कैलालीको टीकापुर नगरपालिका–३ पशुपति टोलकी लिलावती चौधरीको छोरा आठ महिनाको भए। लिलावतीले बच्चालाई छ महिनादेखि नियमित रुपमा खानासँगै अण्डा पनि खुवाउँदै आएको बताउँछिन् । ‘‘स्वयंसेविकाले खानासँगै अण्डा पनि खुवाउन भन्नुभयो, उहाँले भने जस्तै गरेर बच्चालाई अण्डा खुवाउने गरेकी छु’’, लिलावतीले भनिन्, ‘‘बच्चा स्वस्थ छ, सानैदेखि खुवाउने गरेमा खाने बानीको समेत विकास हुने रहेछ।’’
लिलावतीका श्रीमान छोटेलाल चौधरी डकर्मी हुन्। उनी दैनिक मजदुरीमा जान्छन्। दैनिक ज्याला मजदुरी गरेर भएपनि बच्चाको खानामा विशेष ध्यान दिने गरेको उनी बताउँछन्। ‘‘घरमा बच्चाका लागि कहिल्यै अण्डा कमी हुन दिएको छैन’’, छोटेलालले भने, ‘‘गरिब भएपनि बच्चाको पोषणलाई ध्यान दिएर नियमित खानपानमा ध्यान दिने गरेका छौँ। बच्चाको स्वास्थ्यबारे हामी सचेत छौँ।’’
टीकापुर– ६ भगवानपुरकी रुपा चौधरीको दोस्रो बच्चा ९ महिनाको भयो। रुपाको पहिलो बच्चा कुपोषित भएको थियो। पहिलो बच्चाको राम्रो स्याहार गर्न नसकेकी रुपाले नारायणपुर स्वास्थ्य चौकीबाट बच्चालाई तयारी खाना खुवाईन्। ‘‘अहिले पनि मेरो बच्चा स्वस्थ छैन, समय समयमा बिरामी भइरहन्छ’’, उनले भनिन्, ‘‘मेरो दोस्रो बच्चा स्वस्थ छ, स्वयंसेविका र स्वास्थ्यकर्मीको सल्लाहनुसार खाना खुवाउने गरेकी छु, छ महिना नियमित दूध चुसाएँ, आजभोलि जाउलो, लिटो, फलफूल, अण्डा सबै मिलाएर खुवाउने गरेकी छु।’’
रुपाले आफूले दोस्रो बच्चा हुर्काउँदा स्वास्थ्यसम्बन्धी धेरै कुरा सिकेको बताईन्। ‘‘अहिले धेरै कुरा थाहा पाएँ र यसले अहिले त मलाई लाग्न थालेको छ कि पहिलो बच्चाको त मैले बालअधिकार हनन् गरेछु, निकै पछुतो लाग्छ। बच्चाको स्याहारबारे ज्ञान नहुँदै बच्चा जन्माइयो’’, उनी भन्छिन्, ‘‘आजभोलि आफूले सिकेका कुरा अरुलाई पनि सिकाउने गरेकी छँु।’’
पछिल्लो समय गाउँघरमा हजार दिनका आमा र बच्चाको स्वास्थ्य र पोषण सुधारका बारेमा परिवार पनि जिम्मेवार बन्न थालेका छन्। जानकी गाउँपालिका सन्तपुरका ६१वर्षीय बालाराम विक आफुले छोरोछोरीलाई नियमित अण्डा नखुवाए पनि हजार दिनकी बुहारी र नातीनातीनाको पोषणका लागि अण्डा किनेर ल्याउने गरेको उनी बताउँछिन्।
‘‘हाम्रा पालामा आमा काममा जानुपथ्र्याे, बच्चाले नियमित स्तनपान गर्न पनि पाउँदैनथे’’, बालारामले भने, ‘‘त्यो बेला बच्चा पनि धेरै जन्माउने चलन थियो। अहिलेका बच्चा एक वा दुई हुन्छन्। अनि स्याहार पनि राम्रो गरिन्छ। म पनि मेरो बुहारी र नातिनीको स्वास्थ्यबारे सचेत छु।’’
