प्रदेश दौडाउने मुख्यमन्त्रीलाई बाढी प्रभावित क्षेत्र पुग्न आधा महिना किन लाग्छ ? 
2020/09/05, 8:42
 
rajniti

‘विभिन्न कारणले अहिलेसम्म ढिलासुस्ती भयो । प्रदेश सरकारले धेरै काम गर्न सकेन । अब प्रदेश सरकार दगुर्नेछ ।’ सुदूर पश्चिम प्रदेश सभाको छैठौ अधिवेशनको दशौं बैठकमा गत जेठ २६ मुख्यमन्त्री त्रिलोचन भट्टले भनेको कुरा सुन्दा जो कोही सुदुरपश्चिमवासीहरुमा आशाको सञ्चार भयो । हामी संघीयताको नौलो अभ्यासमा छौं, हामी संघीयताको जग बस्नाल्नतिर अग्रसर छौं भनेर दुई बर्षको अवधिमा मुख्यमन्त्री त्रिलोचन भट्टको भाषण सुनेका, पढेका र हेरेकाहरुले त्यही स्मरण गर्दै प्रदेश सरकार अव साच्चै दौडिन्छ की भन्ने आशा गरे । तर त्यो आशा एक दिन त के केही घण्टा पनि टिकेन् । मुख्यमन्त्री भट्टले आत्मविश्वासका साथ गरेको भाषण मिथ्या सावित हुन समय लागेन् । 


झट्ट हेर्दा सालिन र भद्र स्वभावका देखिने मुख्यमन्त्रीको कुटिलतालाई आत्मसाथ गरेर वसेकाहरुको धर्यताको वाँध फुट्यो । सामाजिक सञ्जालमा आक्रोस र विरोधका पोष्टहरुको चांग लाग्यो । प्रदेश सरकार भांग खाएर सुतेको छ कि भन्न पनि वेर लाएनन् । प्रदेश सरकार र निजि क्षेत्र मिलेर गएमा प्रदेशको समृद्धि सम्भव छ । तर प्रदेश सरकार प्रदेशको भन्दा पनि आफु आफ्ना परिवार आफ्ना कार्यकर्ताहरुलाई नै समृद्ध बनाउन लागेपछि निजि क्षेत्रले प्रदेश सरकारको काम गरिरहेको छ । कहिले काही त लाग्छ वास्तवमा प्रदेश सरकार कहाँ छ ? कतिपयले सार्वजनिक सुचना नै जारी गर्छन् सुदुरपश्चिम प्रदेश सरकार हराएको । आँखा चिम्लेर नदेखेझैं गरेर बसिरहे सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट । मुख्यमन्त्रीले बोलेनन्, मन्त्रीहरुले हेरेन्, । मुख्यमन्त्रीको भनाई र उनको गराई नै आजसम्म मिलेको छैन । 

बाढी प्रभावित क्षेत्रमा पुग्न १६ दिन 
सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट सहितको टोलीले नेपाली सेनाको हेलिकप्टर मार्फत अछाम र बाजुराको बाढी प्रभावित क्षेत्रको निरिक्षणमा गयो । मुख्यमन्त्री नेतृत्वको टोली भदौ २ गते राती अविरल वर्षासँगै कैलाश खोलामा आएको बाढीले बगाएर अछामको रामारोशन गाउँपालिकामा भएको मानवीय तथा भौतिक क्षतिको अवस्था बुझ्न भदौ १८ गते बाढी प्रभावित क्षेत्रमा पुगे । प्रदेश सरकारलाई त्यहाँ पुग्न १६ दिन लाग्यो । 

