धनगढीमा स्वाव संकलन केन्द्र स्थापना
2020/10/02, 6:07
 
corona

कोरोना भाइरस कोभिड–१९ को स्वाव संकलनका लागि धनगढी उप–महानगरपालिकाका स्वाव संकलन केन्द्र स्थापना गरिएको छ । नेपाल रेडक्रस सोसाईटी कैलाली जिल्ला शाखाद्धारा जर्मन राजदुतावासको सहयोगमा धनगढी उप–महानगरपालिका परिसरमा स्थापना गरिएको स्वाव संकलन केन्द्रको शुक्रवार नगर प्रमुख नृपबहादुर वड र सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले उद्घाटन गरेका हुन ।

नगरप्रमुख वडले स्वाव संकलनका लागि यस केन्द्रले राहत पुग्ने बताए । ‘अहिले कन्ट्रयाक्ट ट्रेसिङ्गका आधारमा समुदायमा नै क्याम्प राखेर स्वाव संकलन गरिरहेका छौं’ नगरप्रमुख वडले भने,‘स्वाव संकलन केन्द्रबाट पनि स्वाव संकलन गरिने छ ।’ नगरप्रमुख वडले, शुक्रवार सम्म धनगढी उप–महानगरपालिकाले ४ हजार हाराहारीको पिसिआर परीक्षण गरेको बतए ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले धनगढी उप–महानगरपालिकाले कोरोना रोकथान, परीक्षणमा नमुना काम गरिरहेको बताए । धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगन्नाथ पन्तले संकलन केन्द्रमा स्वाव संकलन गर्दा स्वाव दिने र संकलन गर्ने दुबैलाई सजिलो हुने बताए ।

नेपाल रेडक्रस सोसाईटी कैलाली शाखाका सभापती उत्तम जोशीले कोरोना रोकथाम र ब्यबस्थापनका क्षेत्रमा जर्मन राजदुतावासको सहयोग र धनगढी उप–महानगरपालिकाको सहयोगमा उल्लेख्य काम भएको बताए ।