जानकी– ४ की सञ्जु विकका श्रीमान् रोजगारीका लागि विदेशमा छन्। अहिले सञ्जुको साथमा ११ महिनाको बच्चा छ। ‘‘म गर्भवती हुँदा वडा कार्यालयले गर्भावस्था र सुत्केरी स्याहारबारे जनचेतनामूलक कार्यक्रम गरेको थियो। त्यो कार्यक्रममा धेरै कुरा सिकेँ’’, सञ्जुले भनिन्, ‘‘सुत्केरीपछि पोषण अभिवृद्धि सम्बन्धी कार्यक्रममा पनि सहभागी भएँ। त्यहाँ खाने तरिका, बच्चालाई खुवाउने तरिका, जाउलो, लिटो बनाउने तरिका सिकेँ। जसले मलाई मेरो र बच्चाको स्याहारमा सहयोग पुगेको छ।’’
सञ्जुले बच्चा दुई वर्षको नहुँदासम्म आवश्यक खानपान र स्याहारबारे आफू र आफ्नो परिवार सचेत र जिम्मेवार भएको बताइन्। ‘‘खानपानबारे सिकेपछि परिवारका अन्य सदस्यको स्वास्थ्य पनि राम्रो भएको छ। हामी सबै स्वास्थ्यलाई ध्यान दिन थालेका छौँ’’, उनी भन्छिन्, ‘‘मेरो सासुआमा सधैँ कमजोरी लाग्यो भन्नुहुन्थ्यो। आजभोलि स्वास्थ्यमा सुधार आएको छ। हामीले खान नजानेर धेरै रोग पाल्ने रहेछौँ।’’
टीकापुर– ७ की रत्ना सुनारको परिवार खेतीपातीको काम गर्छ। रत्नाको घरमा १२ जनाको परिवार छ। उनको पहिलो सन्तान छोरा जन्मियो। ‘‘बाह्र जनाको संयुक्त परिवार, त्यसैमाथि आर्थिक अवस्था कमजोर छ, कसरी माछा, मासु, अण्डा र दुध नियमित खान पाउनु ?’’, सुनारले भनिन्, ‘‘मैले राम्रो र पौष्टिक खानेकुराहरु पाइन, यसैका कारण बच्चा पनि दुब्लो र ख्याउटे छ।’’
रत्नाको छोरा चार महिनाको हुँदा टीकापुर नगरपालिकाले सासु बुहारी अन्तक्र्रिया कार्यक्रम ग¥यो, त्यो रत्नाका सासु बुहारी सहभागी भए। कार्यक्रममा पोषण वृद्धिबारे धेरै सिकाइयो। ‘‘सासु र म दुबैले ज्ञान पायौँ। त्यसपछि घरमा खानेकुरा भाग लगाउँदा मलाई अलि बढी दिइन्थ्यो, बच्चा छ महिना पुगेपछि तालिममा सिकेजस्तै गर्न सासुले वातावरण बनाउनुभयो’’, रत्नाले भनिन्, ‘‘सुत्केरीमा खान नपाएर दुब्लाएकी म पनि तन्दुरुस्त भएकी छु। बच्चा पनि राम्ररी हुर्किरहेको छ। हामी नजानेर स्वास्थ्य बिगार्दा रहेछौँ।’’
अन्य खानाजस्तै अण्डाले बालबालिकाको शारीरिक र मानसिक विकास गर्ने भएकोले आमा गर्भवती हुँदा र सुत्केरी भइसकेपछि पनि खानामा नियमित अण्डा हुन जरुरी रहेको टीकापुर अस्पतालकी वरिष्ठ नर्सिङ निरीक्षक कल्पना खड्का बताउँछिन्। ‘‘गर्भावस्थादेखि सुत्केरी आमाले नियमित अण्डा खानु राम्रो हुन्छ’’, खड्काले भनिन्, ‘‘छ महिनापछि दुई वर्षसम्मको बच्चालाई नियमित तालिका बनाएर नै खुवाउन जरुरी छ।’’