2

मुख्यमन्त्री भट्टले बाढी प्रभावित क्षेत्रको अवस्था एकदमै दयनीय भएको बताएका थिए । मानवीय तथा भौतिक पीडा खेपिरहेका ‘यहाँका जनताले अहिले पनि ठुलो सास्ती खेपिरहेका छन । यो ठुलो पिडा हो ।’ मुख्यमन्त्री भट्टले भनेका थिए– ‘स्थानीय, प्रदेश र संघीय सरकारको क्षमताले भ्याए अनुसारको काम हामी गछौ ।’ उनले प्रदेश सरकारले मृतकका परिवारलाई क्षतिपूर्ति र घाईतेको निःशुल्क उपचारको व्यवस्था मिलाएको बताए । तर नागरिकहरुलई मुख्यमन्त्रीको भाषण सुनिरहँदा तपाई १६ दिनपछि पुग्दा त यो अवस्था छ ? सुरुका दिनमा कस्तो जिन्दगी थियो होला ?  

१७ दिनपछि भजनीको वाढी प्रभावित क्षेत्रमा 
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सहितको टोलीले बाढी आएको झण्डै आधा महिनापछि प्रभावित क्षेत्रको स्थलगत निरीक्षण तथा अनुगमनमा गयो । साउन १४ गते आएको बाढीले पुर्याएको क्षतिका बारेमा बुझ्न जिल्लाको भजनी नगरपालिका सहितको क्षेत्रमा मुख्यमन्त्री भट्ट सहितको टोलीले साउन ३१ गते अनुगमन तथा निरीक्षण गर्यो ।

1

मुख्यमन्त्री भट्टले डुबान क्षेत्रको अनुगमन गर्दै तत्काल र दिर्घकालीन योजना बनाएर समस्या समाधान गरिने बताउन पनि छोडेनन् ।  उनले बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने आश्वासन पनि वाँडे ।  

किन आधा महिना लाग्छ मुख्यमन्त्री ज्यु ? 

‘मुख्यमन्त्रीलाई प्रदेश सरकारको टुप्पो कहाँ हो ठेक कहाँ हो भन्ने केही थाहा छैन् । यो त केही होईन अब गरिहाल्लाकी भन्ने नारा दिएर समस्यालाई टार्ने कडी हो ।’ डोटी बहुमुखी क्याम्पसका राजनितिक शास्त्रका सह–प्राध्यापक तिर्थराज जोशी भन्छन्–‘अहिलेसम्म कहाँ गएका थिए दर्गुनलाई ? कछुवा र खरायोको दौडमा सुरुमा सुत्ने पछि किन दौड्ने ? दर्गुनु पर्ने नै केही केही थिएन हिडी दिए पनि हुन्थ्यो । समयमा केही गरिरहेका छैनन् । सुतेको सुतेकै भए । आफ्नो जिम्मेदारी गर्ने हो ? के भनेर चुनावमा आएको हो ? त्योलाई हेक्का राख्नुपर्यो । कुम्भकर्ण जस्तो सुतेपछि जनताहरु रिसाएर बाजा बजाउन थाले । अनि दौडिन्छौं भन्ने ।’ प्राध्यापक जोशी मुख्यमन्त्रीको भनाई गफ मात्रै नभएर कपटको संज्ञा दिन्छन् ।

‘मुख्यमन्त्रीलाई भाषणमा कसैले जित्न सक्दैन तर कामको लक्ष्मण छैन । हामीले निराश हुने कुरा केही छैन । उनीहरुलाई सजग गराउनु पर्छ ।’ जोशी थप्छन्–‘यो अभिव्यक्ती गफ मात्रै होईन कपट हो । कुरा नगरेर काम हुदैन सपना दिनु राम्रो हो । यसो गर्छु उसो गर्छु भने सपना देखाउँछन् ।  योजना दिन्छन ।  पछि बीचमै हराउँछन् । त्यसपछि नयाँ कुरा ल्याउँछन् । मुख्यमन्त्री कसरी गदुर्दैछन हेरि राख्याछौं । मुख्यमन्त्रीलाई दगुर्न नदिन धेरै पासाहरु लगाएका छन् । उनी कसरी दगुर्छन । दुई पाईला अगाडी गयो पछाडी तान्ने प्रवृति छ । जबसम्म वाटो नै क्लियर छैन भने कसरी दौडिन्छन् ? पहिले त बाटोको तगारो हटाउनु पर्यो नि ।’

