जाडी होली पुषका मैना ओडिहाल सल
दूध खान भनि बिल्लो गयो, उही पड्यो कौल
बाहुनका धुलौटो छनै, धामीका पगडी
मुसो उपरखुट्टी हाल्लो, बिल्लोको अगाडी
सदूरपश्चिममा देउडा सम्राटको परिचय बनाएका नरेन्द्रराज रेग्मीलाई यी चार हरफले स्थायी शिक्षकबाट देउडा सर्जक बनाए । गीतबाट परिचित हुने धेरै पात्रहरूमध्येका एक हुन् रेग्मी पनि । तर सर्जक रेग्मी सोही गीतका कारण जिल्लाबाटै विस्थापित हुन पुगेका थिए । २०४२ देखि बझाङको थलारामा रहेको थलारा माध्यमिक विद्यालयमा शिक्षण पेसामा कार्यरत रेग्मीको जन्म २०१६ सालमा बझाङको मालुमेलामा भएको थियो ।
२०४४ मा आफूले अध्यापन गर्ने विद्यालयबाट विद्यार्थी लिएर एउटा सांस्कृतिक कार्यक्रममा सहभागी भए । कार्यक्रमका प्रमुख अतिथि थिए, बझाङका प्रमुख जिल्ला अधिकारी । प्रमुख जिल्ला अधिकारीको क्वार्टरमा दूध पु¥याउन जाने एक किशोरीसँग उनको अवैध सम्बन्ध रहेको थियो । सबैलाई यो कुरा थाहा थियो । तर पचायतकालको बेला सबैलाई थाहा भएर पनि कोही बोलेनन् । रेग्मीले यही विषयलाई गीत बनाए र गाए ।
उक्त गीतले सिडिओलाई पोल्यो । शिक्षकलाई त्यसै केही भन्न मिलेन । उनले राजाको अपमान गरेको भन्दै रेग्मीमाथि राजद्रोहको मुद्दा चलाए । उनलाई पक्राउ गर्ने चेतावनी दिएपछि रेग्मी सरकारी जागिरसँगै थातथालो पनि छाडेर भागे। ३० वर्षपछि त्यो दिन सम्झँदै रेग्मीले भने, ‘सिडिओले नलखेटेको भए आज पनि त्यही ठाउँमै पढाएरै बसेको हुन्थेँ होला ।’ गायक रेग्मीलाई लागेको संगीतको नशाले छ वर्षदेखिको सरकारी जागिर छुटायो तर संगीतको साधना भने छुटाउन सकेन । सरकारी जागिर छुटेपछि २०४५ सालमा रेडियो नेपालमा स्वर परीक्षाका लागि उनी काठमाडौं गए । स्वर परीक्षामा उत्तीर्ण भए ।
गीतमा राजनितिक व्यग्ंय
उनी राजनीतिमा भएका विकृतिलाई पनि गीतको रूपमा प्रस्तुत गर्न थाले । त्यही व्यंग्यात्मक गीतमध्येको एउटा थियो ’चैर मुसी चैर ।’
चैर मुसी चैर, चैर मुसी चैर
गोठका भ¥याङमुनि फुछड लुकाउना छन्
सिंहदरबारभित्र पसी बजेट मल्काउना छन्
चैर मुसी चैर
आजकल मुसा पसिगया अपिस हुने घर भन्सार,
मालपोत, नापी शाखा वन विभाग र कर
चैर मुसी चैर
कल्लेइ ताली बजाएन, कि गट्टो स्वर भयो
मुसा मार्न बिल्लो पाले, त्यही पनि चोर भयो