सबै बच्चाले सामान्य तया सधैँ अण्डा नरुचाउने भएकाले फरकफरक दिन फरकफरक स्वादमा अण्डा खुवाउन जरुरी रहेको उनको भनाइ छ। गर्भवती हुँदा खाएको पोषणयुक्त खानाले भोलीका दिनमा बालबालिकाको शारीरिक र मानसिक विकासमा प्रभाव पार्ने भएकाले हजार दिनका आमा र बच्चाको खानामा नियमित अण्डा प्रयोग गर्न जरुरी रहेको खड्काले बताईन्।
टीकापुर नगरपालिका स्वास्थ्य शाखाका संयोजक बलबहादुर रावलले नगरपालिकामा दुई वर्ष मुनिका तीन प्रतिशत बालबालिकामा कुपोषणको समस्या रहेको बताए। ‘‘आमा र परिवारका सदस्यले खानपानमा ध्यान दिए कुपोषण हुनबाट जोगिन सकिन्छ’’, रावलले भने, ‘‘हाम्रो यहाँ गर्भवती आमा, किशोरीमा पनि कुपोषणको समस्या छ, त्यसैले हामीले पोषणबारे सबैलाई जानकारी दिने गरिरहेका छौँ।’’
नगरपालिकाले स्वास्थ्य शाखामात्र नभई कृषि, पशु शाखामार्फत् पनि पोषण सुधारका लागि काम गरिरहेको छ। नगरपालिकाका सबैजसो वडामा पोषण वृद्धिसम्बन्धी कार्यक्रम गर्ने गरिएको छ। ‘‘नागरिकलाई दही दूध, माछामासु खान सचेतना फैलाउनुका साथै यस वर्ष भैँसी तथा गाइपालनमा नागरिकलाई आकर्षित गर्न पाडापाडी र बंगुर प्रवद्र्धन कार्यक्रम रहेको छ’’, पशु शाखा प्रमुख श्यामराज पाण्डेले भने, ‘‘नागरिक आर्थिक अवस्था कमजोर भएका कारण पोषिलो खानेकुरा खान सकेका छैनन्, कतिपयले आफ्नै बारीमा रहेको हरियो तरकारी, फलफूल समेत खाने तरिका जानेका छैनन्, यस्तै ज्ञान दिनुका साथै आर्थिक रुपमा सक्षम बनाउन यो कार्यक्रम गरिने भएको हो।’’
कृषितर्फ पनि पोषण प्राथमिकतामा परेको छ। कृषितर्फ शक्ति दिने र पोषण वृद्धि गर्ने खाना उत्पादनमा नगरपालिकाले जोड दिएको छ। ‘‘हामीले हरेक परिवारलाई तरकारी खेती र फलफूलमा आकर्षित गर्ने नीति लिएका छौँ, कृषिमा रुची भएकालाई तालिम, बीउ बिजनमा सहयोग, प्राविधिक ज्ञान दिन थालेका छौँ’’, कृषि शाखा प्रमुख तुल्सीराम सुवेदीले भने, ‘‘तरकारी तथा फलफुल खेतीमा आकिर्षत भएमा आफूले खाने र केही आम्दानी पनि गर्न सकिने भएकाले खेतीसम्बन्धी तालिम दिँदा पोषणबारे समेत जानकारी दिन थालिएको छ।’’
नगरपालिकाले गतवर्ष सबै शाखा प्रमुखलाई राखेर पोषणको महत्वबारे प्रशिक्षण दिएको थियो जसले हरेक शाखाले योजना छनौट गर्दा पोषणलाई प्राथमिकतामा राखेर काम गरेको देखिन्छ। ‘‘हामीले मानिसको स्वास्थ्य पहिलो प्राथमिकता रहेको सबै कर्मचारी र शाखा प्रमुखलाई जानकारी दियौँ’’, स्वास्थ्य शाखा संयोजक रावलले भने, ‘‘जग बलियो भए घर पनि बलियो हुन्छ भनेजस्तै बच्चा स्वस्थ भएमात्र भविष्यमा असल मानिस बन्नसक्छ भनेर सबैलाई सचेत पनि गराएका छौँ।’’
नगरपालिकाले सबै स्वास्थ्य संस्थामा पोषण ‘कर्नर’ बनाएर राखेको छ। हरेक लाभग्राहीलाई पोषणबारे ज्ञान दिन थालेको छ।