उहिले बाँडी खाने जमाना थियो, ऐल पैसाको जमाना आयो
2020/09/26, 12:39
 
hemant bibash story

ट्वार ट्वार भ्यागुता कराइरहेका थिए छेउछाउतिर। घरको शिरानमा रहेको खेतमा बजिरहेको थियो रोपाईँको ढोलक। सुसाइरहेकि थिइन् घरबाट करीव दुई सय मिटरको दूरीमा रहेकी सेती नदी। पानी पर्दा एकछिन राहत भए पनि गर्मीले असिनपसिन बनाइरहने मौसम। उसै पनि चारैतिर बादलले छोपेपछि विरह लाग्दो, उदेक लाग्दो बनिदिन्छ त्यो ठाउँको मौसम।

कोरोना संक्रमितको संख्यामा दिनप्रतिदिन बृद्धि भइरहेको खवर सुनिन्छ चारैतिर। जब सुनाएर जान्छन् कतिपयले दीर्घ रोगी र बृद्धहरुले विशेष सावधानी अपनाउनुपर्ने कुरा, तब बिस्तारै सुनाउँछन् एकासी वर्षीय मानबहादुर विष्ट,‘खै मसँगका सबै गैसके कति बाँचिएला र कोरोनाको डर मानूँ।’

बन्दाबन्दी भएको दिनदेखि आजको मितिसम्म उनकै उमेरका सात जनाले धर्तीबाट बिदा लिइसके। ती कसैलाई पनि कोरोनाले लगेको होइन। अरू नै बिमारले गए तिनीहरु। साथ छोडेर जाने ती सबै उनको होटेलमा चिया पिउन आउने ग्राहक थिए। विगतका दिनका कुराकानी गरेर यादगार पल सम्झाएर जाने मित्र थिए। सबैभन्दा बढी त कुरा मिल्ने यार थिए।

डडेल्धुरा जिल्लाको सुनेडा गाउँबाट आएका हुन् उनका पुर्खा। ‘परबाजे आया हुन रे उइ बेला लेखापढीको काम गर्न यइतिर। पछि बलायरहरुले यतै बिर्ता दिन्छौ यतै बस भनेर अनुरोध गरेछन्। अनि बलायरसँगै मिसिन पुगे विष्ट पनि’, उनले बिस्तारै सुनाए विष्टहरुको इतिहास।

2

दसैंमा देवता पुज्न अहिले पनि डडेल्धुराको सुनेडा गाउँ जाने गरेको कुरा सुनाउँछन् उनी। अहिले २१ परिवार भैसके विष्टका। ६ पुस्ता हुन थाले मानबहादुरका नातीसम्ममा। डोटीको हालको गोपघाट बजारबाट आधा घन्टा हिँड्नु पर्छ उनको घर पुग्न। पसलको लागि बनाएको गोपघाटको सेती किनारस्थित दोकाने घरमा उनका बुढाबुढी छुट्टै बस्छन्।

सेती किनारको बस्तीका बारेमा सोध्दा उनी सुनाउँछन्, ‘बाँझो थ्यो चारैतिर। बर्खा कपास, कोदे, बेथे लाउथे। बेवरीका बोट थिए। भैसीका गोठ थिए। हिउँद खारो पडन्थ्यो कोही बस्दैनथे। नदीमा बाउ हाणिबर (पौडी खेलेर) पारि अत्तर (चरेस) निकाल्ल जान्थे। जसो ब थ्यो पहिले।’ सेती किनारको बस्ती। कसैले प्रसङ्ग उठाइदियो भने वारिबाट पारि हेर्छन् र बिस्तारबिस्तारै सम्झिन्छन् पुराना कुराहरू।

जिन्दगीका कैयौं वसन्त बिताए उनले त्यही नदी किनारमा। अनि भोलि धर्तीबाट बिदा भएर जानुपर्ने ठाउँ त्यही सेती बगरलाई हेरेर मौनतामा के के सोचिरहेका हुन्छन् एक्लै। अहिलेसम्म जुन नदीले जिन्दगी गुजार्न सिकायो भोलि त्यही नदीले किनारमा शरीरलाई विसर्जन गर्ने ठाउँ पनि  उपलब्ध गराउँछिन्। त्यसैले त नदीहरुले हाम्रा सभ्यतालाई बोकेका छन्। इतिहासलाई जोगाएका छन्।