चैर मुसी चैर तीन दशक पहिले रेडियो नेपालमा स्वर परीक्षामा उत्तीर्ण भएपछि रेकर्ड गरिएको गीत हो, चैर मुसी चैर । २०४५ सालमा पहिलो पटक ‘खप्तडको सेरोफोरो’ क्यासेट निकाले उनले । उक्त क्यासेटमा यो गीत समावेश छ । ’त्यो बेला जनतालाई चुसेर सिंहदरबारभित्र रमाउनेलाई व्यंग्य गरेर गीत लेखेँ, अहिले त्यस्ता थुप्रै गीतले बजार पिट्दै छन् । पहिलो क्यासेटबाटै रेग्मीलाई ठूलो सफलता मिल्यो । ‘त्यो बेला मेरो एक लाख क्यासेट बिक्री भयो । त्यो समयमा सर्वाधिक बिक्री भएको ‘खप्तडको सेरोफोरो नै हो’, रेग्मीले भने, ‘तीन दशक अघिको गीत अहिले पनि सान्दर्भिक छ । नेता उस्तै छन्, व्यथा उस्तै छ ।’ यसो भन्दै उनी खित्का छाडेर हाँसे । ‘चैर मुसी चैर भन्नाले चर मुसा चर भन्ने बुझिन्छ’, रेग्मीले भने, ‘त्यो बेला जनतालाई चुसेर सिंहदरबारभित्र रमाउनेलाई व्यंग्य गरेर गीत लेखेँ, अहिले त्यस्ता थुप्रै गीतले बजार पिट्दै छन् ।’ यही गीत मार्फत् देउडा संगीतको नगरीमा पाइला टेकेका थिए नरेन्द्रराज रेग्मीले ।
अहिले पनि यो गीत धेरै श्रोताको मन मस्तिष्कमा छ । त्यसै गीतले रेग्मीलाई चर्चित मात्रै बनाएन, रेग्मीको सांगीतिक यात्रामा बलियो जग भएर रह्यो । झण्डै तीन दशक लामो सांगीतिक यात्रामा उनले छ दर्जन क्यासेट सार्वजनिक गरिसकेका छन् । २०५१ सालमा ‘इसा मुसा काइनाई’ भन्दै रेग्मीले गाईजात्रा पनि निकाले । सुदुरपश्चिममा गाईजात्रा निकाल्ने उनी नै पहिलो कलाकार हुन । गायिका नपाउने समस्या रेग्मीले पहिलो पाँच वटा एल्बम भने एकल स्वरमा गाए । त्यो उनको रहरको कारण थिएन, बाध्यता थियो उनको । गायिका नपाएका कारण उनले एकल स्वरमा गीत गाएका थिए । ‘केन्द्रमा रहेका गायिकाहरूले सुदूरपश्चिमको भाषा नबुझ्ने, यहाँ गायिका पाउन मुस्किल’, रेग्मीले भने । तत्कालीन समयमा रेग्मीको एकल संघर्ष जारी रह्यो । ‘राम्रो स्वर भएका युवतीलाई भनौँ भने घर भाँडिएला भन्ने डर, नभनौँ भने पाँच वटा एल्बम एक्लै निकालिसकेँ’, रेग्मीले भने । उनले सुदूरमा गायिका नपाएपछि केन्द्रकै गायिकालाई देउडा गाउन लगाएको पनि सुनाए ।
क्यासेट जलाउँदाको पीडा
’त्यो बेला एल्बम बेचेर खर्च टार्नुपर्ने बाध्यता थियो’, रेग्मीले सुनाए, ‘अहिले जस्तो हातहातमा गीत बजाउने अवस्था थिएन । त्यस्तो बेला मेरा १० हजार बढी एल्बम जलाइयो ।’ २०५८ सालमा तत्कालीन राजा वीरेन्द्रको वंशनास भएको सम्झनामा रेग्मीले गीत बनाएका थिए । घटनाको छानबिन गर्न तत्कालीन प्रधानन्यायाधीश र सभामुखको दुई सदस्यीय उच्च स्तरीय समिति बनाइयो । प्रतिवेदन भन्छ, युवराज दीपेन्द्र आफैँले कन्चटमा पेस्तोल हानेर पुल छेउतिर अचेत अवस्थामा लडिबक्सेको थियो ।