हुन त मुख्यमन्त्री भट्टले प्रदेश दौडिन्छ भन्ने कुरामा आशा गरे पनि उनको कुरामा विश्वास नगर्ने जमात ठुलै छ । किनकी उनले तीन बर्ष अघि मुख्यमन्त्री पदको शपथ ग्रहण गर्दा भनेको कुरा अहिलेसम्म कार्यान्वयन गरेका छैनन् । शपथ लिएपछि मुख्यमन्त्री त्रिलोचन भट्टले भनेका थिए, ‘रोजगारीका लागि भारत जानुपर्ने बाध्यता प्रदेश सरकारले अन्त्य गर्नेछ ।’  कुनै वेला लामो समय आफैँ भारतमा काम गरेका उनको यो भनाइले निकै चर्चा पायो । तर, न्यून मूल्यमा श्रम बेच्न भारत जानुपर्ने सुदूरपश्चिमेलीको बाध्यता अन्त्य गर्न उनी नेतृत्वको सरकारले ढाई वर्षसम्म पनि ठोस कार्यक्रम ल्याउन सकेन ।

1

सुदूरपश्चिमेलीको बाध्यता जस्ताको तस्तै छ । ‘त्रिलोचन भट्टलाई मुख्य पद दिनु नै एउटा हात्ती लगेर जाउ भनेको जस्तो हो । रिक्सावालाई हात्ती दियो भने के हुन्छ । रिक्सा पनि काम लाग्न सक्दैन् । रिक्सवालाले पनि वोक्न सक्दैन ।’ नागरिक समाजका अगुवा प्रमोद पाठक भन्छन्–‘ उहाँले दुई बर्ष अघि धनगढी दिपायल फाष्ट ट्याकमा आफ्नै गाडी लगेर जान्छु भन्नुभएको थियो तर अहिलेसम्म गर्नु भएको छ । जे वोल्नुभयो । त्यो पुरा गर्नु भएन ।’ पाठक यसमा मुख्यमन्त्रीभन्दा पनि उहाँलाई पद दिनेलाई बढी दोषी ठान्छन् । ‘यसमा उहाँको दोष छैन् । वस भनेपछि वस्नुपर्ने उहाँको समस्या होला । तर क्षमता नभएर पनि उहाँलाई जिम्मेवारी दिनेवालाहरु अझ वढी दोषी छन् ।’ उनले भने–‘उहाँले गर्न नसक्नु उहाँ मात्रै असफल हुनु होईन । हामी सुदुरपश्चिम प्रदेशका २८ लाख मानिसहरु  पछाडी पर्नु हो ।’


मुख्यमन्त्रीको बोली भनेको समय सापेक्ष बोल्न सिपालु नेताहरुमा हुने गुण भएको कैलाली वहुमुखी क्याम्पसका राजनितिक शास्त्रका सह–प्राध्यापक देवराज अवस्थी बताउँछन् । ‘राजनितिकर्मीहरु समय सापेक्ष वोल्न माहिर हुन्छन् । मुख्यमन्त्री पनि बोल्न खप्पीस छन् । त्यसै समय अनुसार वोलेका हुन लाग्छ छ ।’ अवस्थी भन्छन–‘उहाँले केही खास गर्न सक्नु भएको छैन । यो महामारीको वेला बोलेर जनतालाई डाईभर्ट गर्न खोजेको जस्तो देखियो । आफ्नो वचाउको लागि प्रदेश दगुर्छ भनेको हुनुपर्छ ।’

यो पनि पढ्नुहोस् 

“आफै बाँधिएका मुख्यमन्त्रीले प्रदेशलाई कसरी दौडाउँलान ?”

मुख्यमन्त्री भट्ट बाढी आएको आधा महिनापछि प्रभावित क्षेत्रमा पुगे

मुख्यमन्त्री भट्ट सहितको टोलीद्धारा बाढी प्रभावित क्षेत्रको निरीक्षण