मैले उनीसँग कुरा गर्दै जादा औंलाले नदीको माथिदेखि तलसम्मको भाग देखाउँदै गम्भीर मुद्रामा सुनाएका थिए, ‘माथिदेखि तलसम्म खुन हो। पानी बगेको थाहै हुँनैनथ्यो। गाउँले सालसालै सल्लाको ना (डुङ्गा) बनाउँथे। नदीले सालसालै बगाइरन्थ्यो। नदी वारपार गर्ने माध्यम बन्याथ्यो डुङ्गा। ऐले यसो भयो। मान्स डरले हिँडिजान्थे घाम नअस्ताएइ घरतिर। चारैतिर चिहान भया हुनाले मान्स बस्दैनथे अवेरसम्म। यै ठाउँमी पहिलो घर बनाउने पं. शिवराज ओझा हुन्। उन पनि सुरूसुरूमी तर्साउछ भणन्थे। पछि डाक्टर (राम बहादुर बिष्ट) ले घर बनायो, तैपछि मैले बनाएँ।’

2

उनका पालामा स्कुल थिएनन्। जुन घरमा साक्षर छन् त्यहाँ केटाकेटी पढ्न पठाउँथे। त्यस्ता साक्षर भएका घर भन्नु नै हुने खाने पण्डितका हुन्थे। वरपर कतै स्कुल नभएकाले पाएनन् पढ्न मानबहादुरले पनि। पढ्ने उमेरमा मावली घर गएर बाख्रा चराए। १३ वर्षको उमेरमा लडेर बायाँ खुट्टामा चोट लाग्यो। खुट्टो दुख्न थाल्यो। बिस्तारै खुट्टो नचल्ने भयो। सबैले झाण्डी पर्‍यो भने। झार्न लगाए। डोटेली भाषामा धामी झाँक्री बोलाएर झार्नु पर्ने बिमारलाई झाण्डी भनिन्छ।

शरीरको कुनै अङ्ग यसरी नचल्ने हुँदा त्यो ठाउँमा भूतले बास गर्‍यो भन्ने सोचाइले धामी झाक्री बोलाएर महिनौंसम्म उक्त अङ्गमा झार्न लगाउने पुरानो मान्यता अझै पनि गाउँघरतिर छदैछ। विष्टको खुट्टो पनि झार्न लगाए तर केको झारेर ठिक हुन्थ्यो र। बायाँ खुट्टा अलि मसिनो र छोटो भैदियो। पछि हिँड्दा उक्त खुट्टा लछारेर बिस्तारै हिँड्नुपर्ने समस्या देखापर्‍यो। ‘जवानीमा त्यस्तै खुट्टाले ६-६ दिन हिँडेर टनकपुरदेखिको नुनगुड बोकेर ल्याएकै हुँ। अचेल बढी दुख्छ। खुम्च्याउन तन्काउन मिल्दैन,’ उनी भन्छन्। 

१७ वर्षको उमेरमा बिहे गरेका मान बहादुर १९ वर्षको उमेरमा जेठा दाइसँग नुनगुड ल्याउन टनकपुर पुगे। अनि उतैबाट मद्रासतिर हानिए। घरबाट ४ दिनमा मालाखेती र ६ दिनमा टनकपुर पुगिन्थ्यो। नुनगुड ल्याउनकै लागि धेरै पटक गएका छन् उनी टनकपुर मालाखेती र ब्रह्मदेवसम्म। तेलेको लेकमा एउटैमा बीस पच्चिस जना अटाउने कटुवा ढुङ्गाका तीन वटा धर्मशाला सम्झिन्छन् अहिले पनि। ‘त्यतिखेर चादीका ताले रुपैयाको प्रचलन थियो।

दुई तीन रुपैयाले एक जनालाई नुनगुड कपडा सबै हुन्थ्यो’, उनी सुनाउछन्,‘१ रूपैयामा चार भेली गुड आउँथ्यो। धेरै जना मिलेर गुड भरिएको गोरू गाडा ठेक्कामा लिएर बाँड्ने पनि गर्थे।  गाउँगाउँमा नुनका कर्पच बोकेका भेडा लिएर भोटे आउँथे। तर, ती चामलसँग मात्तर नुन साटन्थे।  वर्षभरि खानलाई उत्पादन नहुने धान कुटेर चामलसँग साट्न सजिलो थिएन। अहिलेको जस्तो किन्न पाइँदैन थ्यो। त्यसैले सबैले नुन पनि उतैबाट ल्याउँथे। घरमा बुढा मान्छे हुनेहरुले टालो (कात्रो) समेत कनेर ल्याउँथे र घरमा राखिराख्थे।’

४५ रूपैया भारूमा टनकपुरबाट मद्रास पुगेका उनी टनकपुरबाट ट्रेनमा दुई दिन दुई रात लागेको कुरा बताउँछन्। त्यतिखेर मद्रास जान मथुरामा ट्रेन बदल्नु पर्थ्यो।  मद्रासमा पुगेर उनले तामा पित्तलको कम्पनीमा दरवानी गरे। ती दिन सम्झिदै सुनाउँछन् उनी, ‘कराँची बेल्ट खुकुरी कम्पनीले दिन्थ्यो। मैले काम गर्ने कम्पनीमा गाडीमा पानी हाल्ने अन्जन बन्थ्यो। जसलाई रेडिएटर भन्थे। आईतबार बिदा हुन्थ्यो। इन्डियाको मार्केटमा साढे एक रूपैयामा खसीको टाउको किनेर ल्याउँथे। अइल इसा दिन आए।’

