धनगढीमा संक्रमितको संख्या ४८९ पुग्यो, ६५ प्रतिशतको  ट्राभल हिस्ट्री छैन 
2020/09/23, 9:00
 
corona

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा कोरोना संक्रमितको संख्या पाँच सय नजिक पुगेको छ । धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार मंगलवार सम्म उप–महानगर क्षेत्रका चार सय ८९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

एक सय ७६ महिला र  तीन सय १३ पुरुष गरी चार सय ८९ जनामा संक्रमण पुष्टि भएको उपमहानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले जानकारी दिए । उनका अनुसार उप–महानगर क्षेत्रका एक सय ४० महिला र दुई सय ४८ पुरुष गरी तीन सय ८८ जनाले कोरोना जितिसकेका छन् ।

३४ महिला र ६५ पुरुष गरी ९९ जना संक्रिय संक्रमित रहेको जनस्वास्थ्य निरिक्षक उपाध्यायले बताए । संक्रमण पुष्टि भएका झण्डै ६५ प्रतिशतको ट्राभल हिस्ट्री नरहेको उनले बताए । उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ का दुई महिलाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।