सुदूरपश्चिममा बढ्दै कडा लक्षण भएका कोरोना संक्रमित, पर्याप्त छैनन् आईसियु र भेन्टिलेटर
2020/10/04, 2:14
 
corona

संघीय सरकारले कोरोना भाईरसको गम्भिर प्रकृतिका विरामीको उपचारका लागि आईसियू सेवा विस्तार र भेन्टिलेटर खरिद गर्न सुदूरपश्चिमका तीन अस्पताललाई ७ करोड बजेटको सुनिश्चितता प्रदान गरेको छ । संघिय सरकारले डडेल्धुरा अस्पताल, महाकाली र टीकापुर अस्पताललाई आईसियु र भेन्टिलेटरका खरिदका लागि बजेटको सुनिश्चितता दिएको एक महिना बितेपनि प्रक्रिया समेत अगाडी नबढेको पाईएको छ ।  

चार वटा भेन्टिलेटर सहित १० शैयाको आईसियू सेवा विस्तार गर्न  दुई करोड बजेटको सुनिश्चितता पाएको टीकापुर अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. जितेन्द्र कडेलले भने ‘अन्तरिक समस्याका कारण केही ढिला भएको छ, अबको केही दिनमा उपकरण  खरिदको प्रक्रिया सुरु हुन्छ ।’ कञ्चनपुरको महाकाली अस्पतालले समेत ४ वटा भेन्टिलेटर सहित १० शैयाको आईसियू सेवा सञ्चालनका लागि संघीय सरकारले दुई करोड बजेटको सुनिश्चितता पाएको छ ।  तर  महाकाली अस्पतालले पनि अहिले सम्म खरिद प्रक्रिया थालेको छैन् ।

महाकाली अस्पतालमा तीन वटा भेन्टिलेटर सहित ८ शैयाको आईसियू सेवा संञ्चालनमा रहेको मेसु हरीकुमार श्रेष्ठले बताए। ‘थप आईयू सेवा विस्तार र भेन्टिलेटर खरिद भएको छैन्,’ उनले भने, ‘टेण्डर हाल्ने समय पनि बाँकी छ, अझै समय लाग्न सक्छ ।’  संघिय  सरकारबाटै डडेल्धुरा अस्पतालले पनि पाँच वटा भेन्टिलेटर सहित १५ शैयाको आईसियू सेवा विस्तार गर्न तीन करोड बजेटको अख्तियारी पाएको छ।

तर सेवा विस्तार गर्न ढिलाई भईरहेको छ । कोरोना भाईरसका गम्भीर प्रकृतीका विरामीको उपचार गर्न सहज होस् भन्ने उदेश्य सहित संघिय सरकारले प्रदेशका तीन अस्पताललाई बजेट पठाएको भएपनि अहिले सम्म आईसियू सेवा विस्तार र भेन्टिलेटर खरिद नभएको डडेल्धुरा अस्पतालका मेसु डा. जगदीश विष्टले बताए ।  

सुदूरपश्चिममा अहिले सेती प्रादेशिक अस्पतालमा ७ वटा भेन्टिलेटर र १० शैयाको आईसियू सञ्चालन छ। प्रदेशमा कोरोना संक्रमण बृद्धि हुँदै गएका बेला गम्भीर प्रकृतिका संक्रमित समेत थपिदै गएका छन् । सेती प्रादेशिक अस्पतालमा मात्र चार जना संक्रमितमा कडा खालको लक्षण देखिएपछि आईसियुमा भर्ना गरिएको छ भने दुई जनालाई अन्यत्र रेफर गरिएको छ ।

लक्षण भएको संक्रमित बढिरहेकाले गम्भीर बिरामीको संख्या समेत बृद्धि हुने भएकाले समयमै आईसियू र भेन्टिलेटर सेवा विस्तार गर्नमा जोड दिन सुझाव दिइएएको छ ।