धनगढीमा कोरोना संक्रमितको संख्या ७०३ पुग्यो, ९० प्रतिशत संक्रिय संक्रमितको ट्राभल हिस्ट्री छैन
2020/10/02, 7:07
 
corona

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा कोरोना संक्रमितको संख्या सात सय नाघेको छ। धनगढीमा बिहिवार थप तीन जनामा संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या सात सय तीन पुगेको उप–महानगरपालिकाले जनाएको छ।

उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले दुई सय २९ महिला र चार सय ७४ पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिए। 

उनीहरु मध्ये एक सय ७४ महिला र तीन सय ३० पुरुष गरी पाँच सय चार जनाले कोरोना जितेका छन्। ५२ महिला र एक सय ४४ पुरुष गरी एक सय ९६ जना सक्रिय संक्रमित रहेको जनस्वास्थ्य निरिक्षक उपाध्यायले बताए।

उनीहरु मध्ये ११ महिला र एक सय २२ पुरुष गरी एक सय ३३ जना संक्रमित आफ्नै घरमा छन् भने १८ महिला र २२ पुरुष गरी ४० जना अस्पताल र आईसोलेसन केन्द्रमा रहेका छन्। वडा नम्वर १, ४ र ५ का एक एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले संक्रिय संक्रमित मध्ये ९० प्रतिशत स्थानीय रहेको बताए। ‘पछिल्लो समयमा संक्रमण पुष्टि भएका सबै जनाको ट्राभल हिस्ट्री देखिएको छैन्,’ उनले भने, ‘अहिले एक्टिभ केस मध्ये ९० प्रतिशतको पनि ट्राभल हिस्ट्र छैन्।’