इग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभपुरलले आर्सनललाई ३–१ गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको यो तेस्रो जीत हो ।
आर्सनलले पहिलो हाफको २५ मिनेटमा गोल गरेको थियो । आर्सनलका लागि एलेक्जेन्डर लाकाजितीले गोल गरेका थिए । त्यसको ३ मिनेटपछि अर्थात् २८ मिनेटमा सादियो मानेले लिभरपुलका लागि पहिलो गोल गरे । त्यसपछि एन्ड्रयु रोबेरस्टोनले दोस्रो गोल थपे भने खेलका ८८ औं मिनेटमा डिगो जोताले एक गोल थप्दै जितलाई सुनिश्चित गरे ।
डिफेन्डिङ च्याम्पियन लिभरपुलले नयाँ सिजनमासमेत शतप्रतिशत जितको नतिजा निकालेको छ । आर्सनलले यसअघिका दुई खेलमा जीत निकालेको थियो । लिभरपुलले भने शतप्रतिशत जितसहित ३ खेलमा ९ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ ।
आर्सनल ६ अंकसहित तालिकाको पाँचौ स्थानमा छ । लिगअन्तर्गत गएराति नै भएको खेलमा एस्टन भिल्लाले फुलह्यामलाई ३–० ले पराजित गरेको छ । पहिलो हाफमा दुई गोल गरेको एस्टन भिल्लाले दोस्रो हाफको सुरुमा थप एक गोल गरी जित निश्चित गरेको हो ।