नक्सा अनुसार सडक फराकिलो बनाउन धनगढीवासीको माग
2020/09/30, 4:13
 

धनगढीका स्थानीयले नक्सा अनुसार सडक फराकिलो बनाउन माग गरेका छन्। उप–महानगरपालिकाको वडा नम्बर १ विनायक टोलका स्थानीयले नक्सा अनुसार सडक फराकिलो बनाउनुपर्ने माग गरेका हुन्। 

पार्कमोडदेखि विनायक टोल जाने बाटो उप–महानगरपालिकाकै मापदण्ड अनुसार नभएको भन्दै उक्त टोलका स्थानीयले उक्त विषयमा धनगढीका मेयर नृपबहादुर वडको समेत ध्यानाआकर्षण गराएका छन्। बुधबार २०/२५ जनाको समुहमा उप–महानगरपालिका पुगेका स्थानीयले नक्सा अनुसारको बाटो कायम गर्न अनुरोध समेत गरेका हुन।  उप–महानगरपालिकाका मेयर वडलाई मागपत्र बुझाउदै विनायक टोलवासीले सडक अतिक्रमण गरी बनाईएका संरचनाहरु हटाउन माग समेत गरेका छन्।

पार्कमोडमा रहेको अमित मेडिसिन डिष्ट्रीब्यटर्स र स्थानीय गगनराज भट्टको घरको बिचमा रहेको बाटो साघुँरो भएका कारण टोलवासीलाई आवातजावत गर्न समस्या हुने गरेको बीरबहादुर साउदले बताए। ‘बाटो साघुँरो हँुदा अत्यावश्यक सवारी साधन दमकल, एम्बुलेन्सलाई समेत टोलमा लैजान सक्ने अवस्था छैन्’ उनले भने, ‘हामी ५ वर्षदेखि नक्सा अनुसारको सडक बनाउनु प¥यो भन्दै आएका छौं।’ नालीको व्यवस्थापनसंगै उप–महानगरपालिकै मापदण्ड अनुसार सडक फराकिलो बनाउनुपर्ने उनले बताए।

अहिले उक्त क्षेत्रमा भौतिक संरचना पनि थपिदै गएका छन्। जसका कारण विनायक टोल जाने बाटो झन–झन साघुँरो बन्दै गएको छ। यता धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वडले भने उक्त बाटोको समस्या समाधान गर्न आजै अमिन पठाउने र सोही अनुसार प्रक्रिया अगाडि बढाउने बताएका छन्।