धनगढीमा कोरोना संक्रमितको संख्या ५३२ पुग्यो, ७० प्रतिशतको ट्राभल हिस्ट्री छैन्
2020/09/25, 8:33
 
corona

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा कोरोना संक्रमितको संख्या पाँच सय नाघेको छ । धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार बिहिवार सम्म उप–महानगर क्षेत्रका पाँच सय ३२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

एक सय ८६ महिला र  तीन सय ४६ पुरुष गरी पाँच सय ३२ जनामा संक्रमण पुष्टि भएको उपमहानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले जानकारी दिए ।

उनका अनुसार उप–महानगर क्षेत्रका एक सय ५१ महिला र दुई सय ५७ पुरुष गरी चार सय ८ जनाले कोरोना जितिसकेका छन । ३३ महिला र ८९ पुरुष गरी एक सय २२ जना संक्रिय संक्रमित रहेको जनस्वास्थ्य निरिक्षक उपाध्यायले बताए ।

संक्रमण पुष्टि भएका झण्डै ७० प्रतिशतको ट्राभल हिस्ट्री भेटिएको छैन् । उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ का दुई महिलाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।