सुदूर पहाडमा नियमित उडान हुन्छः मन्त्री भट्टराई
2020/10/03, 9:54
 
corona

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सुदूरपश्चिमका पहाडी जिल्लामा नियमित उडान हुने बताएका छन्। विमानस्थल निरीक्षण तथा उडान परीक्षणका क्रममा बैतडीको पाटन विमानस्थलमा आयोजित कार्यक्रममा उनले भने, “ नियमित उडानका लागि केही दिनमै तालिका सार्वजनिक गर्छौ।” 

मन्त्री भट्टराईले टर्मिनल भवन, टावरलगायत अन्य भौतिक संरचनाको काम सम्पन्न भएपछि विमानस्थल नियमित रुपमा सञ्चालनमा आउनेछन भन्दै बैतडीसहित सुदूरपश्चिम पर्यटकीय  हिसाबले महत्वपूर्ण गन्तव्य रहेकाले यहाँका विमानस्थलहरु नियमित सञ्चालनमा ल्याउन सके यस क्षेत्रको आर्थिक सम्वृद्धि हुने बताए। उनले भने, “पर्यटन प्रर्वद्धनका लागि तीन वटै तहका सरकारको समन्वय  सहकार्य आवश्यक पर्छ।”

मन्त्री भट्टराईले बैतडीको पताल भुवनेश्वर गुफालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड दिदैं अबको बाटो विकास र आर्थिक क्रान्तिको हो, यसमा सबैको साथ र सहयोग आवश्यक छ भने। प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीले सरकारले जनआकांक्षा अनुसार काम गरिरहेको उल्लेख गर्दै मुलुक अब समृद्ध बन्नेतर्फ अगाडि बढेको बताए।

यसैबीच मन्त्री भट्टराईले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका विमानस्थलको  आज निरीक्षण गरेका छन्।  उनले बैतडीको पाटन, बझाङको चैनपुर र डोटीको दीपायल विमानस्थलको निरीक्षण गरेका हुन्।  समिट एयरले आज धनगढीबाट डोटी, बझाङ र बैतडीमा परीक्षण उडान गरेको थियो।

धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाका अनुसार परीक्षण उडान सफल भए विमान कम्पनीलाई धनगढीलाई बेस बनाएर पहाडी जिल्लामा नियमित उडान शुरु गर्न आह्वान गरिनेछ। उनले, “विमानस्थल सञ्चालन गर्न ठिक छ भन्ने परीक्षण उडानको रिपोर्ट आएपछि आह्वान गर्छौ।”