षकलाई  ठाडो निर्देशन दिएका थिए ।

प्रजिअले जवाफमा मन्त्रीलाई भनेका थिए, मन्त्री ज्यू तपाईले त्यो मान्छेका बारेमा सबै कुरा थाह भएर छोड्न भन्नु भएको हो वा थाह नभएर भन्नु भएको हो ? मन्त्रीले दशैं खान दिनु प¥यो भन्दै दशैं अघि छोड्न प्रजिअलाई दवाव दिएका थिए । पछि ती व्यक्ती अदालतको आदेशमा धरौटीमा रिहा भए ।

एक महिना अघि तिनै मन्त्रीले कैलालीका एक प्रहरी प्रमुखलाई भेट्न आफ्नो मान्छे आउदैछ छ भनेर फोन मार्फत जानकारी दिए । र भेट्न उनलाई निर्देशन  दिए । मन्त्रीले आफ्नो भनेको मान्छे शेख मुनिर थिए । शेख मुनिर भेट्न आएको देखेपछि ती प्रहरी अफिसर चकित परे । किनकी ती अफिसरलाई मुनिरका बारेमा सबै कुरा पहिल्यै थाह पाईसकेका थिए ।

शहरी विकास डिभिजनका प्रमुख परिक्षित कडरिया भन्छन– हामीले योजना मागेकै होईनौ
बिगत तीन वर्षदेखि धनगढी उपमहानगरपालिकामा कब्रस्तान निर्माणका लागि सहरी विकास मन्त्रालयबाट रकम आईरहेको छ । तर त्यहाँ अहिले बस्ती बसिसकेको छ । बस्तीको बीचमा भएको कब्रस्तान हटाउन स्थानीयले निरन्तर दवाव दिदै आएका छन् । त्यही कब्रस्तानको निर्माणमा रकम भने वर्षेनी आईरहेको छ । चकित पार्ने कुरा त के भने, अघिल्लो आर्थिक वर्षको रकम खर्च भएको हुदैन । काम पनि भएको हुदैन । तर नयाँ आर्थिक वर्षमा फेरि रकम आईहाल्छ । यो देखेर शहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख परिक्षित कडरिया पनि चकित छन् । ‘हामीले योजना मागेका पनि होईनौँ । तर खोई उसले (मुनिर) ले कसरी ल्याउँछ ? योजना आयोगले कसरी त्यसलाई पार्छ ।’ उनले भने । 

पछिल्लो तीन वर्षदेखि माटो भरान र ग्याबीन तटबन्धको नाममा कब्रस्तानमा योजना सञ्चालनमा छ । तर न त्यहाँ अहिलेसम्म सम्पन्न भएका कुनै योजनाका बारेमा सूचना पार्टी राखिएको छ । न त के के काम भयो ? कसैलाई थाह छ । उनैले उपभोक्ता समिति बनाउँछन् । कहिले अध्यक्ष आफै बस्छन । कहिले अरुलाई राख्छन । तर त्यसमा हालीमुहाली भने उनकै हुन्छ ।

कसरी फस्छन मान्छेहरु उनको जालमा ?
उनलाई नचिन्ने र उनले पहिलो पटक भेटेको मान्छेलाई उनी सहजै आफ्नो शब्दजाल र मिठो कुराको प्रभावमा पार्छन । र उनीमाथि सजिलै त्यो मान्छेले विश्वास गर्छ । उनी त्यही विश्वासमाथि घात गर्दै त्यही व्यक्तीलाई कि अरुका बिरुद्ध प्रयोग गर्छन । कि उसैलाई फसाएर उठिवास गराउँछन् ।  यसरी विश्वासमा परेका कैलालीका दर्जनौ व्यक्ती शेख मुनिरबाट पिडित छन् । प्रताडित छन् । फसाईएका छन् । उठिबास गरिएका छन् ।

