धनगढीका ४३१ जनामा कोरोना पुष्टि, ६० प्रतिशतको ‘ट्राभल हिस्ट्री’ छैन्
2020/09/14, 9:07
 
corona

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा कोरोना संक्रमितको संख्या झण्डै साढे चार सय पुगेको छ । आईतबार ६० जना थपिएसँगै संक्रमितको संख्या चार सय ३१ पुगेको धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा धनगढीका ६७ जनामा आईतबार संक्रमण पुष्टि भएपनि ७ जना यस अघिकै संक्रमितको पुनः परीक्षण गरिएकाले थपिएकाको संख्या ६० मात्रै रहेको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले बताए ।

उनका अनुसार ६० जना थपिएसँगै धनगढीमा संक्रमितको संख्या चार सय ३१ पुगेको हो । आईतबार कोरोना पुष्टि भएका सबैजना ट्राभल हिस्ट्री नभएका व्यक्ति हुन् । उनीहरु मध्ये २८ जना धनगढीमै कार्यरत प्रहरी कर्मचारी हुन् । सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय धनगढीमा कार्यरत २४ जना र प्रदेश प्रहरी कार्यालयमा कार्यरत थप चार जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै १८ जना धनगढी उपमहानगरपालिका १ को नैनादेवी टोलका हुन् । धनगढीमा ट्राभल हिस्ट्री नभएका संक्रमितको संख्या दुई सय ५२ पुगेको छ । संक्रमण पुष्टि भएका दुई सय ११ जनाले कोरोना जितिसकेका छन् भने दुई सय २० जना संंक्रिय संक्रमित रहेका छन् ।