तर प्रश्न आफैँले हतियार प्रयोग गरी आफैँ अचेत भएको व्यक्तिको हातबाट पेस्तोल फुत्केर कसरी पोखरीमा पुग्यो ? रानाभाट आयोगले निकालेको निष्कर्ष जनतालाई स्वीकार्य नहुने भन्दै गीत गाएका रेग्मीको त्यसै वर्ष क्यासेट जालाइयो, गीतमाथि प्रतिबन्ध लगाइयो । त्यो दिन सम्झँदै रेग्मीले भने, ‘मुलुक द्वन्द्वमा थियो, सरकार विरुद्ध कोही चुइँक्क बोल्न सक्ने अवस्था थिएन । म बोलेँ । क्यासेट जलाए । मलाई पनि जलाउँछन् कि भन्ने डर लाग्यो ।’
राष्ट्रव्यापी बन्यो देउडा
रेग्मीले राष्ट्रिय कलाकारहरूलाई पनि देउडा गीत गाउन लगाएर देउडाको विस्तृतीकरणमा खेलेको भूमिका सम्झनलायक छ । केही वर्ष अघि रामचन्द्र काफ्ले र जुनु रिजालले ‘खेलौला देउडा चैतली’ गीत गाएपछि सुदूरको देउडाले राष्ट्रियस्तरमा महत्व पाएको थियो । त्यो गीतका शब्द संकलक पनि रेग्मी हुन् । त्यसपछि मिलन लामाले पनि रेग्मीकै शब्दमा रहेको देउडा गाए । अर्जुन कौशलले ‘आइगयो वसन्त’ आएपछि देउडाको उचाइ ह्वात्तै बढ्यो । ’रघुवीर’ चलचित्रमा पनि रेग्मीको गीत समावेश भयो ।
त्यो बेला निकै रुचाइएको ‘ढुकुरान्चरी’ बोलको गीत चलचित्रमा राखिएको थियो । २०५० सालमा रेग्मीले ‘ढुकुरान्चरी’ निकालेका थिए । त्यो बेला उक्त गीत समावेश क्यासेट एक लाख बढी बिक्री भएको थियो । पाल्पा घर भएका नरायण रायमाझीले उनलाई अझै प्रेरणा दिइरहे । रेग्मी भन्छन्, ‘नारायण दाइ नभएको भए म पनि संगीतमा हुने थिइनँ होला ।’
राष्ट्रिय सम्मान
लोक संस्कृतिमा योगदान पु¥याए बापत उनले राष्ट्रिय सम्मान सहित थुप्रै पुरस्कारबाट सम्मानित समेत भएका छन् । उनी संगीत तथा नाट्य प्राज्ञ प्रतिष्ठानको प्राज्ञ समेत हुन् । उनी हालसम्म ४ सय बढी पटक सम्मानित भइसकेका छन् ।
स्टुडियो गोदाममा परिणत
गायक रेग्मीले साढे २ दशक सुदूरको लोक सांस्कृतिक जगत खुबै तताए । तर देउडा भाकाको अर्को पर्याय बने । नारायण रायमाझीसँगको सहकार्यमा उनले कैलालीको अत्तरियामा रिमा रेकडिङ स्टुडियो स्थापना गरे । सुदूरपश्चिमको पहिलो स्टुडियोको रूपमा रहेको सो स्टुडियो करीब १० वर्षपछि बन्द भयो । पछि स्टुडियोलाई परिमार्जन गर्दै उनले संगीत सौगात स्टुडियोको रूपमा सञ्चालन गरे ।
५, ६ वर्ष सञ्चालनमा रहेपनि संगीत सौगात पनि बन्द भयो । संगीत सौगात स्टुडियो पनि गोदाम घरमा परिणत भएको छ । बढ्दो प्रविधि तथा लगानीको अभावले स्टुडियो बन्द भएको उनी बताउँछन् । उनको लेखन र गायन पनि अहिले सुस्ताएको छ । लोक संस्कृतिको जर्गेनामा राज्यले ध्यान नदिँदा जाँगर हराउँदै गएको उनी गुनासो पोख्छन् ।