तर तिनै निर्दोष मान्छेका पीडा संञ्चार माध्यममा आउँदा उनले आफूलाई अल्पसंख्यक समुदायको र बाहिरबाट आएको व्यक्ती भएका कारण यो समाजले आफूलाई पचाउन नसकेको भन्दै जिल्ला बाहिरका नेता र शक्ती केन्द्रलाई  आफूप्रति सकारात्मक मात्र  बनाउँदैन । पीडित नै मुनिर हो कि भन्ने ठान्छन् । तर जिल्लाको वास्तविकता भने बुझ्दैनन । तर कतिपय नेता र शक्ती केन्द्रलाई भने उनले आर्थिक प्रलोभनमा पारेर आफ्नो स्वार्थ पुरा गराउँछन् । नेकपाका स्थायी कमिटि सदस्य लेखराज भट्टले बन्दुकको लाईसेन्स नपाउँदा मुनिरले पाउनुको पछाडीको कारण आर्थिक चलखेल र शक्ती केन्द्रसँगको पहूँच भएको स्रोत बताउँछ ।

अन्त्यमा,
समाचारमा माथि उल्लेखित आरोपका विषयमा मोवाईल मार्फत शेख मुनिरसँग सम्पर्क गरेर उनको धारणा लिईएको छ । शेख मुनिरले आफूमाथि लगाएका आरोप सत्य नभएको मात्र बताएनन् । उनले अहिलेसम्म कुनै कानुन विपरित कुनै काम नगरेको दावी गरे ।

प्रस्तुत छ, शेख मुनिर अहमदसँग गरिएको कुराकानी । 
–तपाई बिरगञ्जबाट अपहरणको आरोपमा फरार भएर धनगढी आउनुभएको आरोप छ नि ? 
म नेपालको नागरिकको हो । अहिलेसम्म मेरा बिरुद्ध कुनै चार्ज लागेको छैन । म फरार भएर आएको होईन । 

–जिल्ला प्रहरी कार्यालय पर्सामा २०६४ चैत २० गते महिला बेचबिखनको मुद्दा दर्ता भएको छ नि तपाईका बिरुद्ध ? आरती लामिछानेको अपहरण गरेको आरोप छ त ?
मैले अन्तर जातीय बिबाह गरेको हँु । मैले बिहा गरेपछि माईती पक्षले मेरा बिरुद्ध अपहरण मुद्दा दर्ता गरे । पछि उहाँहरुले नै मुद्दा फिर्ता लिएका हुन् ।
–प्रदेश र संघका योजनाहरु किनबेचमा संलग्न हुनुहुन्छ भन्ने छ नि ?
म त्यस्ता क्रियाकलापमा संलग्न छैन । 
–पैसाको समस्यामा परेका सोझा साझा व्यक्तीहरुलाई तपाई उनीहरुको जग्गा दृष्टिबन्धक गरी रोक्का गर्न लगाउनुहुन्छ ? तर त्यो भन्दा पहिले नै पैसा लिईसकेको कागज बनाउनुपर्छ । तर जग्गा आफ्नो नाम भएपछि पैसा नदिएर उल्टै दुःख दिनुहुन्छ भन्ने आरोप छ ?
मेरो अगाडी आएर कसैले भनुन् । अहिलेसम्म कसैलाई त्यस्तो गरेको छैन । पैसा उधारो दिएको छु । उधारो पैसा लिएर दिएनन् भने त पैसा माग्न अदालत जाने गरेको छु ।
–मिटर व्याजमा रकम लगाएर तपाईले चर्को व्याज असुल्नु हुन्छ भन्ने आरोप छ ?
यो तपाईको आरोप  हो । मैले मिटर व्याजमा पैसा लगाएको छैन । सापटी माग्दा दिएको छु । सापटी मागेको रकम त माग्न पाउनु प¥यो । 

–तपाईलाई केही महिना अघि प्रहरीले खोजी शुरु गरेपछि फरार भएको भन्ने आरोप थियो ? त्यसमा तपाईको भनाई के छ ?
प्रहरीलाई सोध्नुस । म भागेको पनि छैन । सम्पर्क बिहीन पनि कहिल्यै भएन । मैले त्यस्तो कुनै भाग्नुपर्ने कानुन विपरित काम गरेको छैन । त्यो कुरामा सत्यता छैन ।
(यो सामाग्री पश्चिम टुडे डटकमबाट साभार गरिएको हो । )