धनगढीमा कोरोना संक्रमितको संख्या ५१४ पुग्यो, ६६ प्रतिशतको ट्राभल हिस्ट्री छैन
2020/09/24, 7:16
 
corona

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा कोरोना संक्रमितको संख्या पाँच सय नाघेको छ। धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार बुधवार सम्म उप–महानगर क्षेत्रका पाँच सय १४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

एक सय ८१ महिला र  तीन सय ३३ पुरुष गरी पाँच सय १४ जनामा संक्रमण पुष्टि भएको उपमहानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले जानकारी दिए ।

उनका अनुसार उप–महानगर क्षेत्रका एक सय ४० महिला र दुई सय ४८ पुरुष गरी तीन सय ८८ जनाले कोरोना जितिसकेका छन्। ३९ महिला र ८५ पुरुष गरी एक सय २४ जना संक्रिय संक्रमित रहेको जनस्वास्थ्य निरिक्षक उपाध्यायले बताए । 

संक्रमण पुष्टि भएका झण्डै ६६ प्रतिशतको ट्राभल हिस्ट्री नरहेको उनले बताए । उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ का दुई महिलाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।