हराए ती ‘कला’ र ‘गला’
देउडा गीतमा सबैको मुखमुखमा झुण्डिने एउटै बोलको गीत हो ‘झ्याम्म झ्याम्म ।’ यही चर्चित गीतका सर्जक गायक नन्दकृष्ण जोशीले देउडाका पारखीहरूलाई नयाँ गीतको स्वाद नचखाएको वर्षाैं भइसक्यो । देउडा संगीतको यहाँसम्मको यात्रामा अनवरत कला, गला र साधनाले खारिएका देउडाका पुराना संगीतकर्मी समेत अहिले हराउन थालेका छन् । भोजराज भट्ट, राजाराम भाट, अन्तराम विष्ट, टेकराज अवस्थी, यज्ञराज उपाध्याय, भुवन दहाल, हरिना साउद, डिग्रादेवी गाइने, लालबहादुर थापा लगायतका कलाकारहरूले नयाँ गीत नल्याएको वर्षाैं बितिसकेको छ ।
यही क्षेत्रमा सक्रिय रहेका पुराना देउडाका संगीतकर्मीहरूले पनि वर्षमा एक, दुई वटा भन्दा बढी गीत ल्याउन सकेका छैनन् । देउडा संगीतको जग हालेका कलाकारहरू नै पेसाबाट पलाएन भएपछि युवा पुस्ताहरू जो, देउडा नाम दिएर आधुनिक र पप शैलीमा गीत निकाल्दै छन्, उनीहरू पनि अभिभावकविहीन जस्तै भएका छन । ‘टिक्न’ र ‘बिक्न’ गाह्रो देउडाका गायक गायिकाहरू पलायन भइसकेका छन् तर रेग्मीको अहिलेसम्म पनि देउडा संगीतमै साधना जारी छ । गायक रेग्मीले देउडा संगीतमै लामो समय साधना गरेर नाम कमाए र लाखौँ श्रोता दर्शकको माया पनि पाए । गायक नरेन्द्रराज रेग्मी भन्छन्, ‘संगीतमा लागेर सरकारी जागिर छाडेको पीडा बिर्सने प्रयास गरिरहेको छु ।’ पछिल्लो समय रेग्मीले ‘धन्य कली जुग’ गीत ल्याएका थिए । उनलाई गायिका टीका पुनले साथ दिएकी थिईन् ।
आफ्नै गीत फेरि गाउँदै
रेग्मी अहिले पनि देउडा गीतमा संक्रिय छन् । उनी अव आफ्ना पुराना चर्चित गीतलाई फेरि बताउने तयारी लागेका छन् । चैर मुसी चैर लगायतका तीन दशक अघिका केही गीतलाई नयाँ संगीतमा गाएर बजारमा ल्याउन लागिपरेका छन् उनी । त्यसका लागि धनगढीकै भीम विसीले संगीत पनि तयार पारिसकेका छन् ।
उनले हालसम्म ७२ वटा एल्बम बजारमा ल्याइसकेका छन् । उनले आफ्नो मात्रै नभई अरूको एल्बममा पनि स्वर दिएका छन् । हालसम्म लगभग ८ सय लोक गीत गाएको उनी बताउँछन् । आफ्नो शब्द र लय भएको गीत अन्य गायकलाई समेत उनले दिएका छन् । तीमध्ये गायक रामचन्द्र काफ्लेले गाएको खेलौला डेउडा चैतली तथा भुई चम्पा, भुई चम्पा भन्ने गीत धेरैले रुचाएको गीत हो ।उनको ढुक्रानचरी पनि उत्तिकै चर्चित एल्बम हो । यसको १ लाखसम्म क्यासेट बिक्री भएको रेग्मी बताउँछन् । प्रदेशी, झझल्को, देउरानी जेठानी, सासु बुहारी लगायतका गीत पनि हिट लिस्टमा पर्छन् ।