सुदूरपश्चिमका थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५, संक्रमित देखिने जिल्ला ५ पुग्यो
2020/05/24, 4:10
 
korona

सुदूरपश्चिमका थप एक जनामा कोरोना पुष्टि भएको छ । अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ४ का ३२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । 

उनी जेठ ८ गते गौरीफन्टा नाकाबाट फर्किएका थिए। सीमामा आरडिटी परीक्षणका क्रममा पोजेटिभ देखाएपछि सेती अस्पतालको आईसोलेसनमा राखिएको थियो । उनको स्वास्थ्य अवस्था समान्य रहेको छ । यो सँगै प्रदेशभरी संक्रमितको संख्या १५ पुगेको छ । यो सँगै सुदुरपश्चिमका ५ जिल्लामा कोरोना संक्रमित देखिएका छन् । कैलाली कञ्चनपुर डडेल्धुरा बैतडी र अछाममा संक्रमित विरामी फेला परेका छन् । 

यसअघि धनगढी प्रयोगशालामै परीक्षणका क्रममा शुक्रबार ५ र शनिबार ४ जनामा कोरोना पुष्टि भएको थियो । यसअघि शनिबार कोरोना पुष्टि भएका बैतडीको शिवनाथ गाउँपालिकाका वडा नम्वर १ र २ का २०, २०, २२ र २७ बर्षीय पुरुषको पनि सेतीमै उपचार भईरहेको छ । शुक्रवार मात्रै कैलालीको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ बर्षीय युवक, डडेल्धुराको परशुराम नगरपालिका वडा नम्वर १० का २८ बर्षीय युवक र बैतडीको शिवनाथ गाउँपालिकाका २२ बर्षीय युवकमा कोरोना पुष्टि भएको थियो ।

उनीहरुको टीकापुर, डडेल्धुरा र बैतडी अस्पतालमा उपचार भईरहेको छ। सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए । धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो । धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला, कैलाली लम्कीका २१ बर्षीय युवक र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय युवकमा कोरोना पुष्टि भएको थियो ।

बैशाख १ गते लम्की चुहा नगरपालिका वडा नम्वर १ की ६१ बर्षीय महिलामा पनि कोरोना पुष्टि भएको थियो । त्यसयता सुदूरपश्चिममा नयाँ संक्रमित भेटिएका थिएनन् । सुदूरपश्चिमका ५ जना संक्रमितले कोरोनालाई जितिसकेका छन् ।