धनगढीमा कोरोना संक्रमितको संख्या ५३५ पुग्यो, ८२ जना एक्टिभ केस
2020/09/26, 9:19
 
corona

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा कोरोना संक्रमितको संख्या पाँच सय ३५ पुगेको छ । धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार उप–महानगर क्षेत्रका पाँच सय ३५ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

एक सय ८६ महिला र  तीन सय ४९ पुरुष गरी पाँच सय ३५ जनामा संक्रमण पुष्टि भएको उपमहानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले जानकारी दिए ।  उनका अनुसार उप–महानगर क्षेत्रका एक सय ६१ महिला र दुई सय ९० पुरुष गरी चार सय ५१ जनाले कोरोना जितिसकेका छन् ।

२३ महिला र ५९ पुरुष गरी ८२ जना संक्रिय संक्रमित रहेको जनस्वास्थ्य निरिक्षक उपाध्यायले बताए । ८२ जना संक्रिय संक्रमित मध्ये १७ महिला र १६ पुरुष गरी ३३ जना मात्रै अस्पताल र आईसोलेसन केन्द्रमा उपचाररत रहेको स्वास्थ्य शाखाले जनाएको छ । बाँकी ५१ जना संक्रमित भने आफ्नै घरमा छन् । 

संक्रमण पुष्टि भएका झण्डै ७० प्रतिशतको ट्राभल हिस्ट्री भेटिएको छैन्। उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ का दुई महिलाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।