उनी मद्रासमा छदै घरमा बुवा बिते। आउन पाएनन् बुवाको काज क्रिया गर्न। ५ वर्ष मद्रास बसेर फर्केका उनी दुई वर्ष घरमा बसी पुनः निस्के मद्रासकै यात्रामा। चार भाइ मध्ये दुई भाइ घरतिर काम गर्थे भने दुई भाइ भारतमा कमाउँथे। यसरी कमाएको पैसाले घरमा पच्चिस भारी धान फल्ने खेत जोडे। दोस्रो पल्ट घर फर्किदा अंशबण्डाको कुरा चल्यो। दाइ भाइ अलग भएर बसे।

दुई छोरी र तीन छोराका बाबु बनेका बिष्टले छोराहरुलाई पढाउन निकै संघर्ष गरे। तर, कसैले पनि एसएलसी पास गर्न सकेनन्। गोपघाटमा पसल सुरू गरे। प्राय सबै चिज पाइन्थ्यो उनको पसलमा। वरपर कसैका पसल थिएनन्। दैनिक २५ देखि ३० किलोसम्म  माछा खरिद गर्थे उनी। बिहान नौ बजे तिर नबेचिएका माछा दिपायलसम्म पुर्‍याउँथे। कहिलेकाही सुकाएर राख्थे। राति कालागाडबाट रक्सी लिएर आउँथे। दोकानको कमाइबाटै दुई छोरी तीन छोराको बिहे गरे। बिहे पश्चात छोराहरु सबै जना अलग भए। अनि पसल पनि बिस्तारै सानो हुँदै जान थाल्यो।

त्यसपछि उनी चिया पकाउन थाले। साँझ बिहान उनको पसलमा चिया पिउनेको भीड नै देखिन्थ्यो। दुई वर्ष भयो जाँगर चल्न छोडेको। उसो त अहिले पनि कसैले चिया खोजे भने पकाइ दिन्छन्। छोराहरु सबै जना गाउँमा बस्छन्। उनी होहल्ला मन पराउँदैनन्। बुढाबुढी दुबै जना सरकारले उपलब्ध गराएको बृद्ध भत्ता बुझ्छन् र सेती किनारको त्यही पसल चलाएको सानो घरमा ढुकुरको जोडीझैं दिन बिताइ रहेका हुन्छन्।

चार जना दाजु भाइमा अब उनी मात्रै बाँकी छन्। मृत्युको कुरा गर्दा हाई काट्दै भन्छन् उनी,‘मसँगका सबै निसिगे। आहाटुट भैहाल्छ। सबै गैहाले। अब मैले पनि जानुपर्ने हो। दामल गैभइ भन्ने आउँछ मनमा। मभन्दा कान्छा दुईचार जना बाँकी छन्। अघिका दुःख सम्झिदा दुईचार वर्ष बाँच्न पाए त अझै के के पो देख्न पाइन्थ्यो जस्तो लाग्छ कहिले काहीँ।’

जिन्दगीका थुप्रै कथाहरू छन् स्मृतिपटलमा लुकेर बसेका जो बेलाबखत आइदिन्छन् उनको सम्झनामा। कैयौं दिनसम्म हिँडेका गोरेटाहरु छन् यादका पल्लाभित्र लुकेका। सम्बन्धित क्षेत्रका मान्छे भेट्दा ती गाउँबस्ती र गोरेटाका बारेमा सोधिरहन्छन् उनी। काम सकेर दिउँसोतिर खाना खाई एकछिन थकाइ मार्दा विगतका दिनलाई तुलना गर्न खोज्छन् वर्तमानको समयसँग र भन्छन्, ‘अहिले जतिसुकै विकास भएलगै समाज निको उइलैको हो।

हातमा सीप भएका मान्छेले अरुलाई त्यतिकै (सित्तैमा) सहयोग गरिन्थे। राणी मुले (विधवा र टुहुरा) का कोइ नै हुन्थे नुनगुड किन्न जाने। टनकपुरबाट नुनगुड ल्याउने सबैले सुरुमा तिनको भाग छुट्ट्याउँथे। सबैले थोरथोरै दिएको नुनगुड लगै जसोतसो वर्षभरि खानलाई पुगन्थ्यो तिनलाई पनि। रोपाइ पनि सहयोग गरेरै गरिदिन्थे। त्यतिखेरको जमाना भणेको बाँडीखाने जमाना हो, ऐल पैसाको जमाना आयो।’